चार घण्टाको बाटो अब दुई मिनेटमा सरर

मकवानपुर : कैलाश गाउँपालिका–९ नामटारस्थित घैराङका सिताराम रुम्बाको बारीभरी तरकारी कुहिन्थ्यो । पाँच घण्टा बोकेर नामटार बजारसम्म तरकारी लैजाँदा तरकारीको मुल्यभन्दा ज्याला महंगो पर्ने भएपछि खाएर बचेको तरकारी उनले बारी मै छाडिदिन्थे । तर आजभोली घैराङको ठाडो उकालोमा तरकारी बोकेर हिँड्नुपर्दैन ।

तरकारी र अन्य सामग्री गाउँबाट ल्याउन लैजान ग्राभिटी रोपवे निर्माण भएपछि पुस्तौ पुस्तादेखि भोग्दै आएको पीडा उनले भुलेका छन् । ‘चार घण्टा  भारी बोकेर हिँड्नुपर्ने बाटो दुई मिनेटमा छोटिएको छ’, उनले भने, ‘रोपवेले गर्दा गाउँको मुहार नै फेरियो ।’

गत वर्षहरुमा तरकारी बिक्री नभएपछि वर्षभरी खान समेत मुश्किल पर्ने श्यामबहादुर गोलेको पनि ग्राभिटी रोपवेका कारण आर्थिक अवस्थामा सुधार आएको छ । ‘दश रोपनी बारीमा तरकारी खेती गरेको छु,पहिला कुहाएर फाल्नुपथ्र्यो’, बिगत्को दुःख सम्झदै उनले भने,‘ अहिले तरकारी बेचेर वर्षको एक लाख रुपैयाँसम्म कमाई गर्छु ।’

प्रति केजी सात रुपैयाँ ज्याला दिएर नामटार बजार ल्याएको तरकारी पाँच रुपैयाँप्रति केजीमा बेचेर फर्किएको तितो अनुभव अब उनी बिर्सन चाहन्छन् । गुरुत्ववलबाट चल्ने ग्राभिटी रोपवे सञ्चालनमा आएपछि एकसय १५ घर तामाङ परिवारको बासोबास रहेको घैराङले नयाँ जीवन पाएको हो ।

बिहान बेलुकाको छाक टार्न मुश्किल रहेका उनीहरुले रापवे सञ्चालनसँगै बेमौसमी तरकारी खेती गरेर आम्दानी समेत गरिरहेका छन् । ग्राभिटी रोपवे निर्माण भएपछि मालसामान ढुवानी गर्न सहज भएको छ। भूकम्पपछि भत्किएका ३९ घरमध्ये ३५ घर पुर्ननिर्माण भईसकेका छन् ।

‘ती घरहरु बनाउन चाहिने सबै सामग्रीहरु रोपवे मार्फत नै गाउँ पुर्‍याइएको हो’, रापवे उपभोक्ता समितिका अध्यक्ष नारायण सिंह थिङले भने, ‘रापवे नभएको भए ती घरहरु पुनर्निर्माण पनि सम्भव थिएन ।’ साविक नामटार–२ स्थित कपचेरी र नामटार ५ स्थित घैराङडाडाबीच १२ सय १४ मिटर लामो रोपवे २०७१ असोज १ गतेदेखि  सञ्चालनमा ल्याइएको थियो ।

सस्पेन्सन व्रिज डिभिजन कार्यालय काठमाडौं र स्थानीय उपभोक्ताको लगानीमा रापेवे निर्माण गरिएको हो । त्रिभुवन राजपथको चुनियाबाट नामटार बजार ६ किलोमिटर दुरीमा छ । चुनियाबाट नामटारसम्म सवारी साधनहरू आवतजावत गर्छन् ।

स्थानीय उपभोक्ताहरूको चार लाख रुपैयाँसहित २५ लाखको लगानीमा निर्माण गरिएको उक्त रोपवेका दुईवटा भारी बोक्ने क्यारी छन् । ‘घैराङडाँडाबाट नामटार बजारको कपचेरी स्टेसनमा झर्दा एक क्वीन्टल सामान ढुवानी गर्छ भने तलबाट माथि ३० केजी ढुवानी गर्छ’, रोपवेका प्राविधिक तथा ठेकेदार पुर्ण सिंह गोलेले भने, ‘प्रति केजी दुई रुपयाँ भाडा लिने गरेका छौं ।’

बेमौसमी तरकारीको सीजन नरहेकाले अहिले उनलाई घर पुनर्निर्माणका सामानहरु गाउँ पठाउन भ्याइनभ्याइ छ । अघिल्लो वर्ष उपभोक्ता समिति आफैले सञ्चालन गरेको रोपवे चालु आर्थिक वर्षको लागि दुई लाख ७० हजार रुपैयाँमा गोलेले ठेक्कामा लिएका हुन् ।

‘दैनिक एकसय बढि टिप हुन्छ’,उनले भने,‘मान्छे बाहेक अरु सबै सामान ओसारपसार गर्छौं ।’मोटरबाटो नहुँदा तत्कालै अस्पताल पुर्‍याउनुपर्ने तीन जना गर्भवती महिलालाई समेत यही रोपवेबाट नामटार बजार ल्याइएको गोलेले बताए ।

‘मान्छेको गाउँमा नै ज्यान जाने अवस्था बढेपछि जोखिम लिएका हौं,अन्यथा हामी मान्छे बोक्दैनौं’,उनले भने । रापवे सञ्चालनबाट उपभोक्ता समितिले हालसम्म दुई लाख रुपैयाँ बचत गर्न सफल भएका छन् । रोपवे सञ्चालनका लागि दुईजना स्थानीय प्राविधिकहरू रहेका छन् ।

एक पटक पढ्नुहोस