After header

गरिमा चौधरी हत्या प्रकरणविरुद्ध आज ५ बजे बनेपामा दीप प्रज्वलन गरिदै

काभ्रे । बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीय बालिका गरिमा चौधरीको हत्या प्रकरणको विरोध तथा दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज काभ्रेको बनेपा चारदोवाटोमा साँझ ५ बजे दीप प्रज्वलन गरिने भएको छ ।  सुशासनका लागि युवा अभियान काभ्रेको आयोजनामा हुने कार्यक्रममा बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान तथा कानुन बमोजिम कडा कारबाहीको माग गरिने आयोजकले जनाएको छ ।

अभियानका संयोजक कुमार अधिकारीले बालबालिकामाथि हुने हिंसा तथा जघन्य अपराधविरुद्ध समाज एकजुट हुनुपर्ने बताउँदै गरिमा चौधरी हत्या प्रकरणमा राज्यले गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए । “बालिकामाथि भएको यस्तो जघन्य घटनाले सबैलाई स्तब्ध बनाएको छ ।

पीडित परिवारलाई न्याय दिलाउन र यस्ता घटना दोहोरिन नदिन समाज तथा राज्य दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ,” संयोजक अधिकारीले भने ।आयोजकले कार्यक्रममा सहभागी भई गरिमा चौधरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न तथा न्यायको पक्षमा ऐक्यबद्धता जनाउन सम्पूर्ण आम काभ्रेबासीलाई बनेपा चारदोवाटोमा उपस्थित हुन आग्रह गरेको छ । दीप प्रज्वलन मार्फत बालबालिकाको सुरक्षा, न्याय र अपराधविरुद्ध सामूहिक आवाज उठाउने उद्देश्य रहेको आयोजकले जनाएको छ ।

एक पटक पढ्नुहोस