सर्वोच्चद्वारा ढुंगेललाई छाड्नुको कारण देखाऊ आदेश

डिल्लीबजार सदरखोर कारागारमा रहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिनुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । सरकारले ढुंगेललाई माफी दिन लागेको निर्णयविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्रिपाठीको रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले सरकारका नाममा २४ घन्टाभित्र अदालतमा उपस्थित हुन सरकारका नाममा आदेश जारी गरेको हो । सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा जन्मकैद तोकेको व्यक्तिलाई गणतन्त्र दिवसको अवसर पारेर छाड्नुको कारणसहित पेस गर्न भनेको छ ।

सरकारको लिखित जवाफसँगै आइतबार दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिने/नदिने विषयमा निर्णय गर्नेछ । सरकारले गणतन्त्र दिवसको अवसर पारेर सरकारले ढुंगेलसहित ८ सय ५० जना कैदीबन्दीलाई माफी दिएर छाड्ने तयारी गरेको छ ।

कैदीबन्दी छाड्नका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयलाई पत्रसमेत पठाइसकेको छ । यसअघि ढुंगेललाई माफी दिन तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयन नगराउन सर्वोच्चले आदेश जारी गरेको थियो । सर्वोच्च अदालतको आदेशले कर्तव्य ज्यान मुद्दामा ढुंगेल १४ कात्तिक ०७४ मा जेल चलान भएका थिए ।

एक पटक पढ्नुहोस