तुमी कोरोना ल्याउन्या डाक्डर

म जुम्लामा जन्मे हुर्केको व्यक्ति। जुम्ली खस भाषामा गाउँलेहरूलाई सम्झाउन अलिक सजिलो हुनाले अग्लो ठाउँमा चढेर भाषण गरें। मैले बोल्न थालेपछि कतिपयले भने बुझेजस्तै गरी टाउको हल्लाए।

सोचें, मेरो कुरा सकरात्मक रूपमा लिए। म बोलिरहँदा करिब ७० वर्षीया एक आमाले बीचमा बोल्नु भो ‘बरू मर्‍या पुनि मरौंला, तुमी कोरोना ल्याउन्या डाक्डार हामी कुन चाहिँदैन’ अर्थात् हामी मर्न परे पनि मर्छौं तर तपाईंहरू कोरोना लिएर आउने डाक्टर हामीलाई चाहिँदैन।

म अझै प्रष्ट्याउँदै थिएँ- हामी कोरोना ल्याउन्या डाक्टर होइनौं, न त हामी भाइरस बोकेर आएका छौं। ज्यानको माया हामीहरूलाई पनि हुन्छ। फेरि म त तपाईंहरूकै जिल्लाको बासिन्दा, तपाईंको भाइ, छोरा हो। तपाईंहरूको उपचारका लागि हामी यहाँ आएका हौं। कोरोनाको मात्र नभएर अन्य रोगहरूको पनि उपचार गर्न आएका हौं।

सम्झाउने क्रममा आजभोलि अस्पतालमा सामान्य बिरामीहरूले उपचार पाउन मुस्किल छ भनेको थिए। मैले बोलेको त्यही कुरालाई समातेर ‘हामी उपचार गर्न नपाउने, के भनेको हाम्रो अधिकार कसले खोस्न सक्छ’ भन्दै एक जना दाइले निहुँ खोज्न थाल्नुभयो। त्यो भीडमा पढे लेखेकाहरू पनि थिए। उनीहरूले पनि बुझ्ने र बुझाउने कोशिश गरेनन् बरू उल्टै हामी गाउँमा पुगेको विरोधमा लागेको देख्दा मन साह्रै खिन्न भयो।

हिजोआज नेपालका सबैजसो अस्पतालहरू कोरोनाको उच्च जोखिममा रहेको हुनाले सकेसम्म अस्पतालको भीड कम गर्न प्रतिष्ठानले त्यहाँ कार्यरत चिकित्सकहरूलाई गाउँ-गाउँमा पठाउने क्रममा हाम्रो टोली पनि त्यहीँ पुगेको हो। कोरोनाको त्रास यति धेरै जरा गाडिसके छ। कुनै बेलामा गाउँमा चिकित्सकहरू आउँदा खुसी हुने गाउँलेहरू आजभोलि डाक्टरहरू ती आम मान्छेहरूको लागि भाइरसजस्तै डर लाग्दा लाग्न थालेछन्।

डाक्टर, स्वास्थ्यकर्मीहरू देख्दा तर्सिने अवस्था आयो। घरबेटीहरूले स्वास्थ्यकर्मीहरूलाई भाडामा बस्न नदिएको, पिसिआर रिपोर्ट मागेको समाचार प्रकाशित भइरहेको बेला म र मेरो टिमले पनि यस्तै समस्या भोग्नु पर्‍यो।

हामी यो घटना हुनुपूर्व कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सिधै पातारासी गाउँपालिकाको अफिसमा आएका थियौ। कार्यालयमा एकाध मान्छेबाहेक कोही पनि थिएन। गाउँपालिका अध्यक्षलाई फोन गरेका थियौं। बाटोमा आउँदै गरेको र केहीबेरमा पुग्ने खबर गर्नुभयो।

केहीबेरमा मलिन अनुहार बनाएर अध्यक्षलगायत केही कर्मचारीहरू आइपुग्नुभयो। हामीलाई कता बसाउने, के गर्ने भन्ने निर्णय हिजो नै गाउँपालिकाले गरेको थियो। तर उहाँ आएपछि थाहा भयो कि डाक्टर गाउँमा आउने खबर पाएका गाउँलेहरूले बिहानै गाउँपालिकामा निवेदन पेश गराएका रहेछन्। बिहानै भएको गाउँलेहरूको भेलाले डाक्टर बसाउने भनेको स्थानमा बस्न नदिने भनेर हस्ताक्षरसहितको निवेदन गाउँपालिकामा पेश गरेछन्।

यो ठाउँमा डाक्टरहरू बसे भने हरेक ठाउँको बिरामीहरू चेकजाँच गराउन यहाँ आउँछन्। यहाँ बिरामीहरूको भीडभाड बढ्छ। डाक्टरहरूले क्वारेन्टाइनमा रहेको बिरामीहरूलाई चेकजाँच गरिसकेपछि बेलुका यसै ठाँउमा बस्न आउँछन् र उनीहरूबाट कोरोनाको भाइरस सर्छ भनेर गाउँलेहरूले निवेदन दिएका रहेछन्।

गाउँपालिका अध्यक्षले डिल्लीचौर स्वास्थ्यचौकी नजिकका स्थानियवासीहरू जसले त्यो निवेदन दिएका थिए, उनीहरूसँग वार्ता गर्ने भए। वार्ता कहाँ गर्ने विषय पनि विवाद देखियो। गाउँपालिकामा गर्नेकी स्वास्थ्य चौकीमा। म त्यो माहौलबाट चकित परिरहेको थिएँ। बेला-बेलामा स्वास्थ्य संयोजकले गाउँलेहरूलाई फोन गरेर बोलाउँछन् तर गाउँलेहरू आउनै मानिरहेका थिएनन्। मसहितको हाम्रो टिम भोक र थकान ५ घण्टादेखि चुपचाप सहेर बसिरहेका थियौं।

वार्ताका लागि गाउँपालिका अध्यक्षसहित हामी स्वास्थ्य चौकीनजिकै गयौं। हाम्रो गाडी र हामी आएको देख्नेबित्तिकै करिब २५-३० जना जति बुढाबुढी, पुरुष, महिला, युवा तथा बच्चाहरू एकैछिनमा भेला भैहाले। हामी पुग्नासाथ अध्यक्ष र गाउँलेहरू बीच चर्काचर्की सुरू भयो।

गाउँलेहरू स्पष्ट थिए- मरे मरिन्छ, डाक्टरहरूलाई हामी यो ठाउँमा बस्न दिन्नौं। स्वास्थ्य चौकी पनि बस्तिहरूको बीचमा छ। त्यही छेउमा एउटा होटल रहेछ। त्यहाँ हाम्रो खाना खान र बस्न व्यवस्था गर्ने भनेका रहेछन्। नजिकको छात्रावासमा कोरोना सङ्क्रमितहरू राख्नको लागि आइसोलेसन बनाउने निर्णयहरू गाउँपालिकामा भएको रहेछ।

विवाद र चर्काचर्कीको साक्षी हामीहरूले पनि अनेक प्रयास गर्यौं तर सफल नभएपछि अन्ततः त्यहाँबाट बहिस्कृत भयौं। मलिन अनुहार र निराश भएर अलिक पर एक होटेलमा गयौं। म सोच्दै थिएँ- कोरोनाको महामारी र त्यसको संक्रमणको त्रास आममान्छेमा साह्रै गहिरो परेछ।

भोलिपल्ट हामी बसेको स्थानभन्दा करिब एक घन्टाको दूरीमा रहेको लोठचौर स्वास्थ्यचौकीतिर उकालो लाग्यौं। अलिक पर विश्वको अग्लो स्थानमा फल्ने जुम्ली मार्सीको धान खेती हुने छुम जिउलो र स्वास्थ्यचौकी छेउमा हाई अल्टिट्युड ट्रेनिङ सेन्टर र क्रिकेट मैदान निर्माण भैइरहेको थियो। त्यो स्वास्थ्यचौकी गाउँबाट अलिक टाढै रहेछ। त्यहाँ बिरामीहरू पनि निक्कै संख्यामा आउने रहेछन् उपचारका लागि।

सामान्य किसिमको ल्याब पनि रहेछ। लोठचौरका वडा अध्यक्ष, स्वास्थ्य चौकीका व्यवस्थापन समिति अध्यक्ष र स्वास्थचौकी इन्चार्जसँग भेट भयो। हामीहरूले उहाँहरूसँग मिटिङ राख्यौँ। हामी त्यहाँ पुग्नुको कारण बतायौँ।

भोलिपल्ट बिहान लोठचौर स्वास्थ्यचौकीको चौरमा गाउँलेहरू भेला भएका देखेँ। के रहेछ भनेर म त्यहाँ बुझ्न जाँदा हामी पुगेको विरोधमा भेला भएका रहेछन्। डिल्लीचौरमा बस्न नदिएर यता आएका यी डाक्टरहरूलाई यता बस्न दिन हुन्न भन्ने आवाज भीड भित्रबाट सुनेँ। एकजना भने रक्सी खाएर मात्तिएका थिए, उनी निहुँ खोज्न थालिहाले। मैले त्यो भीडलाई पनि डिल्लीचौरमा झैं सम्झाए। यहाँका बुढापाकाहरूलाई सम्झाउन सजिलो भयो। हामीहरू लोठचौरमा बस्नका लागि भने गाउँलेहरूका केही सर्तहरू मान्नु पर्ने भयो।

उनीहरूको सर्त थियो- हामी कुनै पनि क्वारेन्टाइन र स्वास्थ्यचौकीमा जान नपाइने। एक महिनासम्म पूर्ण रूपमा यसै स्वास्थ्यचौकीमा मात्र बसेर काम गर्नु पर्ने। यो ठाँउमा संक्रमित बिरामीका लागि आइसोलेसन बनाउन नपाउने। केही दिनमा सबै कुरा सामान्य हुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ।

गाउँमा एकदिन बिहानै एक जना मानिस मातेर महिलाहरू मात्र भएको घरमा पुगेर रक्सी मागेर निहुँ खोजेछन्। उनीहरूले रक्सी छैन भनेका कारण उनले महिलाहरूलाई दुर्व्यवहार गरेछन्। ती महिलाहरूले मिलेर ती मातेका मानिसलाई कुटपिट गरेछन्। उनलाई राति ११ बजे स्वास्थ्यचौकीमा बेहोस अवस्थामा स्टेचरमा गाउँलेहरूले ल्याएका थिए। घाउ र चोटहरू सामान्य थियो। उनी नशाको कारणले बेहोस थिए। उपचारपछि भोलिपल्ट बिहान हामीले उनलाई कर्णाली प्रतिष्ठानमा एक्सरेका निम्ति रिफर गर्‍यौं।

यो घटनापछि विस्तारै गाउँलेसँग हाम्रो घुलमिल बढ्यो। सामान्य स्वास्थ्य सेवाको पहुँचबाट समेत टाढा रहेको त्यो गाउँका गाउँलेहरूलाई गाउँमै चिकित्सक आउनु र उपचार हुनुलाई सकरात्मक लिए। हामी बसेको स्वास्थ्यचौकीमा वरपरका गाउँबाट बिरामीको क्रमश: चाप बढ्न थाल्यो। आकस्मिक कक्षमा पनि बिरामीहरू आउन थाले। पालिकालाई इमर्जेन्सी दबाइहरू थप्न अनुरोध गर्यौँ। गाउँमै उपचार सेवा पाउँदा गाउँलेहरू पनि दंग हुन थाले।

वर्षौंदेखिका रोग लुकाएर बसेकाहरू उपचार पाएर निको हुन थाले। प्रतिष्ठानमा फलोअपमा जानु पर्ने बिरामी यतै आउन थाले। विरोध गर्नेहरूले पनि यस्तो महामारीको बेलामा डाक्टर चाहिने रहेछ भन्दै उपचार गराउन आउन थाले। हामी उपचारका साथसाथै स्वास्थ्यसँग सम्बन्धित शिक्षा पनि दिन थाल्यौं। कोरोना र अन्य रोगहरूको बारेमा पनि जानकारी दिन थाल्यौ। हिँडेरै वरपरका सबै गाउँमा पुग्ने कोशिश गर्‍यौं। गाउँले आमाबुवाहरूको स्नेहले  नाडी समात्यौं। कोरोनासँग जुध्न सिकायौं। नडराउन अनुरोध गर्यौं। सावधानी कसरी अपनाउने? त्यसका उपायहरू बतायौँ। गाउँलेहरूको मन जित्नलाई मीठो बोली, ममतायुक्त सक्दो राम्रो उपचार सेवा र राम्रो परामर्श गर्‍यौं। नियमित उपस्थिति भएर सक्दो सेवा दिन थालेपछि हामीलाई विश्वास गर्न थाले। महिनाको दोस्रो हप्ता हामी गाउँपालिकाका हरेक क्वारेन्टाइनमा गयौँ, त्यता खटाइएका स्वास्थ्यकर्मीहरूलाई कोभिड-१९ सम्बन्धी तालिम दिन थाल्यौं।

हरेक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल हामी स्वयं उपस्थित गरेर बढाउने काम गर्यौँ। विरोधका बावजुद् पनि अलकति पनि विचलित नभई हाम्रो कर्तव्य ठानेर गाउँलेको मन जित्न के थालेका थियौँ फर्कने दिन आयो। एक महिनाको बसाइपछि हामी फर्कन तयार भयौँ। हामीले गाउँमा पाइला टेक्दा विरोध गर्ने गाउँलेहरूका मनहरू हामी फर्किने बेलामा हामीले गरेको उपचारको सम्मान स्वरूप बिदाइ गर्न लामवद्ध थिए। सुरूमा उहाँहरूको विरोधका कारण कुडिएको हाम्रा मनहरू पग्लिएर गहभरी आँशु पार्दै पुनः उहाँहरूको उपचारमा फर्किने वाचासहित बिदा भयौं।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणको महामारीको डर लोठचौरका गाउँलेहरूको मन मस्तिष्कबाट हटेर गए जस्तै सबै नेपालीको मष्तिस्कबाट पनि हटेर जाओस्। लोठचौरबासीले जस्तै सहकार्यको भावना जगाएमा मजस्ता चिकित्सकहरूलाई कोरोना संक्रमणका विरूद्ध उपचारका निम्ति लड्नलाई हौसला मिल्नेछ। (लेखक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका दन्त चिकित्सक हुन्।)

एक पटक पढ्नुहोस