After header

साहित्यकार सूर्य लाकोजूसँग अन्तरसंवाद ः साहित्य, संस्कृति र जीवनबारे परिचर्चा

काभ्रे । साहित्यिक अन्तरसंवादमार्फत साहित्यलाई जीवन्त बनाउन र साहित्यलाई जनजीवनसँग जोड्न बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ । दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त कार्यक्रममा साहित्य साहित्य सिर्जना, जीवन र जगत, इतिहास, संस्कार र नेपाली संस्कृतिका बारेमा गहिरो बहसका भएको थियो ।

प्रारम्भमा विराट मानन्धरले कवि लाकोजूको जीवनी र साहित्यिक योगदानमाथि विस्तृत प्रकाश पारेपछि संस्कृति र प्रकृतिको सुगमस्थलमा जन्मिएका लाकोजूसँग कविता वाचनबाट प्रारम्भ भएको अन्तर संवादमा लाकोजूका कविता, मुक्तक, कथा, हाइकु, नियात्रा, अनुसन्धानमूलक निबन्ध, संस्मरण, अनुवाद तथा बालसाहित्यसम्म फैलिएको उनको सिर्जनात्मक कर्मको विस्तारमा चर्चा भयो ।

बहुभाषिक र बहुविधात्मक स्रष्टाका रूपमा परिचित उनले नेपालीसँगै हिन्दी, अङ्ग्रेजी र नेपाल भाषामा समेत कलम चलाएर आफ्नो पृथक् पहिचान बनाएको सन्दर्भका विभिन्न प्रश्नहरूको जवाफ दिने क्रममा कवि लाकोजूले आफ्नो लेखनको मूल प्रेरणा तत्कालीन परिवेश, सामाजिक घटनाक्रम र समाजप्रतिको दायित्वबोध भएको बताए । “साहित्य परिवर्तनको प्रतीक हो, ” उनले भने, “यसले सिङ्गो समाजलाई सकारात्मक ऊर्जा दिन सक्छ ।

” ‘घाम’ जस्ता प्रतीकको बारम्बार प्रयोग, समकालीन नेपाली साहित्यमा उनको स्थान तथा अनुसन्धानमूलक कृतिको विश्वसनीयताबारे उठेका जिज्ञासामा उनले स्पष्ट पारे, “‘घाम’ मेरो लेखनमा आशा, ऊर्जा र जीवनदर्शनको प्रतिनिधि हो, जसले निराशाबीच उज्यालोको सम्भावना देखाउँछ ।

” पनौतीको सांस्कृतिक र प्राकृतिक परिवेशमा जन्मिएर हुर्किएका लाकोजूले बाल्यकालदेखि नै जात्रा–पर्व, मठमन्दिर र स्थानीय संस्कारबाट प्रेरणा लिएको प्रसङ्ग उनले प्रस्तुत गरे । अक्षरकर्मप्रतिको लगाव र साहित्यले दिने आत्मिक आनन्दकै कारण आफू लेखन क्षेत्रमा सक्रिय बनेको लाकोजूको भनाइ उनले अन्तरसंवादमा पोखे । आफू ऐतिहासिक एवं सांस्कृतिक नगरमा जन्मिएकै कारण संस्कृतिप्रति मनमा श्रद्धाभाव जागेको र लेख्न थालेको विचार व्यक्त गरे ।

अन्तरसंवादमा उनका विभिन्न विधाका कृतिहरूमाथि विशेष चर्चा गरिएको थियो। उनका कविता सङ्ग्रहहरू स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खाल रहेका छन् । मुक्तक सङ्ग्रहहरू भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू, स्वर्णिम धुन र अक्षरका स्वरूप प्रकाशित छन् भने कथा सङ्ग्रहमा सत्याग्रह उल्लेखनीय छ ।
हाइकु सङ्ग्रहमा गुराँस फुल्ने मन र अक्षरका स्वरहरू रहेका छन्।

अनुसन्धानमूलक तथा सांस्कृतिक निबन्धहरूमा पनौती, पनौतीको बाह्रवर्षे मकरमेला र पनौतीका केही जात्रापर्वहरू प्रकाशित छन् । जीवनीपरक÷प्रेरक कृतिहरूमा प्रेरणाको चौतारी र केही काभ्रेली अक्षरकर्मीहरू–१ समावेश छन्। बालसाहित्यतर्फ कोपिला, यमरी, घाम उदायो, फूलैफूल, साथी, मेरो सानो घर र मकरको कथा प्रकाशित छन् । नियात्रा कृति आसामको स्पर्श, गीत सङ्ग्रह सुसेली, संस्मरण स्मृतिको आँखिझ्यालबाट तथा सिर्जना–प्रशिक्षणसम्बन्धी सिर्जना लेखनकला समेत उनका महत्वपूर्ण कृतिहरू हुन् ।

कार्यक्रम सञ्चालक हरिसुन्दर छुकांले कवि लाकोजूको लेखन यात्रा, चुनौती, अवसर र भविष्यका योजनाबारे दर्जनभन्दा बढी जिज्ञासा राखेका थिए । जवाफमा लाकोजूले आफूलाई “अक्षरकर्मी”को रूपमा परिचित गराउँदै आफ्नो लेखनले देश र समाजलाई सकारात्मक योगदान दिनुपर्छ भन्ने धारणा व्यक्त गरे । अन्तरसंवादका बीचबीचमा कविता वाचन गर्दै उनले देश, काल र परिस्थितिको चित्रणसमेत प्रस्तुत गरे ।

उनले लेखकमा लोभ, लालच र डरभन्दा माथि उठेर सत्यको पक्षमा उभिने साहस हुनुपर्ने उल्लेख गर्दै साहित्यमा देखिएका विकृतिप्रति कटाक्ष पनि गरे।अन्तरसंवादमा काठमाडौंका राजेश केसी, भक्तपुरकी सृजना प्रजापति, भक्तपुरका पुरूषोत्तमलोचन श्रेष्ठ, काभ्रेका श्रीराम कर्माचार्य र खोटाङका श्रीराम राईलगायतले कवि लाकोजूका काव्य प्रवृत्तिगत विशेषता, प्रकृतिप्रेम, आध्यात्मिक संवेदना, सङ्घर्ष र योजनाबारे जिज्ञासा राखेका थिए।

सहभागीहरूले यस्ता कार्यक्रमले साहित्यलाई पाठ्य विषयमात्र नभई जीवित अनुभवका रूपमा बुझ्ने अवसर प्रदान गरेको बताए । कार्यक्रमको अन्त्यमा बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले कवि लाकोजूलाई मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि स्थानीय तथा राष्ट्रिय स्रष्टासँग नियमित अन्तरसंवाद कार्यक्रम आयोजना गर्दै जाने र भाषा, साहित्य, संस्कृतिका बारेमा प्रकाश पार्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

एक पटक पढ्नुहोस