After header

यात्रुबाहक बस दुर्घटना हुदाँ १६ जना घाईते

झापा । यात्रुबाहक बस दुर्घटना हुदाँ १६ जना घाईते भएका मध्ये एक जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । काठमाडौँबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख४२ नम्बरको यात्रुबाहक रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए ।

जसमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक रहेको छ । “म ड्राइभरको सिट पछाडि नै थिएँ”, घाइते शिक्षक भण्डारीले भने, “अघिदेखि नै गाडी अस्वाभाविक रूपमा हल्लिरहेको थियो । एक्कासि गाडी सडकबाट पल्टियो । मुस्किलले बाँचियो ।

गाडीबाट इन्धन पोखिरहेको देखेपछि घाइते अवस्थामै मैले अरू घाइतेलाई गाडीबाट छिटोछिटो उद्धार गरेर बाहिर निकालेँ ।” बस अनियन्त्रित भई दुर्घटना भएको र बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

एक पटक पढ्नुहोस