After header

कविता: लज्जा !

भूपिन खड्का

तिम्रो मकसद के हो मरेन्द्र नोदी ?
तिम्रो मसला के हो साजनाथ रिँह
हेर, आज म टिल्ल मातेको छु,
भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नांगै निस्कयौ इण्डिया गेटबाट ?

दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप् लप्लप्
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।
तिम्रो छातीभित्र किन पापको खानी भेटिन्छ ?
तिम्रो बेलायती बुटले
अझै किन मेरी आमाको छाती कुल्चिन्छ ?

तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
तिम्रो ओठले भन्छ
कि तिमी हौ हाम्रो सबैभन्दा असली दोस्त
र तिम्रो दाँतले
मुस्किलले बचाएको मेरो शान्तिलाई डस्छ !

तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
दुई नाउमा राखेर दुई खुट्टाहरू
कथित लोकतन्त्रको नदी तर्न खोज्छौ ।
मनभरी छरेर हिँसाको बिउ
अहिँसाको गीत गुन्गुनाउँदै हिड्छौ ।

लगाउँछौ भातृत्वको चर्को नारा
र मानवताको घाँटी निमोठ्दै हिड्छौ ।
भन, तिम्रो इरादा के हो भरते ?
निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नांगै निस्कयौ इण्डिया गेटबाट ?

के तिम्रो भूमिमा पुछेको हैन फिरंगीले फोहोर खुट्टा ?
मेरा पुर्खाहरू लडे तिनीहरू बिरुद्ध ।
हेर अझै को लड्दैछ एलओसीमा ?
एक फोक्सो हावा नपाएर तड्पिदै तड्पिदै
को बस्दै छ सियाचिन ग्लेसियरमा ?
को को लडेका हुन् विश्व युद्धमा तिम्रो देश जोगाउन ?
को को मरेका हुन्, अपरेसन क्याक्टसमा ?

नसोच्नू, यो मेरो गर्वको विषय हो
म मेरा प्रत्येक शासकलाई
मेरा पूर्खाको रगतको व्यापार सन्धिका निम्ती घृणा गर्छु ।
घृणा गर्छु, तिमीलाई पनि
जो यो इतिहास बिर्सिएर
मेरी आमाको पटुकी फुकाल्न खोज्छ ।
यस्तो बेला म कसरी चुप बस्न सक्छु ?
म कसरी घातक सन्धिहरूमा
फेरी अर्को जाली ल्याप्चे ठोक्न सक्छु ?

के तिम्रै राज्यमा उठेका होइनन् खालिस्थानका नाराहरू ?
कस्मिर, तमिल र गोर्खाका तुमुल ध्वनीहरू ?
बिर्सिएर आफ्नो असफलता
र यसरी भड्काउँदै हिन्छौ भने मेरा भाइहरू,
म तिम्रो दादागिरीको खिलाफमा
सबैभन्दा अग्र पंतिमा उभिन चाहन्छु ।

म बिल्कुल सतर्क छु
यति त बुझ्छु अब-
तिमी धर्मको राजनिती गर्छौ र सत्तामा पुग्छौ
आफूलाई ठूलो माछा सम्झन्छौ
र कुरका साना माछाहरू निल्न खोज्छौ ।

तर यसको अर्थ
हामीलाई तिम्रो खोक्रोपन थाहा छैन भन्ने होइन,
कहिल्यै नभुल्नु यति चाहीँ
कि तिमी हाम्रो मालिक होइनौ
र होइनौँ हामी तिम्रा दास ।

ए मेरो हिमालको चिसो पानीले प्यास मेट्ने भरते
ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते
ए मेरो बुद्धको नाम बेचेर रोटी खाने भरते
दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप् लप्लप्
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।

एक पटक पढ्नुहोस