इन्काउन्टर : नखुलेको रहस्य

कम्तीमा ६.८ लिटर रगत भएका दुई युवामाथि प्रहरीले इन्काउन्टरका लागि १९ राउन्ड गोली खर्च गरे पनि उनीहरू ढलेको ठाउँमा रगतको कुनै निसान थिएन

काँडाघारीबाट अपहरित ११ वर्षीय निसान खड्काको हत्यामा संलग्न दुई अपहरणकारी प्रहरी ‘इन्काउन्टर’मा मारिएको सम्बन्धमा प्रहरीबाट विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा भनिएको थियो, ‘भक्तपुरको सूर्यविनायक–८ पाइलटबाबा आश्रमतर्फ जाने जंगलमा अपहरणकारी भाग्दै गरेको अवस्थामा भेटिएको र प्रहरीतर्फ गोली प्रहार गर्न खोज्दा भएको दोहोरो भिडन्तमा दुवै मारिन पुगे ।’

खबर सामाजिक सञ्जालदेखि अनलाइन न्युज पोर्टलमा भाइरल बन्न पुग्यो । ‘साहसिक कदम’ भन्दै अनेक कोणबाट प्रहरीको प्रशंसा हुन थाल्यो । तर, घटनास्थल पुग्दा विज्ञप्तिमा भनिएझैँ ‘दोहोरो भिडन्त’ भएको तथ्य कुनै कोणबाट प्राप्त गर्न सकिन्नथ्यो । गहिरिएर नियाल्दा घटनास्थलले अरू नै केही बताइरहेको थियो । जसतर्फ सोच्ने फुर्सद कसैमा छैन ।

सूर्यविनायक–८ गणेशथान मन्दिरभन्दा सात सय मिटर पूर्वतर्फको कालोपत्रे सडक । त्यसको ठीक ५० मिटरमाथिको पिकनिक ‘स्पट’, जहाँ प्रहरीको चहलपहल बाक्लो देखियो । ‘इन्काउन्टर स्पट’ त्यही भएको अब कसैलाई सोध्नुपरेन । दिनभर परेको पानीले ‘इन्काउन्टर स्पट’तर्फ उक्लिने बाटो पूरै हिलाम्मे देखियो । हिलोमा जुत्ता गाडिने र चिप्लिने उत्तिकै डर ।

त्यसैले नजिकै भेटिएका बुट्यान समाउँदै बल्लतल्ल घटनास्थल उक्लन सकियो ।  सिन लेखिएको पहँेलो फिताको चौघेराभित्र निलो जिन्स पाइन्ट र कालो टिसर्टमा एउटा युवा ढलेको देखियो । कालो रङको एउटा चप्पल उनको दायाँ खुट्टामा र अर्को चप्पल नजिकै देखियो । त्यसको ठीक २० मिटर पर निलो जिन्स पाइन्ट र सेतो टिसर्टमा अर्को युवाको शव पल्टिएको देखियो । उनको दुवै खुट्टामा निलो रङका चप्पल मिलाएर लगाएको देखियो ।

जमिनमा गाडिएको उनको अनुहारतर्फ नाल तेर्सिएको अवस्थामा एउटा पेस्तोल अड्केको देखियो । प्रहरीको विज्ञप्तिमा प्रस्ट भनिएको छ, ‘भाग्दै गरेको अवस्थामा दुई शंकास्पद व्यक्तिले प्रहरीतर्फ फायर खोल्न खोजे र प्रतिरक्षामा खोलिएको प्रहरीको फायरबाट उनीहरू मारिन पुगे ।’

तर, शवको प्रकृति र घटनास्थल हेर्दा अपहरणमा संलग्न दुवै युवा भागेको पुष्टि हुँदैन । किनकि दिनभरिको वर्षाले घटनास्थललाई हिलाम्य र चिप्लो बनाएको थियो । तर, मारिएका युवाको खुट्टामा हिलोको निसानसम्म थिएन, न उनीहरूले लगाएको चप्पलमा हिलोको दाग नै देखिन्थ्यो । पेस्तोल ताकेर ज्यान जोगाउँदै भाग्दै गरेका युवाको खुट्टा मात्र होइन, चप्पलमा समेत हिलोको दाग नलाग्नु आफैँमा रहस्य देखियो ।

एक युवाको शरीरमा कम्तीमा पनि ६.८ लिटर रगत हुन्छ । प्रहरीले दुई युवाको इन्काउन्टरका लागि १९ राउन्ड गोली खर्च गरेको देखियो । जसबाट एक अपहरणकारीको त पेट फुटेर आन्द्रा नै बाहिर निस्किएको थियो । तर, उनीहरू ढलेको ठाउँमा रगतको कुनै निसान थिएन । यस्तो कसरी सम्भव छ ? के दिनभर परेको वर्षाले उनीहरूको शरीरबाट बगेको रगत सबै बगायो ? बगाएकै हो भने आसपास किन रगतको निसान देखिएन ? प्रश्न गर्ने ठाउँ यही हो ।

‘इन्काउन्टर’मा सन्देह देखिएपछि अब ११ वर्षीय निसान खड्काको शव भेटिएको ठाउँ जान आवश्यक देखियो । करिब ११ किमिको यात्रापछि भक्तपुर ठिमी–९ नगदेश्वरस्थित निर्माणाधीन घर पुगियो । घटनास्थलमै भेटिइन्, घरधनी सुविना लवट । जिज्ञासापछि उनले निसानको शव गाडिएको खाल्डो देखाइन् । सँगै निसानको हत्यामा संलग्न नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कथर्ली–१ का २३ वर्षीय अजय तामाङबारे पनि बताइन् । उनीहरू सात महिनादेखि उनकै पुरानो घरमा डेरा लिई बसेको खुल्यो ।

अब उनीहरूको डेरा अवलोकन गर्नुपर्ने आवश्यकता देखियो । घरधनी सुविनासँग आग्रह गरियो । उनी राजी भइन् । उनकै पछि लागेर निसानको हत्यामा संलग्न दुई अपहरणकारीको डेरातर्फ लागियो । तर, उनीहरूको डेरामा ताल्चा झुन्डिएको देखियो । नजिकै थिइन्, सुविना । उनैले भनिन्, ‘ताल्चा प्रहरीले लगाएर गएको हो ।’ तर, डेरावाला त प्रहरी इन्काउन्टरमा पाइलटबाबा जंगलमा मारिए ।

ताल्चा लगाउन प्रहरी कतिवेला आइपुग्यो ? जिज्ञासामा सुविनाले रहस्य खोलिन्, ‘सादा पोसाकका प्रहरी बिहान ७ बजे नै यहाँ आएका थिए । उनीहरूले नै केटाहरूलाई पक्राउ गरे । कोठामा थुने । ११ बजेसम्म त्यहीँ राखे । जब निसानको शव भेटियो । अनि दुवैलाई आँखामा पट्टि बाँधेर रातो रङको गाडीमा हालेर लगे । भर्खर सुनेँ उनीहरू त भक्तपुरको पाइलटबाबा जंगलमा इन्काउन्टरमा मारिए रे !’

७ बजे हिरासतमा लिइएका दुई अपहरणकारीलाई ११ बजे प्रहरीले नै गाडीमा हालेर लगेको देख्ने प्रत्यक्षदर्शी नगदेश्वर बौद्ध विहारआसपासमा धेरै भेटिए । तर, प्रहरीको विज्ञप्तिमा भनियो, ‘अपहरणकारीले बोकेको मोबाइलको लोकेसन पाइटलबाबा जंगलतर्फ देखियो । प्रहरी सर्चमा गयो । त्यही क्रममा भाग्दै गरेको अवस्थामा दुई युवा देखिए । समात्न खोज्दा प्रहरीतर्फ पेस्तोल ताके ।

प्रतिरक्षा गर्दा दुवै मारिए ।’ ११ बजे प्रहरीले गाडीमा लगेको अपहरणकारी कसरी ११ किमि टाढा पाइलटबाबा जंगलमा पुगे ? रहस्य खोतल्दै जाँदा अपहरणकारीको डेराभन्दा माथिल्लो तलामा डेरा गरी बस्ने दोलखा माटीका प्रसन्न रिमाल भेटिए । उनले भने, ‘निसानको अपहरण र हत्या गर्नु जघन्य अपराध हो ।

जुन उनीहरूले गर्न हुन्नथ्यो । तर, गरे । कसुरपछि प्रहरीले उनीहरूलाई यहीँबाट पक्राउ गरेर लग्यो । त्यसवेला उनीहरूको खुट्टामा चप्पल थिएन । खाली खुट्टै उनीहरूलाई यहाँबाट लगिएको थियो । तर, उनीहरूको इन्काउन्टर भएको भनिएको ठाउँमा कालो र निलो रङको चप्पल लगाएको देखियो । त्यस्तो कसरी हुन पुग्यो ? बुझ्न सकिएको छैन ।’

खाल्डोमा ११ वर्षीय निसान खड्काको शव भेटिँदा आक्रोशित हुनु स्वाभाविक हो । किनकि, निसानको मुखमा घाँटीसम्म पुग्ने गरी रुमाल कोचिएको थियो । घाँटीमा रुमालकै पासो कसिएको थियो । हात पछाडि फर्काएर खुट्टामा बाँधिएको थियो । शव भने ढाडिइसकेको थियो । जसले अनुसन्धानमा खटिएका प्रहरीलाई उत्तेजित तुल्याउनु स्वाभाविक थियो ।

घटनाको रिपोर्टिङ हुँदै माथि पुग्योे । सँगै पुगे, निसानको शव झिक्ने क्रममा कैद गरिएका तस्बिर पनि । बिभत्स तस्बिरले प्रहरी नेतृत्वलाई उत्तेजित तुल्यायो । जसका कारण प्रहरी नेतृत्व दिमागभन्दा पनि दिलबाट निर्णय लिन विवश बन्यो । जुन सैद्धान्तिक र कानुनी दुवै पक्षबाट गलत थियो ।

नेतृत्व क्षमता प्रमाणित हुने खासमा यस्तै वेला हो, जुन हुन सकेन । परिणामतः अपहरणकारी मारिन पुगे । जसबाट उम्कन घटनालाई ‘इन्काउन्टर’को नाम दिइयो । जुन प्रहरीको अपरिपक्व कदम थियो । त्यसैले विगतका झैँ यसपटकको ‘इन्काउन्टर’को प्लट सरसर्ती बगेन । जसरी मनोज पुन, चरी भनिने दिनेश अधिकारी र कुमार घैँटे ‘इन्काउन्टर’को प्लट बगेको थियो ।

एक पटक पढ्नुहोस