काभ्रे । धुलिखेल–साँगा सडकको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर बनेपा पुलबजारका स्थानीयले अवरोध गरेपछि डेढ महिनादेखि विस्तारको काम रोकिएको छ । डेढ महिनादेखि उक्त क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।
निर्माणाधीन सडकखण्डको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि डेढ महिनादेखि विस्तार रोकिएको हो । सेन्टर लाइनबाट दायाँबायाँ ७५÷७५ फिट (१५० फिट)मध्ये पनि १४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवैतर्फका घरमा बराबर छुट्याउनुपर्ने माग गर्दै निर्माण अवरुद्ध पारेको जनाइएको छ ।
“हामीले सडकको डिजाइनअनुसारनै सडकको बीचबाट बराबर छुट्याउने हो, स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माणकार्य रोकिएको हो”, आयोजनाका इञ्जिनियर विष्णु खनालले भने । उनका अनुसार यसअघि विभिन्न निकायको समन्वयमा अवरोध हटाउन प्रयास गरिए पनि मङ्गलबार बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफल पनि बिनानिष्कर्ष टुङ्गिएको छ ।
पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण रोकिएको हो । इञ्जिनियर खनालका अनुसार सहरको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माण भइरहे पनि अन्य कार्य ठम्म नै रहेको छ ।
पुलबजार क्षेत्रको अवरोध तत्काल हटाएर विस्तार कार्यलाई अघि नबढाइए वर्षाअघि कामले निरन्तरता नपाउने खनालको भनाइ छ । अन्य स्थानमा भने काम तीव्र रुपमा नै भइरहेको उनले बताए । उनका अनुसार धुलिखेल क्षेत्रमा कामले गति लिइरहेकाले हाल एक किमी क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकेर केही दिनमै सडक कालोपत्रको तयारी भइरहेको छ ।
पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घरटहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोलहटाउनुपर्ने काम रोकिएको जनाइएको छ । आयोजनाका अनुसार साँगा–धुलिखेल सडकखण्डअन्र्तगत नासिकास्थानमा दुई, भैँसीपाटीमा तीन, जनागालमा दुई, बुडोलमा एक र २८ किलोमा एक गरी नौ वटा घर–टहरा हटाउनुपर्नेछ ।
पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण रोकिएको हो ।
इञ्जिनियर खनालका अनुसार सहरको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माण भइरहे पनि अन्य कार्य ठम्म नै रहेको छ । यस्तै बिजुलीको पोल सार्ने काम ७० प्रतिशत, तथा एक ठाउँमा हाइटेन्सनको पोल सार्नुपर्ने काम बाँकी रहेको छ ।
