After header

दृष्टि दोष : सृष्टि खोट

रामगोपाल आशुतोष

आजसम्म
एउटा प्रश्नको पनि सही उत्तर नदिकाले
जिन्दगीभर मसित प्रश्न गरिरहन्छन् ।

उत्तर नभएर हो या प्रश्नले भयभित भएर
मेरा हर प्रश्नमाथि प्रतिप्रश्न थपिन्छ
कि त रिसले आँखा तरेर जान्छन् ।

कहिले नैतिकताको
कहिले सामाजिक उत्तरदायित्वको
कहिले इमानको
कहिले आर्थिक हैसियतको प्रश्नले हिर्काइरहन्छन् ।

जो आए – मलाई रोक्ने आए
मलाई बोक्ने,
मलाई सङ्गै हिँडाउने
कुनै बुबाको वीर्यमा आउने हिम्मत गरेनन्

जो आए – मलाई हटाउने आए
मलाई देखाउने,
मलाई यो भूगोलमा सजाउने
कुनै आमाको कोखबाट कोही जन्मेनन् ।

सम्झिने र बिर्सिने
भइरहने प्रक्रिया रहेछ जिन्दगी ।

दुखेसो यति छ
मलाई जन्माउनेले पनि – पहिलो प्राथमिकतामा राखेनन्
मलाई चाहनेको पनि – पहिलो रोजाइ बन्न पाइन
मलाई प्रेम गर्छु भन्नेको पनि -पहिलो प्रेम बन्न सकिएन ।

आफ्नै घरमा अपमानित भइरहनेको
देशमा सम्मान हुने धेरै सम्भावना हुन्छ ।

एक्लो एक्लव्यहरूले- विश्वमा कीर्ति फैलाएका छन्
तर, खुशी सुन्ने पहिलो कान,
खुशी हुने पहिलो ओठ
अभाव भइरहने रहेछ
गर्वले उच्च आफ्नै धरतीको आशिर्वाद
खुशीले मुस्काउने आफ्नै धरतीका आदिवासी ओठ ।

दुनियाँलाई खुशी बनाउने अभियानमा हिँडेकाले
म छु – नडरा,
अघि बढ भन्ने हौसला दिने देश नपाउने रहेछ !

जिन्दगीमा एकजना सही हुनुपर्ने रहेछ एक कमरेड
जसले भनोस् –
दुनियाँ यहाँको त्यहाँ होस् – म तेरो साथ छु ।

म मान्छेको खोजीमा छु –
के कुनै आमाको कोखबाट जन्मला त्यस्तो मान्छे ?

कवि राम गोपाल आशुतोषको पछिल्लो कविता कृति ईश्वर र फूलहरु प्रकाशित छ । 

एक पटक पढ्नुहोस