After header

बनेपा नगर बैठक बोलाउन बहुमत सदस्यको नगरप्रमूखलाई ज्ञापनपत्र

बनेपा नगरप्रमूखले लाचारपनको हद नघाएको आरोप !

बनेपा/
बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले कार्यपालिका बैठक बोलाउन अटेर गरेपछि बहुमत सदस्यहरुले तत्काल कार्यपालिकाको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।कार्यपालिकाका १५ जना सदस्यहरुले आज आइतबार बिहान ११ बजे नगर प्रमुख शाक्यलाई ज्ञापनपत्र बुझाउँदै तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका हुन् । करारका कर्मचारीको म्याद थप गर्ने विषयमा भएको विवाद पछि नगर प्रमुख शाक्यले कार्यपालिका बैठक बोलाउन अटेर गर्दै आएका छन् । स्थानीय तहको कार्यपालिका बैठक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने प्रावधान रहेको छ । तर, नगरसभाले दिएको म्यान्डेटअनुसार कार्यपालिका बैठकमा करारका कर्मचारीको म्याद थप गर्ने एजेण्डा बनाउनुपर्ने डरमा नगर प्रमुख शाक्यले कार्यपालिका नै छल्दै आएका छन् । जसका कारण करारका कर्मचारीको म्याद थप गर्ने या नगर्ने भन्ने निर्णय हुन सकेको छैन भने बजेट ब्रेकडाउनसमेत हुन सकेको छैन ।

आज बहुमत कार्यपालिका सदस्यले बुझाएको ज्ञापनपत्रमा बनेपा नगरपालिकाको बैठक नियमित नहुँदानगर सभाले विनियोजन गरेका योजनाहरुको कार्यान्वयनका लागि सम्झौता हुन नसकेको, वडा स्तरीय लगायत विषयगत योजनाहरुको शिर्षक नछुटिनुका साथै निर्धारण भईसकेको दररेटहरु कार्यपालिकाबाट अनुमोदन नहुनाले विनियोजित योजनाहरुको लगत अनुमान तयार गर्न असहजता हुनुका साथै अन्य विविध विषयहरुको सम्पादन गर्न बैठक नहुनाले राजश्व संकलनमा समेत बाधा अप्ठ्यारा श्रृजना भएको उल्लेख छ । नगरपालिकामा कार्यरत करारका कर्मचारीहरुको म्याद थप सम्बन्धमा २०७९ असार २४ गते सम्पन्न बनेपा नगरपालिकाको १० औं नगरसभाले कार्यपालिकालाई अख्तियारी प्रदान गरेको बिषयमा हाल सम्म कुनै निर्णय नभएकोले श्रावण महिना देखि नियमित रुपमा कामकाज गरिरहेका कर्मचारीहरुले पारिश्रमिक नपाई रहेको पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्तो अवस्था आउनुमा नगरप्रमूखको लाचारपनले हद नाघेको भन्दै कतिपयले मेयर शाक्यलाई दोषारोपण गरिरहेका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ परिच्छेद १ दफा १७ बैठक र निर्णय १ ‘बमोजिम कार्यपालिका बैठक कम्तिमा महिनाको एक पटक बस्ने छ’ भन्ने व्यबस्था भएनुसार सो बमोजिम नभएको हुनाले यथासक्य छिटो भन्दा छिटो कार्यपालिकाको बैठक आब्हान गर्न उनीहरुले अनुरोध गरेका छन् । ज्ञापनपत्रको बोधार्थ नगर उपप्रमुख र प्रमुख प्रशाकीय अधिकृतलाई दिइएको छ ।

एक पटक पढ्नुहोस