काभ्रे । रसुवास्थित भोटेकोशी नदीको विनाशकारी बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शब बनाएर संस्कारपूर्वक अन्त्यष्टी गरिएको छ । बाढीपछि हराइरहेका ३७ जिल्लाका नागरिक अहिलेसम्म परिवार तथा प्रशासनको सम्पर्कमा नआएको जिल्लास्थित प्रशासन कार्यालयको आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
उसका अनुसार बाढीपछि चौरीदेउराली गाउँपालिका–५ का हेमन्त चौलागाँई, प्रतिक गौतम, वडा नं ७ को सम्झना मोक्तान, चौरीदेउराली–२ घर भई हाल कलङ्की बस्ने राजेन्द्र प्रधान, पनौती नगरपालिका–५ का दिनेश श्रेष्ठ, वडा नं ३ का अच्यूतम सापकोटा, वडा नं ९ का अर्जुन खत्री केसी सम्पर्कविहिन अवस्थामा रहेका थिए ।
यस्तै बनेपा–९ का उद्धव सापकोटा, वडा नं १० का बालकृष्ण रञ्जित, प्रल्हाद गिरी परिवारसँग सम्पर्कविहिन रेका थिए । यसैगरि बनेपा–८ का एगेश श्रेष्ठ, आशिष गुभाजु, भोगेन्द्रकुमार खत्री, वडा नं १३ को प्रकृति डङ्गोल सम्पर्कमा आएका छैन । पाँचखाल–११ का मिलन खरेल, राजकुमार गौतम, वडा नं ३ का ज्ञानेन्द्रलाल श्रेष्ठ, भुम्लु–१ का महेश पन्त, मिलन श्रेष्ठ र प्रकाश श्रेष्ठ, वडा नं ५ का राजकुमार रिजाल, वडा नं ८ का सुवास तामाङ सम्पर्कविहिन बनेको केन्द्रले जनाएको छ ।
त्यस्तै बाढीपछि बेथानचोक–४ का राजकुमार लोप्चन, रोजिना लोप्चन र आईते तामाङ, तेमाल–७ का बिशाल तामाङ, वडा नं ८ का गणेश लामा, वडा नं ६ का सुमन तामाङ, सुजित तामाङ, डुप्साङ तामाङ, ज्ञानबहादुर राना मगर र मिलन तामाङ सम्पर्कविहिन रहेका थिए । मण्डनदेउपुर–२ का कुलबहादुर तामाङ, धुलिखेल–२ का सङ्गम चौलागाँई, सुकुमान तामाङ, वडा नं ३ का मनिक भुजेल, वडा नं ८ का महेश तामाङ हालसम्म सम्पर्कविहीन अवस्थामा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्पर्कविहीन नागरिकहरुको हा पनि खोजी कार्यका लागि स्थानीय प्रशासनले आवश्यक समन्वय र पहल गरिरहेको जानकारी दिए । यसैबीच तीन हप्ताभन्दा बढी समयसम्म कतै सम्पर्क तथा कुनै पत्ता नलागेपछि सम्पर्कविहीनमध्ये तीन जनाको परिवारले जीवित भेटिने आश मारेर कुशको शव बनाई परम्पराअनुसार दाहसंस्कार गरेका छन् ।
पाँचखाल–११ का राजकुमार गौतम तथा बनेपा–१० का बालकृष्ण रञ्जित र प्रल्हाद गिरीको कुशको शब बनाई परम्पराअनुसार दाहसंस्कार गरिएको हो । उक्त बाढीमा परी ज्यान गुमाएका पाँचखाल–६ का बस चालक दिलकुमार श्रेष्ठ र रोशी–९ का शङ्खबुद्ध तामाङको शव यसअघि नै फेला परिसकेको काभे्रपलाञ्चोक प्रशासनले जनाएको छ ।
