After header

माओवादी अन्तर्राष्ट्रिय विभागको बैठकमा नारायणकाजीले भने- गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन फुटाउन प्रतिगामी तत्वहरु लागिपरेको बताएका छन् । तर, उनले कुनै पनि तागतले गठबन्धन फुटाउन नसक्ने भन्दै सत्ता गठबन्धन चुनावसम्मै जाने जिकिर गरे ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै श्रेष्ठले गठबन्धनलाई मजबुद बनाउन पार्टी पंक्ति लागिपर्ने बताए । उनले अमेरिकी परियोजना एमसीसीलाई कुनै पनि हालतमा यथास्थितिमा पारित गर्न नहुने पक्षमा पार्टी रहेको स्पष्ट पार्दै राष्ट्रको हितमा रहने सहयोग मात्रै स्वीकार गरिनुपर्ने धारणा राखे । ‘यथास्थितिमा एमसीसी पारित हुन सक्दैन’, उनले भने, ‘विकास आफ्नै बलबुतामा गर्नुपर्छ, राष्ट्रको हितमा हुन्छ भने मात्रै सहयोग लिने हो । राष्ट्र हित विपरितका सहयोग लिन सकिँदैन । यदि विवादास्पद बुँदा सच्याइन्छ भने एमसीसी सहयोग लिन सकिन्छ ।’

उनले नेपालको सबैभन्दा क्रान्तिकारी पार्टी माओवादी भएको जिकिर गर्दै पार्टीलाई रुपान्तरण खाँचो भने औँल्याए । उनले राष्ट्रहितमा सबैलाई गोलबन्द गर्नेगरी परराष्ट्र नीति बनाउन अन्तर्राष्ट्रिय विभागले पहल गर्ने पनि बताए ।

विभागका उपप्रमुख राम कार्कीले अन्तर्राष्ट्रिय विभागको पार्टीमा महत्वपूर्ण भूमिका रहने बताउँदै संसारभरी नै वैचारिक संकट रहेको अवस्थामा विभागले त्यो खडेरी पूर्ति गर्नेगरी लागिपर्ने बताए । उनले भावी पुस्तालाई भविष्य देखाउने र कम्युनिस्ट आन्दोलनलाई गति दिने हो भने विचारको विकास जरुरी रहेको बताए ।

माओवादीले कूटनीतिक मामिलाका जानकारहरुलाई समेटेर अन्तर्राष्ट्रिय विभाग गठन गरेको हो । विभागको अर्को बैठक आगामी मंसिर १ गते बस्नेछ ।

एक पटक पढ्नुहोस