कता हराए २५० वर्ष पुराना चार पोखरी ?

काठमाडौं : अढाई सय वर्ष पुरानो लालमोहरमा उल्लेख काठमाडौं उपत्यकामा रहेका चार पोखरी लोप भएका छन्। १८३३ सालको लालमोहरमा उल्लिखित चार पोखरी अहिलेसम्म काठमाडौंको कुनै कुनामा छैनन्। सबै पोखरी अतिक्रमण गरी घरैघर बनाइएको छ।

२०४३ सालमै काठमाडौंका भिल्तुँ पोखरी, सिन्दुवाल पोखरी, कैटाहिटीमुनिको पोखरी र इखा पोखरी नजिकको पोखरी लोप भइसकेका थिए। तत्कालीन राजा वीरेन्द्रको हुकुमबक्सबमोजिम २०४३ असोज १६ गते राजाको प्रमुख सचिवालयले हराएका पोखरी खोजी गर्न गुठी संस्थानलाई निर्देशन दिएको गुठीको अभिलेखमा उल्लेख छ। ‘तीन महिनाभित्र हराएका चार पोखरीको खोजी गर्ने, ती पोखरी कहाँ केकस्तो स्थितिमा सञ्चालन भइरहेका छन्, भएमा प्रस्ट खुलाई तीन महिनाभित्र पेस गर्नू’, राजा वीरेन्द्रको हुकुमबक्समा भनिएको छ।

राजाको निर्देशनपछि खोजी गुठी लगत तथा तहसिल कार्यालयमा रहेको १९४७ सालको लगतमै भिल्तुँ पोखरी बेपत्ता पाइएको र हालसम्म खोजी गर्दा पनि पत्ता नलागेको अभिलेखमा उल्लेख छ।

सिन्दुवाल पोखरी संवत् १९३० सालतिर तत्कालीन मोही डिठ्ठा पदमनाथ उपाध्यायले दुई सय लगाई पुरी खेत बनाएको पाइएको थियो। यो स्थान तत्कालीन पश्चिम कमान्ड जर्नेल (पकज) फत्यशमशेरका क्याम्प (हालको प्रहरी प्रधान कार्यालय नक्साल) मा पर्ने रहेछ।

राजालाई गुठीले लेखेको पत्रअनुसार कैटाहिटीमुनिको पोखरी एक रोपनी क्षेत्रमा फौलिएको थियो। यो अन्डाकार पोखरीमा इँटको डिल लगाइराखेको र त्यो हाल कायमै छ। उक्त पोखरी साविक काठमाडौं-१४ मा कित्ता नं १७ मा छ।

इखापोखरी नजिकै पनि दुई पोखरी थिए। ती पनि अहिले अस्तित्वमा छैनन्।

इखापोखरीदेखि उत्तरपूर्व ठहिटी टोलदेखि उत्तर ज्याठाँहा-ठटोलदेखि पश्चिम, जेपी स्कुलदेखि दक्षिण क्षेत्रपाटीदेखि पूर्वका किल्लाभित्र साविकको साःपोखरी भन्ने पोखरी भएको अभिलेख छ।

तर हाल उक्त स्थानमा पोखरीको नामनिसान नै छैन। हाल घरैघर मात्रै छन्। उक्त पोखरीमा सम्बन्धमा मालपोतको कार्यालयको फिल्डबुकमा व्यक्तिको नाममा जग्गा देखिन्छ।

अभिलेखमा काठमाडौं-१७ कित्ता नं १३८९ को ८ आना २ पैसा २ दाम क्षेत्रफलमा विश्वचन्द्र, उद्योगचन्द्र, महेन्द्रचन्द्र, अष्टचन्द्र, प्रतापचन्द्रलगायतको नाममा जग्गा कायम भएको देखिएको छ।

०३८ साल कात्तिक १ को निवेदन र २०३८ असारको सरजमिन मुचुल्काअनुसार जग्गा कायम गरी पोखरी कटाई जग्गा कायम गरेको पाइएको छ। ‘यस सम्बन्धमा मालपोत कार्यालयसँग सम्पर्क राखी कारवाही गरिँदै छ’ भन्ने गुठीको अभिलेखमा उल्लेख छ।

तत्कालीन        श्री ५ को सरकार गुठी बन्दोवस्त अड्डाबाट गुठी लगत अड्डालाई लेखेको १९६६ पुस २२ रोज ४ को पत्रमा इखापोखरी दक्षिणको पोखरी हाल पत्ता लागेको उल्लेख छ। उक्त पोखरीको लगत खडा गरी सो पोखरी १ आनाको ७५ पैसाका दरले तिरो पाँडे मालीसँग लिने भन्ने लेखिएकोसम्म देखिन्छ। हाल उक्त पोखरी काठमाडौं न्हुयोखा टोलस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको प्रांगणमा परिणत भएको बुझिन्छ।

तत्कालीन श्री ५ महाराधिराजको प्रमुख सचिवालयको निर्देशनपछि ती पोखरीको खोजी भएको कुनै पनि अभिलेखमा देखिँदैन। यी चार पोखरी जस्तै धेरै पोखरी अतिक्रमण भई लोप भएको गुठी संस्थानका सहप्रशासक दीपकबहादर पाण्डे बताउँछन्।

लोप भएका चार पोखरीबाहेक काठमाडौंमा रानीपाखेरी, कमलपोखरी, नागपोखरी, माछापोखरी, सिद्धपोखरीलगायत अहिले कायमै छन्। तर धेरै पोखरी लोप भइसकेका छन्। अहिले टेकुको पचली भैरव नजिक र दशरथ रंगशाला भएको स्थानमा समेत पोखरी थियो। पुरातात्िवक सम्पदाको संरक्षण नहुँदा धेरै पोखरी लोप भएको सहप्रशासक पाण्डेको भनाइ छ। अहिले पुरातत्व विभागले पुनः पोखरीको खोजी थालेको छ। अध्ययन टोली नै बनाएर काठमार्डौमा रहेका पोखरीको खोजी थालिएको हो।

भूकम्पपछि टोली नै बनाएर काठमाडौं उपत्यकाभित्रका पोखरीको खोजी थालिएको विभागका अधिकृत विष्णु पाठक बताउँछन्। ‘टोली नै बनाएर खटाइएको छ, खोजी अध्ययन सकिएपछि मात्रै काठमाडौंमा कति पोखरी छन्। कस्तो अवस्थामा छन् भन्न सकिन्छ’, उनले भने।

एक पटक पढ्नुहोस