After header

गरिमा हत्या प्रकरणविरुद्ध बनेपामा दीप प्रज्वलन

काभ्रे । बारा जिल्ला जितपुर–सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणविरुद्ध काभ्रेको बनेपामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । सुशासनका लागि युवा अभियान काभ्रेको आयोजनामा बनेपाको चारदोबाटोमा आयोजित कार्यक्रममा सहभागीहरूले दिवंगत बालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका थिए ।

दीप प्रज्वलन कार्यक्रममा विभिन्न क्षेत्रका युवा, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले बालबालिकामाथि हुने हिंसा र जघन्य अपराधका घटनामा राज्य गम्भीर बन्नुपर्ने तथा पीडितले न्याय पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमका संयोजक कुमार अधिकारीले बालबालिकामाथि हुने हिंसा र अपराधका घटनाविरुद्ध समाज एकजुट हुनुपर्ने बताए ।

उनले गरिमा चौधरीको घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको उल्लेख गर्दै दोषीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा सजाय दिनुपर्ने माग गरेका थिए । उनले भने, “गरिमाको लागि न्याय केवल एउटा परिवारको माग होइन, यो सम्पूर्ण समाजको आवाज हो । बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्य र समाज दुवैले गम्भीर जिम्मेवारी लिनुपर्छ।”

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै गरिमाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कानुनी कार्यान्वयन, बालबालिकाको सुरक्षा तथा दोषीमाथि कठोर कारबाही आवश्यक रहेको बताएका थिए ।

एक पटक पढ्नुहोस