काठमाडौँ । विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गर्ने काभ्रेका विनोद थापा सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट रु तीन करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको हो ।तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्रीलाई पक्राउ गरिएको हो ।
अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर ११ जनाबाट रु एक करोड दुई लाख उठाएका थिए ।त्यसैगरी, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट एक रु करोड ५० लाख, शेर्पाले फ्रान्सको प्रलोभनमा पारेर पाँच जनाबाट रु २८ लाख र गौतमले एक जनाबाट रु २७ लाख असुलेका जनाइएको छ ।
