After header

काभ्रेको नमोबुद्ध नगरपालिका भित्र वन्यजन्तुको आतंकले किसान मारमा ः क्षतिको स्थलगत अवलोकन गर्दै माननीय मधुकुमार चौलागाईले

काभ्रे । काभ्रेपलाञ्चोक प्रतिनिधि सभा १ का माननीय मधुकुमार चौलागाईले आज नमोबुद्ध नगरपालिकाका किसानको खेतबारी अवलोकन गरेका छन् । नमोबुद्ध नगरपालिका भित्र वन्यजन्तुले निरन्तर कृषि बाली नष्ट गरेपछि त्यसबाट प्रभावित क्षेत्रको माननीय मधुकुमार चौलागाईले स्थलगत अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले किसानसँग प्रत्यक्ष भेटघाट गर्दै बालीमा पुगेको क्षति, उनीहरूले भोगिरहेका समस्या तथा समाधानका उपायबारे जानकारी लिएका थिए ।

अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै माननीय चौलागाईले वन्यजन्तुको बढ्दो आतंकका कारण किसानहरू खेती गर्नै निरुत्साहित हुने अवस्था सिर्जना भएको बताए । उनले कृषि उत्पादन बढाउन राज्यले प्रोत्साहन गर्ने तर अर्कोतर्फ किसानको बाली जोगाउन प्रभावकारी व्यवस्था नहुँदा कृषक ठूलो मारमा परेको उनले बताए ।

उनले भने, “किसानले वर्षभरि गरेको मेहनत केही घण्टामै वन्यजन्तुले नष्ट गरिदिने अवस्था अत्यन्त दुःखद छ । किसानको यो समस्या अब सामान्य रूपमा लिन मिल्दैन । सम्बन्धित निकायले तत्काल प्रभावकारी समाधान निकाल्नुपर्छ । आवश्यक परे यस विषयलाई प्रतिनिधि सभामा समेत सशक्त रूपमा उठाउनेछु उनले भने ।

स्थानीयवासीले समेत माननीय चौलागाई समक्ष वन्यजन्तुले धान, मकै, कोदो, तरकारी तथा अन्य खाद्यबालीमा ठूलो क्षति पु¥याएको जानकारी गराएका थिए । उनीहरूले बाली जोगाउन प्रभावकारी कार्यक्रम, क्षतिपूर्तिको व्यवस्था तथा दीर्घकालीन समाधानको माग गर्दै समस्या सम्बन्धित निकायसम्म पु¥याइदिन आग्रह समेत गरेका थिए ।

स्थानीय किसानका अनुसार वर्षेनी बाँदर, बँदेल, दुम्सी तथा अन्य वन्यजन्तुले खेतीबाली नष्ट गर्दै आए पनि समस्या समाधानतर्फ ठोस पहल हुन नसकेको गुनासो माननीय बिच गरेका थिए । यस काराण कृषकहरू खेती छाड्ने अवस्थामा पुग्न थालेको उनीहरूको भनाइ थियो । माननीय चौलागाईले यस समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

उनले वन्यजन्तु नियन्त्रण, किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था, सुरक्षात्मक पूर्वाधार निर्माण र दीर्घकालीन व्यवस्थापनका कार्यक्रम तत्काल अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका थिए ।स्थानीय जनप्रतिनिधिहरूले समेत किसानको समस्या गम्भीर बन्दै गएको भन्दै कृषि तथा वनसँग सम्बन्धित निकायले संयुक्त रूपमा कार्ययोजना बनाएर तत्काल काम सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

वन्यजन्तुको बढ्दो आतंकका कारण नमोबुद्ध नगरपालिकाका विभिन्न वडाका किसान प्रत्यक्ष प्रभावित भइरहेका छन् । समयमै प्रभावकारी कदम नचालिए कृषियोग्य जमिन बाँझो हुने, कृषि उत्पादन घट्ने तथा ग्रामीण अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

एक पटक पढ्नुहोस