After header

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकद्वारा पाँच स्थानमा सचेतनामूलक कार्यक्रम

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका विभिन्न प्रहरी इकाईहरूले सोमबार समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध विषयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रम अन्तर्गत प्रहरी चौकी कटुन्जे र प्रहरी चौकी खहरेपाँगुले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरी मानव बेचबिखनका जोखिम, यसबाट बच्ने उपाय तथा कानुनी व्यवस्थाबारे जानकारी गराएका थियो ।

यस्तै, इलाका प्रहरी कार्यालय देवीटारले लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रममार्फत महिला तथा बालबालिकामाथि हुने हिंसा, त्यसको रोकथाम तथा कानुनी उपचारका विषयमा सहभागीलाई जानकारी दिएको जनाएको छ ।इलाका प्रहरी कार्यालय भगवतीस्थानले साइबर अपराध सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगी, डिजिटल सुरक्षाका उपाय तथा साइबर अपराधबाट जोगिने उपायबारे सचेतना फैलाएको जनाएको छ ।

त्यसैगरी, प्रहरी चौकी खावाले सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम आयोजना गरी ट्राफिक नियमको पालना, सुरक्षित सवारी सञ्चालन तथा दुर्घटना न्यूनीकरणका उपायबारे चालक, सहचालक तथा स्थानीय नागरिकलाई जानकारी गराएका छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत समाजमा कानुनी सचेतना अभिवृद्धि गर्ने, अपराध न्यूनीकरण गर्ने तथा प्रहरी–समुदाय सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिईरहेको जनाएको छ ।

एक पटक पढ्नुहोस