चितवन । नेपाल प्रहरीले चितवन र मकवानपुरबाट करीब ६ सय १४ किलो गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ ।
राप्ती नगरपालिका–३ झुरझुरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा छथर जोरपाटी गाउँपालिका–३ बस्ने ३२ वर्षीय रमेश नाथ दाहाल र कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने २५ वर्षीय शुसिराम थारू रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको ना.३ ख ६१२२ नम्बरको ट्रक र ना.३ ख ७२४० नम्बरको डिब्बा ट्रकलाई जाँच गर्ने क्रममा डिब्बा ट्रकमा लुकाई छिपाई राखेको ३९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी सोही ट्रकका चालक रमेश नाथ र ना.३ ख ६१२२ नम्बरको ट्रकका सहचालक शुसिरामलाई पक्राउ गरेको हो । हाल फरार ना.३ ख ६१२२ नम्बरको ट्रकका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै गरी मकवानपुर राक्सिराङ गाउँपालिका–५ बोटबारीबाट अवैध लागूऔषध गाँजा करिब ७० किलो ६ सय ग्रामसहित ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–१ सानो भावर बस्ने ५० वर्षीय पुर्ण बहादुर मोक्तान, २४ वर्षीय बावुलाल स्याङतान र हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ बस्ने २४ वर्षीय आमोस पुलामी मगर रहेका छन् ।
प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले परेवा भिरबाट पलासेतर्फ जाँदै गरेको प्रदेश ३–००१ ह ०१९६ नम्बरको अटोलाई रोक्न खोज्दा अटो नरोकी भाग्ने क्रममा पल्टिएको थियो । साथै अटोमा २ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी अटोमा सवार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अटो चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
