काठमाडौ । पहिचान पुरस्कार कोषले वर्ष २०७९ को ‘पहिचान पुरस्कार’का लागि उत्कृष्ट आठ कृतिको सूची सार्वजनिक गरेको छ। पहिचान पुरस्कार कोषका संस्थापक नरेश काङमाङ राईद्वारा जारी विज्ञप्तिअनुसार यही असोज १८ गते बसेको कोषको बैठकले दर्ता भएकामध्येबाट उत्कृष्ट आठ पुस्तकको सूची सार्वजनिक गरेको हो।
उत्कृष्ट पुस्तकहरूमा प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’, जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ तथा कवितासंग्रहतर्फ करुणा राईको ‘रसिया राग’, मञ्जुल मितेरीको ‘कामी’ र पराजित पोमुको ‘मद्वारा मेरो निर्माण’ रहेको छ ।
गैरआख्यानतर्फ प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ (नयाँ सडकको कथा) तथा श्रीभक्त खनाल र खेमराज रानाभाटको संयुक्त पुस्तक ‘तीन फरक विषय’ (फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जङ्गबहादुर) तथा डा. नवराज केसीको ‘शून्यको मूल्य’ (सास, साहस र स्नेहको कथा) रहेका छन्।
यसअघि नौवटा कृतिले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका छन्।
पहिचान पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ रहेको कोषले जनाएको छ।