After header

यसै पीडा, मिलापत्र झन् पीडा

जनकपुरधाम : ‘धेरै हिम्मत गरेर प्रहरीसम्म आएको छु, मलाई न्याय दिलाइदिनुस्’, ४५ वर्षीया मीनु ठाकुर भन्दै थिइन् । धनुषाको बोहर्बा गाउँ निवासीमीनु आफ्ना पति कामेश्वरले दिएको पीडा बिसाउन प्रहरीसमक्ष पुगिन् ।

बिहान ६ बजेदेखि नै महिला सेल खुल्ने प्रतीक्षामा जिप्रकाबाहिर बसेकी ठाकुर कार्यालय खुल्नेबित्तिकै भित्र पसिन् । प्रहरी अधिकृतहरूले सोधे, ‘के भयो ? ’ प्रहरीसमक्ष उनले आफ्ना पति कामेश्वर ठाकुरबाट लगातार कुटिँदै आएको बताइन् । पछिल्लो चार दिनदेखि घरमा थुनेर पशुझैं कुटपिट गरेको दुःखेसो पोखिन् ।

मिनुका अनुसार उनका पति १२ वर्षदेखि वैदेशिक रोजगारका लागि खाडी मुलुक बस्दै आएका थिए । उनी तीन-चार वर्षमा एकपल्ट घर आउँछन् र नातेदारहरूका कुरा सुनेर कुटपिट गर्छन् । दुई छोरा र एक छोरीकी आमा भए पनि छोराछोरीले समेत बुवाकै पक्ष लिने गरेको गुनासो गरिन् । उनका जेठा छोरा पनि वैदेशिक रोजगारीमा छन् । छोराको भनाइ उद्धृत गर्दै उनले सुनाइन्, ‘घरको इज्जत बजारमा नफाल, बदनामी हुन्छ । बरु बुवाको हातबाट मर्नु पर्छ भने मर ।’

जब प्रहरीले उनका        श्रीमान् कामेश्वरलाई उपस्थित गरायो, उनले श्रीमती कुटेको स्वीकार्दै कानुनभन्दा माथि धर्म हुने र धर्मका नाताले आफूले श्रीमतीलाई कुटेको जिकिर गरे । अनि केही बेरको झोकाझाकपछि लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितिको सिफारिसमा दुवै पक्षबीच मिलापत्र गराएर श्रीमती ठाकुरलाई श्रीमान्सँगै घर पठाइयो ।

२८ वर्षकी गुडिया चौधरी एउटा डेढ र अर्को तीन वर्षको छोरा काखमा बोकेर महिला सेलमा एक कोठाबाट अर्को कोठा चहार्दै भेटिइन् । जनकपुर रजौल निवासी चौधरी नन्द र देवरबाट निरन्तर कुटपिट र यातना भोग्दै आएकोले आजित भएर प्रहरीसमक्ष न्याय माग्न आइपुगेको बताइन् ।

ससुराली (पतिको घर)मा पति, नन्द र देवरले बिनाकारण स-सानो कुरामा झैझगडा, कुटपिट र गाली बेइज्जती गरेका कारण उनी अघिल्लो वर्ष पनि श्रीमान्विरुद्ध उजुरी दिन जिप्रका आएकी थिइन् । गुडियाले भनिन्, ‘सो बेला कार्यालय बाहिरबाटै श्रीमान्लाई आइन्दा यस्तो घटना नहुने भन्दै फकाएर लगे । तर, कुटपिट र गालीगलौजले बाँच्नै गाह्रो भएपछि प्रहरीकहाँ पुनः निवेदन दिन आइपुगेको छु ।

जनकपुर उपमहानगरपालिका १२ का २५ वर्षे उमेश महतो पछिल्लो एक महिनामा चार महिलाको खुल्लास्थानमा शौच गर्ने बेला लुकिछिपी मोबाइल फोनमा तस्बिर खिचे । एक महिलाले आपत्तिजनक तस्बिर खिचिरहेको थाहा पाएपछि महतोलाई समातेर मोबाइलबाट तस्बिर डिलिट गर्न भनिन् । तर, महतोले उल्टै ती महिलालाई कुटपिट गर्दै दुव्र्यवहार प्रयास गरे । पछि छिमेकीले महतोलाई समातेर प्रहरीमा बुझाए । पीडित चारैजना महिलाले महतोलाई कार्वाहीको माग गर्दै महिला सेलमा उजुरी दिए तर ती महिलाहरूमाथि गाउँका राजनीतिकर्मीबाट दबाब आएपछि उनीहरू गाउँमै मिल्न बाध्य भए ।

पीडित एक महिलाले भनिन्, ‘हाम्रो त्यस्तो फोटो खिच्यो, उल्टै बलात्कार प्रयास गर्‍यो तर गाउँका ठूलाबडाले उजुरी फिर्ता नलिए फसाइदिने र गाउँभरि बदनामी गराइदिने भन्दै डर देखाएका छन् । हामी मिहिनेत-मजदुरीबाट गुजारा गर्नुपर्ने परिवारका हौं, मुद्दामामिलामा फस्न डर लागेर गाउँमै मिल्न बाध्य भएका छौं ।’

यी तीन उदाहरण मात्रै हुन् । कुटपिट वा दुव्र्यवहारपछि न्याय माग्न घरबाट निस्केका महिला प्रहरीसमक्ष पुगेर न्याय पाउँदैनन्, बरु बाध्यता देखाएर उनीहरूलाई पीडकसँगै मिलापत्र गराइन्छ ।

महिलाहरू सबैभन्दा बढी घरपरिवारबाटै पीडित हुनु परेको महिला अधिकारकर्मी मुन्नीदास बताउँछिन् । ‘आर्थिक रूपमा परनिर्भर भएकै हुनाले घरपरिवारबाट छुटेर पीडित महिला कहाँ जाने ? यो ठूलो समस्या हो,’ दास भन्छिन्, ‘महिलाहरू आत्मनिर्भर हुनु एक मात्र विकल्प हो ।’

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समिति धनुषाकी संयोजक सुभद्रा आले परिवार वा समाजमा महिलामाथि हिंसा हुँदा महिलालाई नै दोष दिने प्रवृत्तिका कारण न्याय पाउन गाह्रो हुने बताउँछिन् । ‘महिलाहरू ठूलो आँट गरेर प्रहरीसमक्ष आएका हुन्छन्, अनि राजनीतिक दबाब आदिले गुनासो फिर्ता लिन र गाउँघरमै मिलापत्र गर्न बाध्य हुन्छन्’, आलेले भनिन् ।

महिलाहरूलाई अधिकार सम्पन्न बनाउन प्रदेश सरकारले हालै ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रम ल्याएको छ । तर, वर्षौदेखिको पितृसत्तात्मक सोचले महिलामाथिको हिंसा न्यूनीकरण भएको छैन ।

एक पटक पढ्नुहोस