काभ्रे । काभ्रेको पनौती नगरपालिकामा डेंगी, जापानिज इन्सेफ्लाइटिस लगायत अन्य किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी र सरोकारवालाहरूबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका नगर कार्यपालिकाको स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सुरुवातमा स्वास्थ्य शाखा प्रमुख जनक केसीले डेंगी रोगको वर्तमान अवस्था, संक्रमणको जोखिम, नियन्त्रणका लागि हालसम्म गरिएका प्रयास तथा “खोज र नष्ट” विधिको प्रभावकारिताबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । डेंगु र जापानिज इन्सेफलाईटिसको न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना फैलाउनु नै प्राथमिक आवश्यकता रहेको बताए । उनले यी रोगहरूका कारण नागरिकको स्वास्थ्यमा पर्न सक्ने गम्भीर असरबारे समयमै सतर्क रहन सबैलाई आग्रह गरे ।
कार्यक्रममा प्रशिक्षकका रूपमा रहेकी ल्याब सुपरभाइजर योगिता खनालले डेंगुको ऐतिहासिक र प्राविधिक पक्षबारे प्रकाश पारेकी थिईन् ।

डेंगी, जापानिज इन्सेफ्लाइटिस लगायत किटजन्य रोगहरूको परिचय, संक्रमणको प्रक्रिया, लक्षण, जोखिम समूह तथा नियन्त्रणका उपायहरूबारे सहजिकरण गरेकी थिइन् । विशेषगरी उज्यालो समयमा टोक्ने यो लामखुट्टेको अण्डा महिनौंसम्म जीवित रहने र संक्रमित लामखुट्टेबाट जन्मने नयाँ पुस्ताका लामखुट्टे समेत संक्रमित नै हुने भएकाले जोखिम उच्च रहेको उनको भनाइ थियो ।
उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने र हाडजोर्नीमा पीडा हुने जस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्था जान सुझाव दिँदै उनले ‘खोज र नष्ट गर’ अभियानलाई समुदायको संस्कार बनाउनुपर्नेमा जोड दिएकी थिईन् ।अभिमुखीकरण कार्यक्रमका मुख्य उद्देश्यहरूमा किटजन्य रोगहरूको बारेमा समग्र जानकारी प्रदान गर्नु, विश्वदेखि स्थानीय तहसम्मको अवस्थाबारे छलफल गर्नु तथा रोकथामका प्रभावकारी उपायहरूबारे सहभागीलाई सक्षम बनाउनु रहेको थियो ।
स्वास्थ्य शाखाका प्रमुख जनक केसीको प्रस्तुतीकरणअनुसार डेंगी सचेतना महिनामा विभिन्न अभियानहरू सञ्चालन गर्न सकिने बताइएको छ । “हरेक शुक्रबार, सफा शुक्रबार” अभियानअन्तर्गत सार्वजनिक स्थल, कार्यालय, विद्यालय तथा संघ–संस्थाहरूमा नियमित सरसफाइ , यस्तै “खोज र नष्ट गर” अभियानमार्फत टोल विकास समिति र स्थानीय समुदायको सहभागितामा लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्न सकिने बताइएको छ ।
त्यसैगरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक छलफल तथा पैरवीलाई प्राथमिकता दिँदै डेंगी नियन्त्रणका रणनीतिहरू प्रभावकारी बनाइने जनाइएको छ । प्रत्येक वडामा घरदैलो कार्यक्रम, समूह छलफल, पोस्टर तथा ब्यानरमार्फत जनचेतना अभिवृद्धि गर्ने योजना समेत अघि सारिएको छ ।
कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले रोग लागेर उपचार गर्नुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै शरीर ढाकिने लुगा लगाउन, दिउँसो पनि झुलको प्रयोग गर्न र घर वरपर पानी जम्न नदिई सरसफाइमा विशेष ध्यान दिन समुदायलाई अपिल गरेका थिए । कार्यक्रममा सहभागी जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले किटजन्य रोग नियन्त्रणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै आगामी दिनमा समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
