After header

मलाई जिताउनु होस् नगरको विकास म गर्छु ( अन्तर्वार्ता )

२०३६ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सकृय कुन्साङ लामा पार्टी भित्रका त्यागी, इमान्दार र स्वच्छ छविका नेताको रुपमा परिचित छन् । २ कार्यकाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य र १० औँ, ११ औँ र १२ औँ महाधिवेशनमा महासमिति सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेस दाप्चा काशिखण्ड नगर कार्यसमितिको संयोजकको रुपमा काम गरेका उनी १३ औँ र १४ आंै महाधिवेशनमा पनि नगर सभापतिमा निर्वाचित भएका थिए । जनताका हरेक सुख दुखमा साथ साथै रहेका लामालाई नमोबुद्धमा बालबालिका देखि जेष्ठ नागरिकसम्मले चिन्दछन् । कार्यकर्ता र आम मतदातामाझ लोकप्रिय लामा स्थानीय तहको निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट नगर प्रमुख पदमा साझा उम्मेदवार छन् ।

 

गठबन्धनको साझा उम्मेदवारको रुपमा हुनुहुन्छ, अभियान कसरी सञ्चालन गरिरहनु भएको छ ?
गठबन्धनले नै तय गरेका चुनावी अभियान सञ्चालन गरिरहेका छौं । गठबन्धन समझादारीमा नै अघि बढेको छ । नगरलाई गठबन्धनमय बनाउनको लागि साझा घोषणापत्र, साझा कार्यक्रम लिएर हामी अघि बढिरहेका छौं ।

घोषणापत्र सार्वजनिक भइसकेका छन् । तपाईहरुका प्रमुख एजेण्डा के छन् ?
प्रमुख एजेण्डा नमोबुद्ध नगरपालिकमा रहेका भ्रष्टाचार निर्मुल पार्नु हो । तपाईहरुकै सञ्चार माध्ययबाट हामीले यसबारेमा जानकारी पाएका छौं । म नेतृत्वमा आएपछि जनप्रतिनिधी र कर्मचारी कसैमा पनि भ्रष्टाचारको गन्ध आउन दिन्न । यो सगैँ नमोबुद्ध नगरको भुगोल सुहाउँदो उद्योगहरु स्थापना गर्ने, युवाहरुलाई स्वरोजगार बनाउने, रोजगारी दिने योजना छन् । साथै, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा नै जोड दिएर संकल्प पत्र तयार गरिएको छ । प्राविकि शिक्षालय स्थापना र स्तरोन्नती, एक वडामा एक स्वास्थ्य संस्थासहित अनिवार्य एम्बुलेन्सको व्यवस्था गर्ने हाम्रो योजना छ । नगर भित्र खानेपानी व्यवस्थापनका लागि २ वटा ठूला खानेपानी आयोजना संचालन गर्ने, एक वडा एक कृषि प्राविधिक व्यवस्था गर्ने, दाप्चा र मेथिनकोट कानपुर क्षेत्रमा कम्तीमा १÷१ वटा कोल्ड स्टोर स्थापना गर्ने हाम्रो योजनामा छ ।

निर्माणधिन अवस्थामा रहेको दाप्चा सडक कालोपत्रे कार्यलाई चाडो भन्दा चाँडो चौकीडाँडा वीपी राजमार्ग सम्म जोडिने कार्य पुरा गर्न पहल गर्ने, हाल रहेका भकुण्डे–चौकी डाँडा सडक, भकुण्डे–काँक्रे–खाक्सी सडक, भकुण्डे–तल्लेहटिया–पिपलटार सडक, भकुण्डे–दारेगौडा हँुदैं गहते सडक, भकुण्डे –ऐसेलुचौर हुँदै श्यामपाटी सडक, भकुण्डे–फुलबारी सडक, भकुण्डेबाट चरुवा हँुदै भिडाबारी सडक, भकुण्डेबाट काफ्लेथोक–चुहाने जोड्ने सडक, कानपुर–बोहोरे–कमेरे सडक, पुरानागाउँ –सिम्ले –बसेरी सडक, चिन्डे –विमिरे सडकहरुलाई तत्काल स्तरोन्नती तथा ग्रावेलको व्यवस्था गर्ने साझा संकल्प छ । छिमेकी स्थानीय तह समेत जोड्ने कालोपत्रे सडक निर्माण गर्ने र २ वटा रिङ रोड बनाउने प्रस्ताव गरेका छौं ।

बाहिरी रिङरोडको रुपमा गहते–पिपलटार–खाक्सी–चौकीडाँडा–लासकोट–डाँडागाउँ कोट तिमाल–कानपुर–बाहोरे–पाँचखाल–बेला–फुलबारी–नमोबुद्ध–विमिरे–सिम्ले हुँदै पुन गहते सम्म र भित्री रिङरोडको रुपमा नगरपालिका भित्रका साविक गा.वि.स.हरुका महत्वपूर्ण मठ, मन्दिर, गुम्बा, चर्च आदि प्राकृतिक सुन्दरतालाई समेट्ने गरी पर्यटकीय सडकको रुपमा भित्री रिङरोड निर्माण गर्ने योजना छ । नगर कार्यालयलाई सार्वजनिक यातायात मार्पmत प्रत्येक वडा सम्म पहुँच विस्तार गर्ने साझा संकल्प प्रस्तावमा छ । नगरको सम्पूर्ण क्षेत्रलाई ल्याडलाईन टेलिफोन मार्पmत जोड्ने र नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने, वस्ती विकासको निम्ती एसियाली मापदण्ड अनुसार नगर भित्रका सम्पूर्ण संरचनामा सडक सञ्जाल, खानेपानी, ढल व्यवस्थापन तथा सडकहरुमा सुन्दर वोट–विरुवाहरुको वृक्षरोपण गर्ने र ५ वर्ष भित्रमा नगरलाई स्मार्ट सिटी को रुपमा विकास गर्ने हाम्रो योजना छ । कम्तीमा वटा ५ दुध दिने पशु पालेका किसानलाई गोठ सुधार गर्न कम्तीमा पचास हजार रुपैंया अनुदान प्रदान गर्ने, नगर भित्र संचालनमा रहेका चाड, पर्व, मेला तथा जात्राहरुको संचालन गर्नका निम्ती छुट्टै कोषको व्यवस्था गरी अनुदान दिने प्रतिवद्धता जनाएका छौं ।

तपाई नगर प्रमुखमा निर्वाचित भए तपाईका प्राथमिकताका बिषय के हुन सक्छ ?

काभ्रेका १३ वटा स्थानिय तह मध्ये हरेक हिसावले पहिलो नगरपालिका बनाउने मेरो प्रयास हुने छ । सडक, ढल निकास लगायतका पूर्वाधारहरु, कृषकको लागि सिंचाईको व्यवस्था गर्ने मेरो प्राथमिकतामा छ । कृषकहरुको उत्थान गर्यो भने त्यसमा नै हाम्रो भविष्य छ । धार्मिक पर्यटकीय स्थल नमोबुद्धबाट नामाकरण भएको नगरपालिका भएकोले पर्यटन विकास मेरो प्राथमिकतामा पर्छ । दाप्चा क्षेत्र समेतलाई समेटेर होमस्टेको विकास गर्नेछौं । अघिल्लो पटक मेयरको प्रत्यासी हुँदा पनि मेरो एजेण्डामा ती विषय थिए । ती एजेण्डा समेत समेटेर गठबन्धनको एजेण्डा कार्यान्वयन गर्नेछांै । ग्रामिण भेगको विकासको लागि कृषिलाई नै प्राथमिकता दिन्छौं ।

यहाँ प्रशस्तै सम्भावना छन् । यहाँ भएका श्रोतको समेत समुचित प्रयोग गर्दै अघि बढ्छौं । अघिल्लो पटक म निर्वाचित हुन नसके पनि जुनसुकै अवस्थामा पनि सहयोग गर्छु भनेको थिए तर उहाँहरुले अवधारणा ल्याउन सक्नुभएन । फाहोर व्यवस्थापनको लागि हामीसंग पर्याप्त स्थान छ । वडा वडामा नै फोहोर व्यवस्थापन गर्न सकिन्छ । ५० बर्षसम्म समस्या नहुने गरी फोहोर व्यवस्थापन गर्ने सोच र श्रोत हामीसंग छ ।

गठबन्धनको जित कतिको सुनिश्चित देख्नु भएको छ ?
गठबन्धनको जितबारे त तपाईहरुले थाहा पाउनुभएकै छ । पहिला गठबन्धन नहुँदा पनि नेपाली कांग्रेस जित्ने स्थितीमा थियो । सुन माथि सुवर्ण भनेजस्तो यसपटक गठबन्धन भएको छ । जित्ने कुरामा कुनै सन्देह छैन । अत्याधिक मतका साथ गठबन्धन जित्दैछ ।

अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ ?
सम्पूर्ण आमाबुबा, दाजुभाई, दिदीबहिनीमा म के अनुरोध गर्न चाहन्छु भने, नगरपालिका स्थापना भएकै दिन देखि र त्यो भन्दा अघि पनि म तपाईहरुको सेवामा निरन्तर छु । बच्चा (बालबालिका)देखि बृद्ध आमाबुबासम्मले मलाई चिन्नुहुन्छ । मुख नहेरिकन गठबन्धनका उम्मेदवारलाई जिताउन म अनुरोध गर्छु । हतारमा निर्णय गरेर पछि पछुताउनुपर्ने अवस्था नहोस् । जितेपछि म तपाईहरुको सेवाको लागि घर घरमा आउ“छु ।

एक पटक पढ्नुहोस