धान्नै नसक्ने गरी संक्रमित बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

नेपालमा कोरोना संक्रमतिको संख्या बढेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ । २ हजारभन्दा बढी कोभिड १९ को एक्टिभ केस भएपछि गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य संकटकाल घोषणा गर्नका लागि मन्त्रीपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको थियो । स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनामा २ हजारभन्दा बढी संक्रमित भेटिए जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ को उपदफा ४ बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि उपचार पहिचान नियन्त्रण गर्न जनशक्ति, अस्पतालमा बेड, क्वारेन्टाइनको क्षमता नपुग्ने भएपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको हो ।

विश्वमै पहिलो कोभिड १९ संक्रमित चीनमा ३१ डिसेम्बर २०१९ मा पत्ता लागेको थियो । चीनको हुवेई प्रान्तको राजधानी ऊहानमा पहिलो पटक देखापरेको बाट सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरस १८ देशमा फैलिसकेपछि पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्नले महामारीको रुपमा ११ मार्च २०२० को दिन घोषणा गरेको थियो ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट स्वदेश फर्किएका एक जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि गत चैत्र ११ देखि गरेको लकडाउनलाई निरन्तरता दिइरहेको छ ।

कस्तो  अवस्थामा संकटकाल घोषणा गरिन्छ ?

कोरोना संक्रमितको संख्या बढ्दै गएर स्वास्थ्यकर्मीको अभाव, अस्पतालमा भेन्टिलेटर, आइसोलेसन, बेड र क्वारेन्टाइनको अपुग भएपछि स्वास्थ्य संकटकालको घोषणा गरिन्छ । तीव्र रुपमा रोग फैलिएर पहिचान उपचार तथा नियन्त्रण गर्न स्वास्थ्य पूर्वाधारको नपुगसँगै   धनजनको क्षति भई जोखिम बढेपछि स्वास्थ्य संकटकालको घोषणा गरिने जनस्वास्थ्यविद् एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीले बताए । नेपालमा २००५ मा इन्टरनेसनल हेल्थ रेगुरेसन विधान लागू भएपछि अन्तर्राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गर्न सुरु गरिएको समेत उनले बताए । यसअघि जनवास्थ्य संकटकाल घोषणा गर्ने परिपार्टी थिएनन् ।

कोभिड १९ महामारीका लागि स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनामा २ हजारभन्दा बढी सक्रिय सक्रमित केस भेटिए जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्ने उल्लेख गरिएको छ । कोरोना संक्रमितको उपचार पहिचान गर्न जनशक्ति, अस्पतालको पुर्वाधार नपुग संक्रमितको संख्या २ हजार नपुग्दै भएको कारण क्वारेन्टाइनमा बस्दा उपचार नपाएर संक्रमितको मृत्यु समेत भएको खबरहरु प्रकाशमा आएको थियो । हाल नेपालमा भइरहेको लकडाउनमा क्वारेन्टाइन, आइसुलेसनमा राख्ने, हवाइ उडान बन्द, बोर्डर बन्द, हिँडडुल गर्न नपाउने आदि जनस्वास्थ्य संकटकालकै क्रियाकलाप भएको डाक्टर मसासिनी बताउँछन् ।

संकटकाल लागु भए के हुन्छ ? 

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८  मा  उल्लेख भए अनुसार आपत्कालीन अवस्थामा तत्कालै स्वास्थ्य सेवा पु¥याउन दू्रत प्रतिकार्य टोली तथा आपतकालीन चिकित्सकीय समूह निर्माण गरिन्छ ।  जनस्वास्थ्य संकटकालमा बारेमा मन्त्रालयले सरोकारवालासँग छलफल गरिरहेको मन्त्रालय जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको स्वास्थ्य संकटकाल घोषणा पारित भएपछि स्वास्थ्य संकटकाल कार्यान्वयन हुन्छ । जनस्वास्थ्य संकटकाल घोषणा भएमा अति गम्भीर अवस्थाका बाहेक अन्य सामान्य अवस्थाका कोरोना संक्रमितहरु घरमै आइसोलेशनमा बस्नुपर्छ । जनस्वास्थ्य सेवा ऐनमा उल्लेख भएअनुसार संघ, प्रदेश र स्थानीय तहले आपतकालीन स्वास्थ्य योजना विकास गरी लागू गर्नुपर्ने व्यवस्था गरेको छ । दफा ४८ को उपदफा ९२० बमोजिम प्रदेश सरकार र स्थानीय तहले योजना विकास गर्दा संघिय कानूनअनुसार निर्धारण गरेका मापदण्ड तथा निर्देशिकामा उल्लेख गरेर अनुसार गर्नुपर्ने हुन्छ ।

जनस्वास्थ्य संकटकाल घोषणा गरेपछि कोरोना संक्रमण रोकथाम तथा उपचारमा लागि संघ, प्रदेश र गाउँपालिकाको काम कर्तव्य के—के भनेर छुट्याइन्छ । यस्तै संघले प्रदेश स्थानीय तहसँग समन्वय गरेर आवश्यकता अनुसार अस्पताल, जनशक्तिको व्यवस्थापन गर्छ । सोही ऐनको दफा ४८ को उपदफा ४ मा उल्लेख भएअनुसार स्थानीय तहले प्रचलित कानून बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने छन् । यदि कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा भएमा प्रदेशले र एकभन्दा बढी प्रदेशमा जनस्वास्थ्य विपद् अवस्था सिर्जना भएमा नेपाल सरकारले अनुसार जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सकिन्छ ।

कोरोना संक्रमित १० हजारभन्दा बढीको खण्डमा डेडिकेटेड घोषित नगरिएका र सबै निजी अस्पतालले पनि अनिवार्य रुपमा कोरोना परीक्षण र उपचार गराउनुपर्ने हुन्छ ।

यी समयमा विश्वमा स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो ।

—स्वाइन फ्लू फैलिएपछि सन् २००९ मा स्वास्थ्य सकंटकाल घोषणा गरिएको थियो । स्वाइन फ्लूका कारण त्यसबेला २ लाख मानिसको मृत्यु भएको थियो ।

—२०१३ मा पोलियो संक्रमण बढ्दा उन्मूलन प्रयासमा धक्का लागेपछि २०१४ मा संकटकाल घोषणा गरिएको थियो ।

—२०१६ मा जिका भाइरसको प्रकोप अमेरिकी महादेशमा तिव्र गतिमा फैलिएपछि संकटकाल घोषणा गरिएको थियो ।

—२०१४ र २०१९ मा पश्चिमा अफ्रीकी देशमा इबोला संक्रमण फैलिएपछि २ पटकसम्म संकटकालको घोषणा गरिएको थियो ।

एक पटक पढ्नुहोस