काभ्रे । काभ्रे जिल्ला प्रहरी प्रमुख रविन कार्कीले ओभरलोड र पानी चुहाउने सवारीहरुलाई ठाउँको ठाउँ कारवाही गरिने चेतावनी दिएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनुगमन क्रममा उनले टिपर चालकलाई यस्ता कार्य नगर्न आग्रह समेत गरेका थिए ।
प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीले ओभरलोड बोकेका तथा ढुवानीका क्रममा पानी चुहाएर सडकलाई हिलो बनाउने सवारीसाधनमाथि तत्काल कारबाही गरिने चेतावनी दिए । उनले नियम उल्लङ्घन गर्ने कुनै पनि सवारीलाई छुट नदिइने उल्लेख गर्दै, “ओभरलोड र पानी चुहाउने सवारी भेटिए ठाउँको ठाउँ कारबाही हुन्छ,।

सडक सुरक्षासँग सम्झौता नगर्ने र कानुन कार्यान्वयनमा प्रहरीले कडाइ गर्ने उनको भनाइ थियो । उनले क्रसर व्यवसाय एवं खानीवालाहरुलाई ओभरलोड हुने गरी सामान लोड नगर्न समेत आग्रह गरेका थिए ।जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको नेतृत्वमा गरिएको अनुगमनमा क्रसर उद्योगको सञ्चालन अवस्था, वातावरणीय मापदण्ड, ढुंगा–गिट्टी तथा बालुवा ढुवानीको अवस्था लगायतका विषयमा निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले क्रसर व्यवसायी तथा ढुवानी व्यवसायीलाई प्रचलित कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै सवारीसाधनमा क्षमता भन्दा बढी (ओभरलोड) सामग्री नबोक्न निर्देशन दिएका थिए । उनले ओभरलोडका कारण सडकको आयु घट्ने, दुर्घटनाको जोखिम बढ्ने तथा सर्वसाधारणलाई प्रत्यक्ष असर पर्ने भएकाले जिम्मेवार भएर व्यवसाय सञ्चालन गर्न उनले आग्रह गरे ।

प्रमुख गौतमले वातावरण संरक्षण, सडक सुरक्षाको सुनिश्चितता तथा स्थानीय बासिन्दाको हितलाई प्राथमिकतामा राख्दै व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कानुन विपरीतका गतिविधि दोहोरिए सम्बन्धित निकायबाट आवश्यक कारबाही हुने उनले बताए ।
अनुगमन टोलीले व्यवसायीलाई कानुनी मापदण्डअनुसार उद्योग सञ्चालन गर्न, ढुवानीका क्रममा सुरक्षाका सम्पूर्ण उपाय अपनाउन तथा स्थानीय समुदायलाई असर पर्ने गतिविधि नगर्न पनि निर्देशन दिएको थियो । जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको प्रभावकारी नियमन, सुरक्षित ढुवानी व्यवस्था र वातावरणीय मापदण्डको पालनालाई सुनिश्चित गर्न आगामी दिनमा समेत नियमित अनुगमनलाई निरन्तरता दिइने जिल्ला समन्वय समितिले जनाएको छ ।
