After header

समुदायमा लोकप्रिय बन्दै झिगु बचत बनेपा

१५ औं साधारण सभा समापन

बनेपा/ काभ्रे जिल्लाको बनेपा मा केन्द्र बनाएर श्रमिक वर्गले सुरुवात गरेर श्रमजिवी वर्गबीच निक्कै लोकप्रिय रहेको झिगु बचत तथा ऋण सहकारी संस्थाले १५ औं साधारण सभा मनाएको छ ।

सानो सानो पुँजी रहेका र आपसी अ‍ैचोपौचो गर्दै आफ्नो समस्या समाधान गर्न स्थापना भएको सहकारीको साधारण सभाको प्रमुख अतिथी बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्यले सहकारीको साधारण सभामा देखिएको उपस्थितीले सहकारीले निक्कै राम्रो काम गरिरहेको बताए ।

उनले सहकारीको भिडमा झिगु सहयोगीले फरक ढंगले काम गरेको बताउँदै सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरेको पाइएको स्पष्ट पारेका थिए ।

उनले सहकारीसँग समन्वय गरेर आफूले काम गर्न चाहेको बताउदै मेयर शाक्यले सामाजिक उत्तरदायित्व अन्तरगत सहकारीले काम गर्न र कम्तिमा मुल सडक देखिने गरेर सिसी क्यामेरा मात्रै राख्न अनुरोध गरेका छन् ।

सहकारी धेरै रहेपनि आज वास्तविक सहकारीको महसुस गरेको उनले बताए । सहकारीको साधरण सभामा हस्ताक्षर गरेर हिड्ने गरेको देखेपनि यो सहकारीमा भने सबै सदस्य मिलेर बस्ने गरेको उनले बताए ।

साधारण सभाको सभापतित्व गर्दै संस्थाका अध्यक्ष बुद्धरत्न मानन्धरले सहकारीले सहकारीको मर्मलाई आत्मसाथ गरेको बताए । सहकारीमा आफुहरुले समान आय स्रोत भएका सदस्यसँग मिलेर काम गरिरहेको बताउँदै सकेसम्म उदाहरणीय काम गर्ने प्रयास गरेको बताएका छन् । उनले आफ्नो सहकारीमा एउटै आय स्रोत भएका सदस्य रहेको र सबै मिलेर सहकारीको बृद्धि विकास गरेको बताए ।

संस्थाका उपाध्यक्ष टिकाराम मानन्धरले स्वागत मन्तव्य राख्दै सहकारीले गरेका प्रगतिको बारेमा प्रष्ट्राएका थिए । सहकारीको साधारण सभाको संचालन सचिव दिपा मानन्धरले गरेकी थिइन् । उनले २०६४ सालमा स्थापना भएको सहकारीमा हालसम्म १३७० जना सेयर सदस्य रहेको बताए ।

सहकारीका कोषाध्यक्ष नवराज मानन्धरले एक बर्षमा भएको आर्थिक प्रतिवेदन पेस गरेका थिए । सो प्रतिवेदन अनुसार १० करोडको कारोबार, ८ करोड ऋण लगानी रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले चण्डेश्वरी जात्रामा पानी वितरण, जेष्ठ सदस्यलाई भ्रमणको कार्यक्रम गर्दै आएको छ । सो अवसरमा लेखा सुपरीवेक्षण समितीका संयोजक पुरुषोत्तम मानन्धरले लेखा प्रतिवेदन पेस गरे । साधारण सभामा पत्रकार केशवराज पौडेले मजदुरको एउटा असल साथीको रुपमा सहकार रहेको बताए ।

सहकारीको साधारण सभाको अवसरमा १० बर्षसम्म नियमित रुपमा बचत गर्ने एक जना सदस्यलाई भत्ता वितरण गरिएको थियो । त्यस्तै नियमित बचतगर्र्ने बचतकर्ता,बाल बचतकर्ता, ऋणीलाई सम्मान गरिएको थियो ।

साधारण सभामा काभ्रेका कृयाशिल पत्रकार, सहकारीका अधिकाशं सदस्यको उपस्थिती रहेको थियो ।

एक पटक पढ्नुहोस