काभ्रे/ नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०÷८१ को लागि बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगरले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख रत्नबहादुर लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९÷८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगर सभाको अर्काे बैठक २०८० असार २७ गते बस्ने तय भएको नगर सभाका सचिव समेत रहेका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले जानकारी दिए ।
