नेपालमा इबोला संक्रमण देखिए नियन्त्रण गर्ने क्षमता छैन

द्वन्द्वग्रस्त मुलुक कंगोमा फैलिएको प्राणघातक इबोला संक्रमित व्यक्ति नेपालमा आइहालेमा रोग नियन्त्रण गर्न समस्या पर्ने देखिएको छ । कंगोमा पछिल्लो समय गैरसरकारी संस्थामा काम गर्ने तथा शान्ति स्थापनाका लागि गएका नेपाली सेनाको संख्या उल्लेख्य छ । जसका कारण इबोलाको उच्च जोखिममा नेपाल पनि रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारी बताउँछन् ।

‘संक्रमित व्यक्ति नै आइहाले वा रोग फैलिहालेमा नियन्त्रण गर्ने क्षमता हामीसँग छैन,’ महाशाखाका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भने । इबोला लागेको शंकास्पद व्यक्ति आएमा आइसोलेसनमा राख्न नेपालका कुनै पनि अस्पतालसँग क्षमता नरहेको उनले बताए ।

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई इबोला रोगको उपचार गर्ने ठाउँ तोकेको छ । तर, सो अस्पतालमा त्यस्ता विरामी पठाउन नमिल्ने सेन्चुरीले बताए । ‘त्यत्रो भिड हुने अस्पतालमा इबोला रोगी पठाए अन्यमा सर्ने जोखिम हुन्छ । त्यसैले पठाउनै मिल्दैन,’ उनले भने । इबोला लागेको शंका लागेको व्यक्तिलाई बस्तीभन्दा टाढा रोगको इन्क्युवेसन पिरडसम्म क्वारेन्टाइनमा राख्नुपर्ने उनले बताए । सन् २०१४ मा लाइबेरिया, गिनिया, माली, नाइजेरियालगायतका मुलुकमा इबोला महामारी हुँदा नेपाली सेनाले ती मुलुकबाट फर्कने सैनिकलाई एयरपोर्टबाटै ककनीमा लगेर छुट्टै क्वारेन्टाइनमा राखेको थियो । त्यहाँ एक महिना राखेपछि मात्र घर जान र परिवार भेट्न दिएको थियो ।

सुरक्षा कवच, पञ्जा र मास्क पर्याप्त छैनन्
महाशाखासँग शंकास्पद व्यक्तिलाई उपचार गर्दा लगाउने व्यक्तिगत सुरक्षा कवच, पञ्जा र मास्कलगायत पनि पर्याप्त नरहेको उनले बताए । विश्व स्वास्थ्य संगठनले केही थान दिएको र तर त्यति मात्रै पर्याप्त नहुने उनको भनाइ छ । इबोला महामारीबाट यो वर्षको मार्च महिनासम्म कंगोमा २७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

सन् २०१४ देखि २०१६ को बीचमा पश्चिम अफ्रिकी मुलुक सियरालिओन, लाइबेरिया, गिनिया, माली, नाइजेरियालगायतका मुलुकमा फैलिएको इबोला भाइरसको संक्रमणबाट ११ हजारभन्दा बढी नागरिकको ज्यान गएको तथा २८ हजारभन्दा बढी संक्रमित भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नाम मात्रको हेल्थ डेस्क
सन् २०१४ मा पश्चिमी अफ्रिकी मुलुकमा इबोला रोगको महामारी फैलिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत भारत र चीनसँगको नाकामा हेल्थ डेस्क स्थापना भएको थियो । तर, ती हेल्थ डेस्क नाम मात्रैका छन् । हेल्थ डेस्कमा काम गर्ने अधिकांश स्वास्थ्यकर्मी सरुवा भइसकेका छन् । हाल कार्यरत जनशक्ति अहेव स्तरका छन् ।

हेल्थ डेस्कसँग न त कुनै चिकित्सक छ, न त नर्स नै । कोही बिरामी परिहाले अस्पतालसम्म लैजान एउटा एम्बुलेन्ससमेत नभएको त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्क इन्चार्ज हरिकुमार उपाध्यायले बताए । ‘कसैलाई इमर्जेन्सी परिहाले एम्बुलेन्सका लागि अस्पतालमा फोन गर्नुपर्छ,’ उनले भने ।

ज्वरो आएको नाइजेरियन आउँदा भागाभाग
सन् २०१४ को भदौमा इबोला प्रभावित मुलुक नाइजेरियाबाट आएका एक युवकमा हेल्थ डेस्कमा रहेको थर्मल इमेजिङ क्यामेराले उच्च तापक्रम देखायो । टेम्प्रेचर गन (इन्फ्रारेड थर्मोमिटर) ले पनि ती युवकमा ज्वरो देखायो । हेल्थ डेस्कमा कार्यरत कर्मचारी डराए । के गर्ने भनेर तत्काल कुनै निर्णय लिन सकेनन् । हेल्थ डेस्कमा ती व्यक्तिलाई राख्ने छुट्टै कोठासमेत थिएन । उनीहरूले ती युवकलाई छुन पनि डराए । पछि क्वारेन्टाइनका लागि शुक्रराज सरुवा रोग अस्पतालसम्म पठाउन प्रहरी बोलाए ।

प्रहरीसँग पनि इबोला लागेको व्यक्तिलाई छुन मिल्ने पञ्जा, मास्कलगायत आधारभूत सुरक्षा कवच (प्रोटेक्टिभ गियर) थिएन । स्वास्थयकर्मी र सुरक्षाकर्मीको गलफत्तीबाट डराएका युवक रुन थाले । स्वास्थ्यकर्मीले पछि अस्पतालमा फोन गरे, तर अस्पतालका कुनै पनि डाक्टरले त्यस्तो केस हेर्न हिम्मत देखाएनन् ।

ती युवक विनाभिसा आएकाले डराएर तापक्रम उच्च देखिएको र केहीबेरपछि तापक्रम आफैँ घट्यो । विनाभिसा आएको भन्दै विमानस्थलले अर्को दिन उनी आएकै विमानमा डिपोर्ट गरेको थियो । युवक त डिपोर्ट भए, तर त्यसले इबोलाजस्तो घातक सरुवा रोग देखिइहाले नियन्त्रण गर्ने सरकारी तयारीलाई राम्ररी उजागर ग-यो ।

एक पटक पढ्नुहोस