After header

सडकमा गुडिरहेको हरेक ट्रिपर बाट बिना बिल मासिक २ हजार असुली

१५ सय ट्रिपर बाट मासिक ३० लाख बढी असुली धन्दामा सक्रिय काभ्रे प्रहरी–ट्राफिक

शुकदेव थपलिया काभ्रे । काभ्रे जिल्लाको बिशेषतः दुई राजमार्ग विपि र अरनिको राजमार्ग भएर गुढिरहने प्रत्येक ट्रिपरहरुबाट जिल्ला ट्राफिक र प्रहरीको सक्रियतामा बिना बिल मासिक २ हजार असुली गरिरहेको पाइएको छ । सूचना स्रोतहरुका अनुसार डिउटीमा रहेका ट्राफिक र प्रहरीका विभिन्न दर्जामा खटिएका प्रहरीहरुले बिना रसिदका रकम प्रत्यक्ष भेट मार्फत तथा विभिन्न मोबाइल बैंकिङ मार्फत दिन बाध्य पारिरहेको बताइएको छ ।

ट्रिपर चालकहरु रेशम थापा, सुरज केसीका अनुसार ति प्रहरीहरुले बिना रसिदका रकम मासिक नबुझाए विभिन्न बाहानामा रसिद काटिदिने र ट्रिपरलाई ईलाका प्रहरी कार्यालयमा समेत लाने धम्की दिने र लग्ने गरेर दुःख समेत दिइरहेको बताएका छन् । यता प्रहरी अधिकारीहरुका अनुसार ट्रिपरले ओभरलोढ, पानी चुहिने र सडकका विभिन्न मापदण्ड पूरा नगर्ने अनि त्यस बापत चिट काट्दा राज्यलाई तिर्नुपर्ने रकम नतिर्न छल्न बाहानाबाजी गर्दा यस्ता आरोपहरु प्रहरीलाई आउने गरेको स्वीकार गरेका छन् ।
यता चालकहरुको कुरालाई आधार मान्ने हो भने काभ्रेमा सरदर दैनिक १५ सय वटा ट्रिपरहरु गुड्छन् । यदि ति ट्रिपरहरुबाट मासिक २ हजारले असुल्दा ३० लाख मासिक हुन आउँछ । यो हिसाबलाई बार्षिक रुपमा निकाल्दा ३ करोड ६० लाख बराबरको रकम असुली हुन्छ । यदि माथीका विवरणहरुलाई मान्ने हो भने राज्य दोहनको मिलिभगतशैलीमा प्रत्यक्ष अप्रत्यक्ष संलग्नतामा, ट्रिपर व्यवसायी, चालक, प्रहरी,ट्राफिक र उपभोक्ता अनि मुकदर्शक स्थानीयहरु पनि हुन् भन्ने प्रमाणित हुन्छ ।

हुन पनि काभ्रे जिल्लाको सन्दर्भमा स्थानीय तथा भद्रबलाद्मीहरुको तर्कमा काभ्रे प्रहरी प्रशासन इतिहाँसकै कमजोर प्रशासनको रुपमा रहेको कुराहरु विभिन्न घटनाले सावित गराएको उनीहरुको तर्क रहँदै आएको छ । काभ्रे जिल्ला आज मात्रै चर्चाको जिल्ला होइन यहाँ हरेक हिसाबले दैनिक चर्चा पाइरहने जिल्ला हो । काभ्रेमा प्रहरी सरुवा हुन र प्रसाशनका कर्मचारी सरुवा हुन पनि उत्तिकै चलखेल हुने गर्दै आएको कुराहरु यसअघि देखि पनि चर्चा हुँदै आएकै छन् ।

काभ्रे जिल्लामा प्रहरीको मुख्य आम्दानीको स्रोत भनिएको क्रसर, अवैध यौन धन्धाको होटल देखि सडकमा गुड्ने यमराज शैलीको ट्रिपरको असुलीले राज्य दोहनमा मिलिभगतशैलीहरु प्रष्ट रहेको श्रोतहरू दाबी गर्छन् । राज्य श्रोतको दोहनमा केवल प्रहरी प्रशासन कर्मचारी मात्रै दोषी छैनन । स्थानीय नागरिक अगुवा देखि व्यवसायी सम्मको उत्तिकै मिलेमतो रहन्छ भन्ने उदाहरण पनि प्रमाणित गर्न माथिका तथ्यहरूले गर्छ ।

ट्रिपरमा ढाला माथि सम्मको ओभरलोडको अपेक्षा गर्ने, निर्माण व्यवसायी देखि उपभोक्तासम्म सडक सुरक्षा भन्दा पनि बेग्र गतिमा टिप गरेर नाफा आर्जन गर्न खोज्ने ट्रिपर चालक पनि राज्य स्रोत दोहनको साझेदार हुन भन्ने कुरालाई पनि बुझ्न पर्छ ।यस असुलीको सूचना पाए पछि काभ्रे सन्देशले सूचना बारे जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख जनार्दन घिमिरे लाई टेलिफोन मार्फत संवाद गर्दा उनले भने –“यस्तो किसिमको अवस्था अहिलेको परिस्थितिमा छैन, हिजो के थियो त्यो थाहा भएन तर आजको युगमा बिना बिल डिउटीमा रहेका स्टाफले असुली गर्ने भन्ने कुरा कहीं कतै छैन ।

यस्तो गम्भिर बिषयमा ट्राफिक प्रहरीलाई लागेको आरोप केवल आरोप मात्रै हो ।, आज त बिल भुक्तानी पनि प्रविधि मार्फत हुन्छ सिधै बैङकीङ प्रणालीमा त्यसकारण पनि असुली गर्ने संभावना नै छैन ।, हामीले ट्रिपर चालक लाई ट्राफिक प्रहरीले दुःख दिए सिधै सम्पर्क गर्न र आफ्नो गुनासो राख्न विभिन्न सेमिनार कार्यक्रमहरु मार्फत जानकारी गराएका पनि छौँ तर आज सम्म यस्तो असुलीको विषयमा गुनासो आएको छैन ।

यसरी असुली गरेको पाइए स्टाफ लाई कारबाहीको दायरामा पुर्याउन हामी कति पनि पछि हट्दैनौ, प्रमाण लिएर जिल्ला ट्राफिकमा उजुरी गर्न आह्वान समेत गर्दछौं । पीडित भनिएकाहरुले प्रहरीलाइ सूचना र उजुरी दिनुपर्छ राज्यको कानुन सबैले मान्नुपर्छ ” । कुराकानीमा घिमिरेले जवाफ दिएका छन् । आजको काभ्रे सन्देश साप्ताहिकाबाट

एक पटक पढ्नुहोस