प्रसिद्धिको शिखर र विवादको घेरामा नैपल

नोबेल पुरस्कार विजेता प्रसिद्ध साहित्यकार भिएस नैपल शनिबार यस संसारबाट बिदा भएका छन् । उनी त्यस्ता कमै साहित्यकारको सूचीमा पर्छन्, जो प्रसिद्धि र विवादको शिखरमा रहेका छन् । सन् २००१ मा साहित्यतर्फ नोबेल पुरस्कार जितेका नैपल विश्ववादको सिद्धान्तमा आधारित उपनिवेशवादविरोधी पुस्तकहरूका कारण चर्चामा रहे ।

उनी आफूलाई कुनै जाति, भूगोल तथा समुदाय विशेषमार्फत परिचित गराएको रुचाउँदैन थिए । एकपटक एकजना प्रकाशकले वेस्ट इन्डिजका उपन्यासकार भनी सूचीकृत गर्दा नैपलले उक्त प्रकाशकसँग कामै गर्न छोडिदिए । यी र यस्तै अडानका कारण उनी विवादमा पनि तानिएका थिए ।

जन्म, शिक्षा र साहित्यमा प्रवेश
विदियाधर सुरजप्रसाद नैपल (छोटकरीमा भिएस नैपल) को जन्म १७ अगस्ट १९३२ मा क्यारेबियन क्षेत्रस्थित ट्रिनिडाडको चागौनासमा भएको थियो । सन् १८८० को दशकमा नैपलका हजुरबुबा भारतको बनारसबाट मजदुरी गर्न चागौनास बसाइँ सरेका थिए । उनका पिता सीपर्साद स्थानीय द ट्रिनिडाड गार्डियन पत्रिकामा रिपोर्टरको काम गर्थे । परिवारमा नैपलका ६ जना दाजुभाइ–दिदीबहिनी थिए । उनी ६ वर्षको हुँदा परिवार ट्रिनिडाडको राजधानी पोर्ट अफ स्पेनमा बसाइँ स¥यो । जहाँ उनले, अंग्रेजी विद्यालयबाट प्रारम्भिक शिक्षा लिए । उनका पिताले बुकर टी. वासिङ्टनको ‘अप फ्रम स्लेभरी’जस्ता पुस्तक पढेर नैपललाई सुनाउने गर्थे । त्यसैले बाल्यकालबाटै नैपलको चाख साहित्यमा थियो । १७ वर्षको कलिलो उमेरमै अक्सफोर्ड विश्वविद्यालयमा सरकारी छात्रवृत्तिमा पढ्नका लागि ट्रिनिडाडबाट छनोट भएर नैपल लन्डन गए ।

लन्डन जानुअघि ट्रिनिडाडबाट भारतको हिन्दू विश्वविद्यालयमा अध्ययनरत आफ्नी दिदी कमलालाई पठाएको पत्रले उनको त्यतिवेलाको सोच प्रतिविम्बित गर्छ । उनले कमलालाई उन्नाइसौँ शताब्दीका स्यामुयल बटलर र जेन अस्टिनजस्ता लेखकका कृतिबाट प्रभावित नहुन सुझाएका थिए । नैपलले किशोरावस्थाबाटै चलिआएको धारको विपरीत सोच्थे भन्ने प्रमाणका रूपमा यस पत्रलाई लिन सकिन्छ ।

अक्सफोर्ड विश्वविद्यालयमा छँदा सन् १९५० को दशक उनका लागि निकै कष्टकर रह्यो । यतिसम्म कि सन् १९५२ मा उनी मानसिक रूपमा विचलित भइसकेका थिए । यद्यपि, साहित्यतर्फ रुचि भने घटेन । उल्टै, बढ्यो । उनले अक्सफोर्डमा आफूसँगै पढ्ने प्याट्रिका हेलसँग सन् १९५५ विवाह गरे । तर, उनीहरू जीवनभर निःसन्तान रहे । सन् १९५४–५६ मा बिबिसीको क्यारेबियन सेवामा साहित्यसम्बन्धी रेडियो कार्यक्रम सम्पादन गर्ने काम गरे । मधुरता र मिठासले भरिएको उनको आवाज रेडियोको प्रसारण लागि सुहाउँदो थियो । सन् १९५४ बाटै नैपलले उपन्यास लेख्न सुरु गरेका थिए । पोर्ट अफ स्पेनमा रहदाँका बाल्यकालका स्मृतिलाई समेत समेटेर उनले सन् १९५७ मा ‘द मिस्टिक मासर’ नामक उपन्यास प्रकाशनमा ल्याए । उपन्यासमा उनले ट्रिनिडाडमा आफूलाई पढाउने विद्यालय शिक्षक गणेश रामसुमाइरको जीवनसँग जोडिएका संघर्षका कथा समेटेका छन् । यस उपन्यासलाई औधी रुचाइयो ।

अत्यन्तै प्रतिभाशाली नैपलले आफ्नो करिअरका हरेक वर्षमा एउटा/दुईटा पुस्तक प्रकाशित गरेको पाइन्छ । सन् १९६१ मा प्रकाशित चौथो उपन्यास ‘अ हाउस फर मिस्टर विश्वास’ उनको आफ्नै आत्मकथासँग सम्बन्धित छ । ३० वर्षको उमेर नपुग्दै उनले लेखेको उक्त उपन्यासले नैपललाई आफ्नो पुस्ताका प्रसिद्ध लेखकको दर्जामा सूचीकृत गर्यो ।

सधैँ विवादको घेरामा
सन् १९६० को दशकबाट उनले गैह्रआख्यान पनि लेख्न थाले । सन् १९६२ मा ‘द मिडिल प्यासेज’ नामक पुस्तक प्रकाशन गरे । उपनिवेशसँग जोडिएको वेस्ट इन्डिजको परिचय तथा पर्यटनको नाममा क्यारेबियन टापुहरू कसरी नयाँ स्वरूपमा दास बनिरहेका छन् भन्ने चित्रलाई यस आख्यानमा उनले उतारेका छन् । सन् १९९२ को साहित्यतर्फको नोबेल पुरस्कार विजेता क्यारेबियन लेखक डेरेक वाल्कोटले नैपलको चित्रणको आलोचना गरेको पाइन्छ ।

उनको आख्यानमा ‘काला जातिप्रति घृणाको नजरले हेरिएको भनी’ आलोचना मात्रै गरिएको वाल्कोटको आरोप थियो । तर, सन् २००१ मा नैपलले पनि साहित्यतर्फ नोबेल पुरस्कार जितेपछि वाल्कोटले उनको प्रशंसा गरे । उनले प्राप्त गरेको पुरस्कारले क्यारेबियन क्षेत्रका लागि खास महत्व राख्ने भन्दै खुसी व्यक्त गरे । सन् १९६४ मा नैपलले भारतबारेको ‘एन एरिया अफ डार्कनेस’ यात्रावृत्तान्त सार्वजनिक गरे । आफ्नो पुख्र्यौैली थलो भारत भनिए पनि आफू भारतसँग सम्बन्धित नभएको तर्क उनको वृत्तान्तमा पाइन्छ ।

सन् १९७० को दशकमा नैपलले अफ्रिकी देशको भ्रमण सुरु गरे । सन् १९७१ मा उनकोे ‘इन अ फ्री स्टेट’ शीर्षकको संगालो प्रकाशित भयो । सन् १९७९ मा ‘अ बेन्ड इन द रिभर’ शीर्षकको उपन्यास सार्वजनिक गरे । यस उपन्यासको नाम नखुलाइएको पूर्वी अफ्रिकाको एक देशमा रहेका ‘मोबुतु सेसे’ नामक काल्पनिक पात्रको शासन प्रणालीमा आधारित छ । सेसे निकै निरंकुश हुन्छन् । यस उपन्यासमार्फत अफ्रिकालाई उनले गरेको चित्रणलाई लिएर ठूलै आलोचना भएको थियो, विशेषगरी, आफ्नै देश ट्रिनिडाड तथा अन्य अफ्रिकी देशमा । उनको लेखनमा पश्चिमा देशप्रतिको झुकाव देखिएको भन्दै नाइजेरियाका प्रख्यात लेखक चिनुआ अचेबले आलोचना गरेका थिए । यसैगरी, उनीमाथि महिलालाई नकारात्मक तथा कुरूप दृष्टिबाट चित्रित गरेको आरोपसमेत लाग्ने गरेको छ ।

नैपल भ्रमणका पारखी थिए । उनी इरानमा इस्लामिक क्रान्ति भइरहेको समय गैह्र–अरब इस्लामिक देशसम्म पुग्न भ्याए । सन् १९७० को अन्त्यतिर इरान, पाकिस्तान र मलेसियाको भ्रमण गरे । उक्त समय यी मुस्लिम मुलुकमा राजनीतिक उतार–चढाव भइरहेको थियो । अरब मलुकको भ्रमण वृत्तान्तलाई समेटेर उनले सन् १९८१ मा ‘अमोङ विलिभर्स’ प्रकाशित गरेका थिए । उनको यस कृतिमा ‘इस्लामिक समाजमा व्याप्त उग्रवादी सोच तथा इस्लामिक आस्थाबाट कसरी मानिस गुम्सिएर बस्न बाध्य छन्’ भन्ने विषय उठाएका छन् । इस्लामिक समाज निरंकुशताको बाटोमा हिँडेको विचार व्यक्त गरेपछि अरब राष्ट्रमा पनि उनको आलोचना भएको थियो ।

उनले, ‘इस्लामिक समाज जड इस्लाम धर्मको कमजोरीले कुरूप भएको र यसको कुनै राजनीतिक तथा व्यावहारिक समाधान नभएको’ तर्क गरेका थिए । त्यसैले इस्लामिक मुलुक तथा समाजमा उनका पुस्तकलाई लिएर व्यापक आलोचना भयो । प्यालेस्टिनी अधिकारकर्मी इडवार्ड साइद नैपलको आलोचना गर्नेमध्ये अग्रपंक्तिमा पर्थे । ‘पुस्तकमा नैपलले आफ्नो यथास्थितिवादी सोचाइसँग मिल्ने मानिसका विचारलाई मात्र समेटेका छन् । जसले इस्लामभित्र समस्या छ भन्ने बुझ्छन् । इस्लामिक उग्रवाद सुरु हुनुको राजनीतिक धरातललाई नजरअन्दाज गरेका छन्,’ साइदको आरोप थियो ।

समालोचकको नजरमा नैपल
‘एन एरा अफ डार्कनेस’को समालोचना गर्दै भारतीय कवि निसिम एजिकिलले नैपलको लेखन उनको नितान्त व्यक्तिगत सोच र आफ्नै मिश्रित पारिवारिक पृष्ठभूमिमा आधारित रहेको बताए । उनले नैपलको स्वभाव नै अलग, उदास, र आक्रामक रहेको टिप्पणी गरे । नैपलले इरान, पाकिस्तान, इन्डोनेसिया र मलेसियाको भ्रमण गर्ने क्रममा लेखेका पुस्तक पनि यसरी नै आलोचित भए ।

केही समालोचकको बुझाइमा उनी तेस्रो विश्वको प्रतिनिधित्व गर्ने लेखक हुुन्, जसका पाठक पश्चिमा उदारवादी हुन् । ‘ती पश्चिमा उदारवादी, जो तेस्रो विश्वमाथि बनाइएका मिथबारे नराम्रो सुन्न चाहँदैनन् र राष्ट्रिय मुक्ति आन्दोलनलगायत आन्दोलनप्रति उदार हुन्छन्,’ प्रशंसकले भनेका छन् । अफ्रिकासम्बन्धी दुई पुस्तक ‘अफ्रिका ह्याज नो फ्युचर’(१९७९), ‘दी मस्क अफ अफ्रिका’(२०१०)मा पनि उनले यस्तै प्रतिक्रिया पाएका थिए ।

आख्यानमा संक्रमण
नैपलले सन् १९६७ मा प्रकाशित ‘दी मिमिक म्यान’मार्फत मिमिक्रीको अवधारणा ल्याए, जसले निकै ख्याति बटुल्यो । यसैगरी, ‘स्याभेज गुरिल्ला’(१९७५), जसमा क्यारेबियन टापुमा रहिआएको क्रन्तिकारी विचारको वरिपरि घुम्दछ । पूर्वी अफ्रिकामा उत्तर औपनिवेशिक समयको अवस्था देखाउने ‘अ बेन्ट इन दी रिभर’(१९७९)ले पनि उत्तिकै ख्याति बटुल्यो । एक बेलायती लेखक भिएस प्रिचेटले उनलाई जीवितमध्येका एक महान् अंगे्रजी सर्जक भने र अर्का लेखक टेरी इगेल्टनले उनको लेखनलाई महान् कलाको साथसाथै भयानक राजनीतिको संज्ञा दिए । उनको एक प्रसिद्ध भनाइ छ, ‘इतिहास उपलब्धि र रचनाबाट निर्माण हुन्छ, तर वेस्ट इन्डिजमा केही पनि रचना गरिएन ।’

‘एन एरा अफ डार्कनेस’मा उनले भारतीयमा आफ्नो इतिहासबारे कुनै दृष्टिकोण नरहेको बताए । उनका अनुसार भारतीयले आफ्नो मुलुकमा रहेको संकटबारे सही दृष्टिकोण बनाउन सकेका छैनन् । पछिल्लो समय उपन्यासको सीमितताबारे आफू चिन्तित भएको प्रतिक्रिया दिएका थिए । उनको विचारमा उपन्यासको उत्कर्ष र लोकप्रियताको समय १९औँ शताब्दी थियो । पछिल्लो समय गैह्रआख्यानले विश्वका समस्या तथा जटिलतालाई सशक्त रूपमा उठाएको उनको थियो । सन् २००१ मा प्रकाशित भएको उनको ‘हाफ अ लाइझ’ शीर्षकको उपन्यास प्रकाशकसँगको सम्झौता पूरा गर्न मात्र लेखेको स्वीकारोक्ति उनी स्वयंले गरेबाट उनको चिन्ता पुष्टि हुन्छ ।

नेपालसँगको सम्बन्ध
सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार ग्रहण गरेपछि भाषण गर्दै उनले आफ्ना पूर्खा नेपालबाट आएको जानकारी पाएको बताएका थिए । ‘पूर्खाको सन्दर्भमा हामीले भारत या अन्य ठाउँको बारे कहिल्यै खोजी गरेनौँ । जब हाम्रो सोचाइ परिवर्तन भयो अनि यसबारे खोजी गर्न खोज्दा ढिलो भइसकेको थियो । मेरो नाम मन पराउने एकजना नेपालीले दुई वर्षअगाडि (सन् १९९९ मा) बनारसमा रहेका हिन्दू जाति र थरबारे एउटा लिखित दस्ताबेज उपलब्ध गराएका थिए । उक्त दस्ताबेजमा उल्लेख भएअनुरूप बनारसको एउटा सहरमा बस्ने नेपाली समूहको थरमध्ये ‘नैपल’ थर फेला प¥यो । मेरो पुख्र्यौलीबारे मैले जानेको यति नै हो,’ उनले भनेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनलाई भारतीय–नेपाली मूलका क्यारेबियन लेखक भन्ने गरेका छन् । यद्यपि, नैपलले बेलायतको नागरिकता लिएका थिए ।

एजेन्सीको सहयोगमा

एक पटक पढ्नुहोस