- दीपक सापकोटा
खोकना । तोरीको तेलको चर्को गन्ध तैरिरहने प्राचीन वस्ती । कुनै राजाको पालामा बनेको आदिम सहर । तेल, फोहर (कटुताका लागि क्षमा चाहन्छु) र मल्लकाल सम्झाउने पुराना घरहरू, यो सहरलाई चिनाउने केही चिज हुन् यी । सधैँ–सधैँ ढुसी गन्हाउने चिसा र ओसिला गल्लीभित्रबाट गालाका अनगिन्ती चाउरी पन्छाउँदै हाँस्ने बूढाबूढी देख्दा लाग्छ– यिनीहरू पनि खोकनाजत्तिकै आदिम छन्, जो सबै नेवारी बोल्छन् । धेरै बूढाबूढीलाई नेपाली भाषा बोल्नै आउँदैन, बोल्न जान्नेहरू पनि धेरै टट र मट गर्छन् । आफ्नो जवानी खोकनाकै माटोमा सिँचित गरेका थुप्रै बूढाबूढीले त आजसम्म काठमान्डूको अनुहारै देखेका छैनन् । छोरा–नाति आकाश छेडेर बादलमुनि हराउने आधुनिकतम हवाई मेसिनमा सयर हुँदै विदेशी भूमिमा पुगिसके, यहाँका बूढाबूढीले भने गाउँको चौघेरो काटेका छैनन् । खोकना रुघेँरै बिताए समस्त जीवन ।
जावलाखेलबाट आठ किलोमिटर दक्षिणमा पर्छ, यो ऐतिहासिक बस्ती । आफूमाथि काठमाडौँ र यसको तथाकथित आधुनिकता हाबी हुन दिएको छैन यसले । तैपनि, आफ्ना प्राचीनतम प्रसिद्धिका केही अवयवलाई खुइल्याउँदै लगेको छ (समयको बलवान् गतिले केही त खुइल्याउने नै भयो ) । अझै पनि खोकना तेलसँग जोडिनुमा गर्व त गर्छ तर यहाँका झन्डै एक हजार घर उम्रिएका पूर्वउर्वर पाटामा तोरी उत्पादन ठप्पै भएको यथार्थलाई हेक्का राख्दैन । सायद अब काठमाडौँको शैलीसँग लोभिइसक्यो यो बस्ती पनि । यस गाविसको एकदेखि आठ वडासम्मको ठाउँलाई ठूलो खोकना भनिन्छ, नौ नम्बर वडालाई सानो खोकना भनिन्छ ।
हिजो बारीमा पहेँलपुर तोरी फलाउने कर्मठ हातहरू आज इँटका प्राचीन घर, टुँडाल, मन्दिर, धमिला पोखरीका छेउछाउ, गुम्बा र पाटी–पौवामा तास फिटिरहेका छन् र चुरोटको धुवाँ बुङबुङ उडाइरहेका छन् । हिजोका कर्मठले ‘आजका कर्मठ’ लाई पसिनाको विरासत सुम्पेनन् वा के भयो ? अथवा, ‘आजका कर्मठ’ ले बारीमा फुल्ने तोरीभन्दा कम्प्युटरको स्क्रिनमा फुल्ने तोरीमा आफ्नो भविष्य खोज्न थाले कि !
नाङ्गा बच्चाहरू बाख्रा र हाँसका बथानसँग खेल्छन् । यसले कतै टाढा पुगिसकेको, बिर्सिइसकेको कुनै शताब्दीका मान्छेहरूको सम्झना गराउँछ । बार्दलीमा झुन्डिएका राता खुर्सानीका झुप्पा (जो हावाको झोक्कासँग बडो सुन्दर ढंगले नाच्छन् र हेर्ने मनलाई पनि नचाउँछन्), कानमा फूल सिउरिएर खर्पन बोकेको कुनै ज्यापू अनुहार, तेलको उष्ण गन्ध, लाग्छ– खोकना जीवित सङ्ग्रहालय हो । हाम्रो ‘काठमान्डू’ मा बिनाउद्देश्य यत्रतत्र हल्लिरहने कुनै ‘खैरे’ लाई खोकनाको यो प्राचीन लय ठूलो विश्वविद्यालय बन्न सक्छ, जहाँ उसले पढ्न पाउनेछ – हराइसकेको नेपालीपन र नेपालीका निर्दोष आँखा । अनि, छाम्नेछ– आफ्नै राजधानी पनि नदेखेको कुनै ‘आदिमानव’ (जो चुनावको बेलामात्रै काम आउँछ) को सग्लो मन । यहाँ कसैको अनुहारमा पीडा र आक्रोशको राष्ट्रिय झलक देखिँदैन (बरु घरेलु ‘टाइप’का पीडा देखिएलान्) । अग्लो कद भएको कुनै नेता खोकना छेउछाउ देखिँदैन (बरु गाविसस्तरको नेता तत्कालै भेटिन्छ) । निजत्वहरू– अनुभूति, विचार, संवेदना, विवेक सबैलाई निजी सम्पदा बनाएर सुरक्षित राखेका छन् खोकनेहरूले । किनभने, उनीहरू काठमान्डूसँग केही पनि माग्दैनन् । न त काठमान्डु नै खोकनालाई केही दिन हात फैलाउँछ । काठमान्डुको हात सितिमिति माथि पर्दैन । यो सहरका प्राचीन, अँध्यारा र ओसिला गल्ली तम्तमाइलो उदासीनतामा डुबिरहेजस्ता लाग्छन्, मनभरि भयानक सन्नाटा बोकेर बाँचेकी कोही नभएकी वृद्धाजस्तो । तर, हरिया फाँटहरू देख्दा भर्खरै सिँगारपटार सकेर जग्गेमा बस्न तयार सुन्दरी बेहुलीजस्तै लाग्छ खोकना । बस, घुम्टोको रङ रातोको सट्टा हरियो छ । जे होस्, खोकनासँग ‘केही’ छ– अद्भुत र सम्मोहनपूर्ण ।
सहरको अर्थ हुन्छ– रोजगारी, अस्पताल, विश्वविद्यालय, सुविस्ता, सुविधा आदि आदि । तर, खोकना कुनै ग्रामीण संरचनामा बाँचिरहेको ‘सहर’ जस्तो लाग्छ, जहाँ कुनै पनि सहरमा हुनुपर्ने लक्षणका सिद्धान्तले काम गर्दैन, जसले वर्गीय र आर्थिक कारणले हुने विभेद पनि खेप्नुपर्दैन । सहरीकरणको मान्यता खोकनाले पूरै स्विकारेको छैन । ‘स्विकारौँ वा अझै सोचौँ’को मानसिकतामा घोत्लिइरहेको छ ऊ । सहरबाहिर इन्टरनेट सबैको ‘बेस्ट फ्रेन्ड’ बनिसकेको खबर खोकनाका केही टाठाबाठा गधापच्चिसेले मात्रै पाएका छन् ।
राजनीतिक र सामाजिक परिर्वतनका उथलपुथल खोकनाले पनि देख्यो– सशस्त्र द्वन्द्वदेखि अप्रिल आन्दोलनसम्म, दासढुंगा, दरबार हत्याकाण्ड हुँदै दुई शाही ‘कू’ सम्म । अनि, त्यसपछि देशमा छिरेको गणतन्त्र । लैंगिक समानता, संघीयता, समावेशीकरण…, अर्कै ग्रहका शब्दकोषबाट पदार्पण गरेजस्ता शब्दहरू पनि सुन्यो । ‘पल्लो गाउँ’ काठमान्डू युरोपको जिन्दगी बाँच्छ तर खोकना यी धेरै आयाम र परिर्वतनबाट बेखबरझै आफ्नै धुनमा मग्न छ । तर, त्यो मग्नतामा बाबुबाजेले छाडेर गएका केही परम्परा पनि चटक्कै बिर्सिएको छ उसले ।
०००
थुप्रै बूढाहरूसँग आफ्ना बाबुबाजेले तेल पेल्ने, बेच्ने गरेको कामका सुदूर सम्झनामात्र छन् । र, त्यो स्मृति समयका दाँतीहरुमा झनै लम्बिएर जाने सम्भावना बढेको देखेका छन्, खोकना गाविसका पूर्वअध्यक्ष ५० वर्षे मदनसिंह डंगोलले । यस अर्थमा खोकनाको तेल व्यवसाय कति पुरानो हो, यकिनसाथ भन्न सकिन्न । ‘मेरा बा यो छ सय वर्ष पुरानो व्यवसाय हो भन्नुहुन्थ्यो,’ उनी यति मात्रै भन्न सक्छन् । अनि, खोकनाचाहिँ कति पुरानो त ? ‘तेह्रौँ शताब्दीदेखि नै बसोबास भएको इतिहास छ,’ डंगोलले सुनाए ।
ऊ बेला तेल आजका आधुनिक मिलबाट होइन, काठका परम्परागत कोलबाट निकालिन्थ्यो । अझै पनि कोलकै प्रयोग गरी तेल निकालिन्छ । कोलमा पेलिने तोरीको पिनाबाट खेर गइरहेको तेल निकाल्न नयाँ प्रविधि जडान गरिएको छ । खोकनाको नाम बेचेर काठमान्डू अहिले पनि तेल बेच्छ । यहाँ उत्पादित तेलको माग काठमाडौँमा बढ्दै छ तर कच्चा पदार्थको अभावमा माग धान्ने गरी उत्पादनै हुँदैन । खोकनाको तेल खोकनालाई नै पुग्दैन । काठमान्डू झुट बोलिरहन्छ र खोकनाको नाम जोडेर तेल बेचिरहन्छ । झुट नबोली सायद बाँच्न सक्दैन काठमान्डू ।
खोकनामा तोरीको तेल पेल्ने मिल जम्मा छवटा छन् । नेवारीमा खोकनामा घरेलु तेल मिललाई ‘सामो’ भनिँदो रहेछ । सामो अर्थात् ‘समूह’ । सबै स्थानीय मिलेर बनाइने ‘सामो’मा धेरैको लगानी हुन्छ । पहिले खोकनाका तेलमिल व्यक्तिगत थिएनन्, अहिले पाँच वटा व्यक्तिगत छन्, एउटा मात्रै समूहमा चलेको । यसले भन्छ– खोकना व्यक्तिवादी बन्दै छ, एक्लो बन्दै छ । तर, म ‘सामो’को कुरा गर्दै छु । एउटा तेलमिलसँग थोरैमा पनि सय-डेढ सयको सम्बद्धता हुन्छ र तेल पेल्ने आफ्नै नियम । सबैको पालो आउँछ । एकदिन एउटाले पेल्छ, अर्को दिन अर्कैले । मिलबाट तेल निकालेबापत डेढ–दुई माना तेल मिल मर्मतका निम्ति सबैले जम्मा गर्छन् । तेलमिलमा तेल पेलिरहेका सिद्धिचरण मर्हजन भन्छन्, ‘यसरी तेल पेल्ने, तेल बेच्ने साल्मीहरू नेवार समुदायका ज्यापू हुन्छन् ।’ डंगोल, महर्जनबाहेक कसाही, कुसले, पोडे, च्यामे, दमाई, नापित जातजातिलाई अहिलेसम्म पनि तेलमिल छुन दिइँदैन । यहाँको ‘सोसल स्ट्राटिफिकेसन’ देख्दा लाग्छ, खोकनामा अझै पनि जयस्थिति मल्लको राज छ ।
‘यहाँको तेल कपडामा लाग्यो भने पनि च्यापच्याप लाग्दैन, धेरै समय प्रयोग नगरी राखे पनि बिग्रँदैन,’ पहिले–पहिले खोकनाको तेल लिन स्वयम्भूबाट हिँडेरै यहाँ आइपुग्ने ६० वर्षे रमेश खनाल सुनाउँछन् (उनी अहिले पनि खलखली पसिना बगाएर हातमा एउटा झोला लिएर खोकना आइपुगेका छन् तर अहिले चाहिँ उनी बस चढेर यहाँ आए) । टेलिभिजनमा ‘स्वस्थ मुटुका लागि धारा तेल खानैपर्ने’ दाबी गर्ने विजय लामाले जस्तै गरी उनले पनि विज्ञापनै गरे– ‘म खोकनाको शुद्ध तोरीको तेल नै प्रयोग गर्दै आइरहेको छु र जहिलेसम्म बाँच्छु, यहीँको तेल प्रयोग गर्छु ।’ सायद खनाल यो किंवदन्तीसँग अब्सेस्ड छन्– ‘स्वर्गका अप्सरा राजा इन्द्रका अघि नृत्य गर्न जानुअघि खोकनाकै तेल शरीरमा घसेर जान्थे ।’
०००
एक समय खोकना साह्रै गन्हाउँथ्यो । फोहोरको झुसिलो गन्ध नाकमा ठोक्किएर दिमाग रन्थनिँदा आगन्तुकहरू लामो समय बिताउँदैनथे । तर, अहिले सफा छ । २०५४ र ५५ सालसम्म पनि खोकनाका गल्ली यति फोहोर हुन्थे रे कि मैले अहिले अन्तवार्ता गरिरहेका बूढाहरू नाक थुनेर पनि हिँड्ने हिम्मत गर्दैनथे । हिलो र फोहोरले भरिएका साँघुरा गल्लीमा हत्तपत्त बाहिरका मान्छेहरू पस्नै चाहँदैनथे । अहिले गल्लीमा ढुंगा छापिएको छ, नाली बनाइएको छ । दुर्गन्धित पम्पा, कटाङ, बाखा, गसीजस्ता खोकना टोलहरू अहिले ‘टोटल्ली’ फेरिए ।
०००
निजी विशेषतामा रमाइरहेको खोकना दसैँ मनाउँछ तर टीका–जमरा लगाउँदैन । लगाएको कोही मान्छे देखिए ऊ यहाँको रैथाने होइन भन्ने बुझे हुन्छ । घटस्थापनादेखि नवमीसम्म गाउँमा रुद्रायणी जात्रा मनाइन्छ । त्यसबेला राँगाको बलि चढाउनु उनीहरूको दैनिकी हुन्छ ।
सांस्कृतिक चलनै बडो ‘अफबिट’ छ । रुद्रायणी मन्दिरअघिको पोखरीमा बर्सेनि बलि दिइन्छ । सुरुमा एउटा बाख्रालाई पोखरीमा फालिन्छ । युवाहरू पानीमा हामफालेर त्यसलाई दाँतले टोक्न थाल्छन् । बाख्रा नमरुन्जेल यो क्रम जारी रहन्छ । बलि दिइएको बाख्रालाई पोखरीमै टोकीटोकी मार्छन् । निर्दयी भए पनि परम्परा आखिर परम्परा हो । खोकनाले यसलाई निर्वाह गरिरहेको छ ।
०००
सय वर्ष अगाडि चन्द्रशमशेरको पालामा फर्पिङमा बनेको पाँच सय मेगावाटको चन्द्रज्योति विद्युत् गृहले पहिलो परीक्षण खोकनामै गरेको रहेछ । नेपालकै पहिलो तथा दक्षिण एसियाको दोस्रो यो आयोजनाबाट निकालिएको बिजुली सबैभन्दा पहिले यहाँका मदनकृष्ण महर्जनको घरमा बालिएको रहेछ (वि.सं. १९५८ जेठमा), उनका जिजुबा सिद्धिलालका पालामा । तर, आज त्यही आदिम घर मैनबत्तीको धिपधिपेमा बाँचिरहेछ । यहाँको परीक्षण सफल भएपछि १९६७ साल जेठ ९ गते मात्र त्यो बिजुलीको टुँडिखेलमा औपचारिक उद्घाटन गरिएछ ।
राणा शासकहरूका लागि निकालिएको भए पनि ‘दरबारमा बिजुली बाल्दा अनिष्ट हुन्छ’ भन्ने डरले उसबेला काम गर्यो र जनताको घरमा गुलुप बल्यो । बाल्ने र निभाउने स्विच थिएन, त्यसैले यहाँको बत्ती तीन वर्षसम्म निरन्तर बलिरह्यो । अन्धकार रातमा त्यस घरले धिपधिपे उज्यालो दिइरह्यो । उतिबेला घरबाहिर २४ घन्टै बत्ती बलिरन्हथ्यो रे ! बिजुलीले च्याप्प समाएर मान्छेलाई मार्छ भन्ने हल्ला थियो, त्यसैले घरभित्र बत्ती बाल्न नमानेका सिद्धिलालले पालीमा बत्ति झुन्ड्याएर आँगन र टोल उज्यालो पारेछन् ।
अहिले यो घर संग्रहालय बनेको छ, तर सामग्री देखाउने उज्यालो छैन । झरीले भुइँतलाको छिँडीका सबै सामान बिग्रिएका छन् । अहिले गाउँमा पुरानै शैलीमा तानेका पोल र तारका अवशेष बाँकी छन् । त्यस घरमा बिजुली बल्नेबित्तिकै राणा प्रधानमन्त्री चन्द्रशमशेरले अरू पाँच घर र पछि पूरै गाउँमा एक–एकवटा गुलुप बल्ने गरी बिजुलीको बन्दोबस्त गरिदिएछन् ।
०००
धेरै कुरा फेरियो काठमान्डूमा । तर, काठमान्डूको नाकै अगाडि बसेको खोकनाको खानपान, रहनसहन, लवाइखवाइ केही पनि फेरिएको छैन । खोकनावासीले कहिल्यै जानेनन्– एक महिनामै ड्याम्मै वजन घटाएर सिन्को हुन, एकै महिनामा खरर अंग्रेजी बोल्न जान्ने हुन, ब्युटीपार्लरमा टन्नै पैसा खर्चेर गोरा-गोरी बन्न । थुप्रै वर्षको सहवासपछि खोकनाले आफ्नै वस्तीका मान्छेलाई ‘आफ्नो’ ठान्न थालेको छ । बरु काठमान्डूले सयौँ वर्षदेखि बस्नेहरूलाई अझै आत्मसात् गर्न बाँकी नै छ जस्तो लाग्छ (हुन त यो आरोप पनि हुन सक्छ ) । खोकनाले कम्तीमा एउटा औसत जीवनका भोगाइलाई सजिलो बनाइदिएको छ । आफ्ना काखमा आँसु झार्नेहरूका आक्रोश, पीडा र एक्लोपनलाई छातीमा थापिदिएर सुम्सुम्याएको छ र पीडालाई मत्थर पारिदिएको छ खोकनाले । अनि आफैले प्रशोधन गरेको अब्बल जातको तोरीको तेलले उनीहरूका पीडामा मालिस गरिदिएको छ ।
(निबन्धकार दीपक सापकोटाको लोकेसन निबन्धसंग्रह प्रकाशित छ । कान्तिपुरसँग आबद्ध उनले धेरै पुस्तक सम्पादन पनि गरेका छन् ।निबन्ध र कवितामा कलम चलाउने सापकोटाले सम्पादन गरेको पाण्डुलिपी पत्रिकाले निकै चर्चा बटुलेको थियो ।)

