After header

निबन्ध : असार अशान्त !

  • पेशल आचार्य

लोकतन्त्रलाई संसारकै समुन्नत प्रणाली भनेर स्वीकारिएको छ । भनिन्छ –लोकतन्त्रको विकल्प –लोकतन्त्र हो । संसारमा लगभग सबैका विकल्प केही न केही हुन्छन् भने लोकतन्त्रको पनि त होला ? कहिले यसरी पनि सोचेँ । अझ के फेला पारेँ भने लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै रहेछ । यसभन्दा पछि फर्केर हेर्न सकिन्नँ ।

यो सोह्रै आना सत्य हो । सत्य कडा हुन्छ । सत्य निर्मम हुन्छ ।

सत्यले कहिल्यै आफ्नो विज्ञापन गर्दैन, गराउँदैन । जे छ त्यसैमा निख्लाम् परेर बस्छ । बरू चाउरिन्छ मरिचझैँ । बरू ऐकान्तिक अवस्थामै मख्ख पर्छ विकट स्थानका झरनाझैँ । गुफाझैँ ।

सत्य चुपचाप कसैलाई केही नभनी, वाचाल कसैप्रति केही गुनासो नगरी, आफैँमा भित्रभित्र गूढगम्भीर बनेर अटल भै बस्न मन पराउँछ । अतः सत्य सक्कली हो । सक्कली वस्तु जौहरीले हिरा चिनेझैँ, गोठालाले सुवानी गाईवस्तु जानेझैँ, खेतीवालले खेत र हरेक फसल ठह¥याएझैँ, माझीले नौका र बहना ठम्याएझैँ र शिष्यले गुरु अनि गुरुले शिष्य पर्गेलेझैँ सतत्ः चिन्छन्, थाहा पाउँछन् ।

दुखको कुरा आधुनिक जमानाले त सत्यलाई मेखाला लगाइदियो । सत्यका मुखमा लगाम भिराइदियो । सत्यका वरिपरि गजवार हालिदियो अनि असत्यका मवेसी हाटमा सत्यका चौपायाहरूविक्री हुनै छाडे । अनुभूतिका सन्ततीहरू यतिखेर अग्र्यानिक वस्ती र टोलबाटै फरार छन् । डिमार्केसनहरू भत्केका छन् । आस्थाले कोरेका ती लक्ष्मण रेखाहरूमा कसैले पनि विश्वास गर्दैनन् अचेल । शरीर सुखका लागि भान्तेहरूले परायाका भार्याहरूसमेत सुमर्न छाडेनन् । नश्वर छ यो छली स्थुल शरीर ।

पैसामा ऐसा रमाएको छ । रम्रिनु नै सौख र सुखको मौलो भएको छ । पढेर भन्दा नपढेर बढी पैसा कमाउँछन् अचेलका विद्यार्थीहरू । मास्टरहरू खेताला लगाएर आफू गान्धी दर्शनका गफ दिइरहेका भेटिन्छन् जताततै । अभियन्ताहरू गलामा खादा पहिरेर विकास र निर्माणमा पर्सेन्टेज खान बानी परिसकेका छन् । मालाले टुप्पी ढाकिसके तर पनि एकथरी मानिस मालाकै पन्थ रोजिरहेछन् । बलात्कारी बाबासँग मञ्चमा बस्न पाउनु पनि मन्त्री आफ्नो सान मान्छन् । व्यवस्था त देखाउने दाँत हो हात्तीको । यहाँ धन कुवेर हुने रहर जोकोही निरक्षर, साक्षर, शिक्षित र सभ्य सबैलाई छ ।

उपदेश विक्रीमा राखिएको पूर्ति भएको छ । जो मागका तुलनामा घटबढ भैरहन्छ । नदीले समयको पर्याय बोकेको थियो तर अचेल नदीमा पानी कम र ढल बढी बग्ने भएकाले समय समेत दुर्घन्धित भएको पाइन्छ । सभ्यता, संस्कृति र गौरवका विषयानुभूतिहरू कि सङ्ग्रहालयमा कैद छन् कि हराएर माटिइसके । असक्षम र निरीहहरू अवसर नपाएर आफ्नो अभिनयमा इमान्दार छन् । मानौं यहाँ हरक्षण जोकोहीहरू अवसर पाएमा बेइमान हुने सामथ्र्य राख्छन् । जसरी असार मसान्त (अशान्त) मा हर एक लेखापाल र लेखा अधिकृतहरू आठ प्रहर दिनरात पनि नभनी चेक, गोश्वारा भौचर र बिल मिलाउन खप्पिस हुन्छन् ।

बिलले मिलाउने यो समाजलाई उसो त तुनावाला फायलले किचेर राखेको धेरै भयो । जङ्गबहादुरका पालादेखि अहिलेसम्म भएका कागजी निर्णय र फायल हेर्ने हो भने अर्को गफको सगरमाथा ठडिन बेर छैन । ग्राउन्ड रियालिटी बुझेर शासन गर्ने शासकहरू यो देशमा मात्र नभएर विश्व ब्रहमाण्डमै खोजी गर्नु पर्ने भएका छन् । परिवारका स्थावर नकटेका शासकहरूको ताल र हाल वर्तमान लङ्का पथझैँ हुन बेर छैन ।

हिजोको लङ्का र आजको लङ्कामा अनेकानेक पृथकादि रहस्यहरू असमेल छन् । हिजो अहम्मा डुबेको थियो आज आफैँमा अस्तित्वको लडाइँ लडिरहेछ । फगत् ‘हार्ड पावर’ खान नमिल्ने तर आँखाका लागि क्षणभङ्गुर नै सही केही तै बिसेक हुने रहेछ । ‘सफ्ट पावर’ ले मानिसका सास र सिकन्जा सबै तोडेर पनि बँचाउने सामथ्र्य राख्दो रहेछ । अहिले सफ्ट पावरमा उत्पादन र ऊर्जालाई लिन्छन् । त्यो धरतीको पहिलो धन रूपि अन्न, फलफूल, कन्दमूल र सागसब्जीबाट प्राप्त हुँदो रहेछ । ती सबै पृथ्वी स्पर्शका नमुनाहरू हुन् । क्रीडा र केलीले कृषिलाई बढोत्तरी नभएर घटोत्तरी गर्दो रहेछ । किसान पानीमा रुझेर माटोसँग युद्ध गर्न हर तरहले क्रियाशील छ ।

पालिस नलगाएको सत्य जिजस बनेर क्रसमा टाँगिन तम्तयार हुन्छ । बरू लैला मजनु बनेर ढङ्गमुडासमेत खान आतुर बन्दछन् । शुकरातको हेमलक, पाइथागोरसका आगोको लप्का, एकलव्यका लागि गुरु भेटीमा चढाइने चोरी औंलो, अर्जुनका लागि दिव्यदृष्टि र फकिर महेशका लागि कालकूट विष बनेर समुद्र मन्थनमा प्राप्ति हुन्छन् ।

सन्तान सुखका लागि नै आधुनिक मानिसले घर आँगनको सरहद् नाघेका हुन् । डाँडाकाँडा हाम्फालेका छन् । गैरी र सिम खेत बेला न कुबेला बेचेका हुन् । भिसा भँजाएका हुन् । पासपोर्ट बनाएका हुन् । कुरौटे संस्कृतिले हामी भित्रको आगोलाई भित्रै निभायो र बाहिरबाहिर लखरखलर गरी कस्तूरीले आफ्नो विना खोजीमा सत्रतिर लन्ठिएझैँ गर्न लगायो । अहिले संसार डुलेर नअघाएको मानिस घर फिरेर पराले पिरामा बसी आमाले पित्तले गाग्रीबाट सारेर दिएको पानी अम्खोराबाट तन्तनी ठाडो घाँटी लगाउँदा अघाउँछ । आँगन नै मानिसका लागि अमलेखको मुहान बन्दिन्छ । दलानमा बसेर कल्पेका हरेक कुराहरूले समस्याका गुत्थीहरू फुकाएका छन् । मानिस आफ्नो मनको विमान चढेर जति शीघ्र संसार विचरण गर्न सक्छ त्यति वायुयान चढेर किमार्थ पनि सक्दैन ।

मनभित्रको संसार अविदित छ । ज्ञानीहरू बाहिरबाहिर कहिल्यै पथका पथालम्बी हुँदैनन् । जो जति गहिरो छ ऊ त्यति नै आफूभित्र कावा खाना थाल्छ  या गोता लगाउन सुरु गर्छ । घर नै संसारको प्रतीक हो । पारिवारिक सदस्यहरू नै महादेशीय प्रतिनिधिहरू हुन् । वाणीभन्दा मुक भाषाले नै संसारको चित्त बुझाएको छ । अट्टालिकाहरूले भन्दा पर्ण कुटीले मानिसका दिल बहलाएका छन् । जुन झुपडीमा झ्याल ढोकाहरू नै छैनन् हो तिनीहरूमा अधिक अतिथिहरू जान्छन् । भनिन्छ बाटो नबनाएका स्थानमा गुरु र नायकहरूको यात्रा आधिकाधिक हुन्छन् । असमेल दुःखका सागर तर्न र अव्यक्त वाणीहरू श्रवण गर्न जोकोही मुमुक्षुलाई अतीव इच्छा हुन्छ ।

संसार साँघुरो बनायो –विज्ञानले । सुविधाले । सहजताले । सरसताले ।

नौ महिना काम नगरी चुप लागेर बस्ने अनि हिसाब र किताब मिलाउनकै लागि जब हामीले यो असार मसान्त (अशान्त) को चलन चलायौं अनि त्यहीँदेखि जीवनमा मुच्का लाग्न थालेको हो । सोच बयेलिन खोजेका हुन् । सार्थक सोचका वीर र वीराङ्गनाहरू पथभ्रष्ट भएका हुन् । इतिहासमा गाडधनको बोलबाला थियो अहिले पेपर मनिले संसार बिटुल्याइदियो । अरू त अरू वित्तका अधिकारीहरू पनि वित्तकै राश देखेर राल चुहाउँदै नबोलिएका बजेटका वक्तव्यहरूमा पराया मान्छेहरूको घुसपैठ गराएर वित्तीय नीतिका भर्जिनिटीहरू तोड्न उद्यत्त भएका हूनन् ।

अहिलेका मूल्य मान्यताहरू भनेकै मूल्य मान्यताहरूकै आम ध्वस्तीकरण हो । उहिले केही बन्दुके विचारका हिमायतीहरू रूपमा सेबोटेज र फ्यूजन भन्दथे तर सारमा शनैःशनैः ती आफैँ दमडीका दहमा फँस्दै र रम्दै गए । अनि असारहरू ज्याद्रो लागेका हुन् । चिन्तकहरू भन्छन् – ‘लोकतन्त्रमा सरकार डराउँछ तर तानाशाहीमा जनता ।’ अहिले दोछायाँ र दोपहर भएको छ । आधाउधी सरकार र आधाउधी जनता डराइरहेका छन् । जो धेरै जान्दछ उही धेरै गल्ती गरिरहेको छ । न्यायमूर्तिका अन्यायहरू नै यतिबेला प्रकटीकरण भैरहेका छन् । नबोलेर मात्र हो नत्र अदालत चिच्याएर रूने थियो ।

यी सब असार (सार नभएका) संसारका रूप हुन् । रूप दृश्यातीत भने सार अदृश्यातीय । जो अन्तर्मनका चक्षुले मात्र पर्गेल्न सकिन्छ । अटेरी अभियानका अभियन्ता गनेस पौडेल हाकाहाकी भन्दैथिए –‘जीवनका उपलब्धिहरू सबै ‘ग्लानि र गम’ का किस्साहरू हुन् । ‘अहम र आनन्द’ अस्थायी, अर्थहीन, निस्सार अनुभूति हुन् । आजको खुसी भोलिको दुःख हो । आजको अहम् भोलिको ग्लानि । तर जीवनकै अर्थहीनता र निस्सारताको अगाडि हाम्रा अनुभूतिहरूको अर्थहीनता र निस्सारताको कुनै अर्थ छैन ।’

साभार ज्ञान नै असारको ‘सार’ हो । सार अशान्त छ । त्यसैले अहिलेका उत्तरआधुनिक मानिसहरू ‘असार अशान्त’ मनाउन मै व्यस्त छन् । जो व्यस्त हुन्छन् – तिनीहरू मस्त पनि हुन्छन् ।

  • लेखक पेशल आचार्य मुलत निबन्धमा कलम चलाउँछन् । उनले कविता, बालसाहित्यमा पनि आफ्नो दक्षता प्रस्तुत गरेका छन् । आचार्यको पछिल्लो प्रकाशित कृति ब्याक बेन्चर रहेको छ । 
एक पटक पढ्नुहोस