काभ्रे । काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहमा १ हजार ५सय२७ विद्यार्थी दीक्षित हुने आज अर्थात असार १७ गते पत्रकार सम्मेलन गरी जनाइएको छ । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) यही असार १९ गते बिहान १० बजे विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आयोजना हुने विद्यालयले आज जानकारी गराएको छ । समारोह शिक्षा तथा खेलकुदमन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न हुने भएको छ ।
समारोहमा भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटवर्धन प्रमुख अतिथिका रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृषिकेश वाग्लेले स्वागत मन्तव्य दिने छन् भने रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
यसपटकको दीक्षान्त समारोहमा १ हजार ५२७ जना विद्यार्थी दीक्षित हुनेछन् ।

तीमध्ये स्कुल अफ आट्र्सका १६१, स्कुल अफ एजुकेसनका ११२, स्कुल अफ इन्जिनियरिङका ३५५, स्कुल अफ लका ४२, स्कुल अफ म्यानेजमेन्टका १४६, स्कुल अफ मेडिकल साइन्सेजका ५०४ तथा स्कुल अफ साइन्सका ३०७ जना रहेका छन् ।
दीक्षित हुनेमध्ये विद्यावारिधि (PhD/DM/MCh) तहका २१,MPhil/Master by Research का ९३, स्नातकोत्तर तहका २७९, PGDE तहका २ जना तथा स्नातक तहका १ हजार १३२ जना रहेका छन्।
दीक्षित हुने विद्यार्थीमध्ये ८०० जना (५२.३९ प्रतिशत) पुरुष र ७२७ जना (४७.६१ प्रतिशत) महिला छन् । साथै अष्ट्रेलिया, बङ्गलादेश, चीन, भारत, श्रीलंका, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका १७९ जना विदेशी विद्यार्थी पनि दीक्षित हुनेछन्, जुन कुल दीक्षित विद्यार्थीको ११.७२ प्रतिशत हो । विश्वविद्यालयका अनुसार यो संख्या अघिल्लो दीक्षान्त समारोहको तुलनामा करिब ५० प्रतिशत बढी हो ।
यस वर्ष काठमाडौं विश्वविद्यालयको इतिहासमै पहिलो पटक Bachelor of Technology in Artificial Intelligence कार्यक्रमका २६ जना, Doctor Medicinae in Neonatology अन्तर्गत ३ जना तथाMaster of Science in Medical Biochemistry and Molecular Biology अन्तर्गत ४ जना विद्यार्थीलाई उपाधि प्रदान गरिनेछ ।

यो दोस्रो चरणको दीक्षान्तपछि काठमाडौं विश्वविद्यालयबाट हालसम्म ५१ हजार ५ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएको विश्वविद्यालयले जानकारी दिएको छ । तीमध्ये ६ हजार ३९ जना विदेशी विद्यार्थी रहेका छन्, जुन कुल उत्तीर्णको करिब १२ प्रतिशत हो । दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका दुई विद्यार्थीलाई स्वर्णपदक प्रदान गरिनेछ। उपकुलपति स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी CGPA ३.९९ प्राप्त गरी Bachelor of Engineering in Computer Engineering उत्तीर्ण गरेकी रिश्ता श्रेष्ठलाई प्रदान गरिनेछ ।
त्यसैगरी महेशनाथ पराजुली स्वर्णपदक स्कुल अफ एजुकेसनअन्तर्गत दुईवर्षे स्नातकोत्तर तहमा सबैभन्दा बढी CGPA ३.९७ ३.९७ प्राप्त गरी Master of Education in Leadership and Management उत्तीर्ण गरेकी अन्जु कुमारीलाई प्रदान गरिनेछ। सभामा उपकुलपति प्रा. डा. हृषिकेश वाग्लेले विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजको नयाँ अस्पताल निर्माण परियोजनाबारे पनि जानकारी गराएका थिए । उनका अनुसार एसियाली विकास बैंक (ADB) ले करिब ४ अर्ब रुपैयाँ लगानी गर्न सहमति जनाएको छ ।
उक्त रकममध्ये २ अर्ब रुपैयाँ अनुदान र २ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ । परियोजनाका लागि ADB मार्फत Due Diligence तथा Detailed Project Report (DPR) तयार गर्ने प्रक्रिया पनि अगाडि बढिरहेको विश्वविद्यालयले जनाएको छ ।
