After header

छुट्टिने बेलाको बोली अन्तिम रहेनछ

जम्मू यात्रा- १

जहाजबाट ओर्लिएर इमिग्रेसनतिर जाँदै गर्दा समाइराखेको हात छाडेर ‘मन’ अगाडि लाग्यो। उसलाई रेल्वे स्टेसन पुग्न मलाईभन्दा बढी हतार छ।

इमिग्रेसनको फारम भरेर बाहिर निस्किन लागेका बेला अचानक आफूबाट केही फुत्किएर गएजस्तो भयो। जिउ गह्रौं भयो। कसैले पछाडिबाट झोला बोकायो कि के हो?

फर्किएर हेरेँ, एक्लै छु। तन्किएर आँखा डुलाउँदा अलि पर आफूजस्तै कोही हिँडिरहेको देख्छु।

आफ्नो मन पनि चिन्दिनँ त?

‘मलाई एक्लै छाडेर कता गएको?’ सोध्न खोज्दा ऊ अझै टाढा पुग्छ। मन मबाट फुत्किएर रेल्वे स्टेसनतिर लाग्छ। मैले ट्याक्सीको टिकट काट्नुभन्दा पहिला नै ऊ रेल्वे स्टेसन पुगिसकेको छ।

तर म नपुगी टिकटको नाम मेरै हो भनेर उसले भन्न सक्दैन। मेरो नामको सिट रोकिदिन पनि सक्दैन। उसलाई मन हुन म चाहिन्छ। मलाई मनबाट बोल्न ऊ चाहिन्छ।

कोही छुटेपछि हलुंगो हुनुपर्ने हो। तर मन छुटेपछि उल्टो भयो। म भारी भएँ। अघि इमिग्रेसनको लाइनमा बस्दाभन्दा पनि भारी। जहाजमा चढ्नुअघि लाइनमा बस्दाभन्दा पनि भारी।

‘स्टेसन कति टाढा पर्छ?’ एयरपोर्टबाट निस्किएर मुख्य सडकको गतिमा ट्याक्सी मिसिन थालेपछि सोध्छु। आफ्नो बोली आफ्नो होइन जस्तो लाग्छ। बाहिर गुडेका गाडीहरूको आवाज ठूलो भएर हो?

मन बिना बोलेको भएर रहेछ।

ड्राइभर दाइ जवाफ दिँदैनन्। प्रश्न उनी र म बीचको हावामा कतै हराउँछ। म मनबिनै बोलेको थाहा पाए सायद। मनबाट बोलेको हो कि होइन, कति सजिलै थाहा हुन्छ।

‘हतार हतारै छ दाइ चाँडै जान सकिएला?’ मैले यसरी सोधेको भए हुन्थ्यो। वा हतारमा छु भन्नुभन्दा पहिला उनको घर कता हो, सोधेको भए पनि हुन्थ्यो। घरको प्रश्नले मान्छेलाई घर पुर्‍याउँछ। सहरमा हुनेलाई घर पुर्‍याउने कमै भेटिन्छन्।

मन सँगै भएको भए यस्ता संवाद सजिलै गर्थेँ।

उनले प्रश्न सुनेनन् कि सुनेर पनि जवाफ दिएनन्, थाहा भएन। मैले नसुनिने गरी सोधेको हुन सक्छु वा सुन्ने बेला उनले कसैलाई सम्झिएका हुन सक्छन्। कुरा नसुनिने कारणहरू धेरै हुन्छन्। हुन सक्छ, म जस्तै उनी पनि यस बेला मान्छे मात्रै भएर गाडी कुदाइरहेका छन्। मेरो मनझैं उनको मन पनि कतै हिँडिरहेको छ।

मन अन्तै पुगेका दुई भारी मान्छे बिना कुनै संवाद एउटै गाडीमा गुडिरहेका छौं।

हामीबीच टिकट काट्ने र च्यात्नेको सम्बन्ध छ।

मैले पुग्ने ठाउँसम्मको टिकट काटेको छु। उनले पुर्‍याउँछु भनेर टिकट च्यातेका छन्। टिकटको एउटा अर्धकट्टी उनीसँग छ। अर्को मसँग। अर्धकट्टी उनका लागि कारोबारको प्रमाण हो। मेरा लागि यात्राको। त्यसलाई जोड्न सक्ने भनेको हाम्रो कुराकानीले हो। जुन मन नभएकाले अहिले भएको छैन।

कसले सुरू गर्‍यो यो टिकट च्यात्ने परम्परा? टिकट काटेर हिँड्नेहरू आधा मन पछाडि नै छोडी हिँड्छन् भनेर अर्धकट्टी बोक्न दिएको हो? टिकट च्यात्नेहरू आधा मन कता छोडी हिँड्लान्?

दसैंमा घर जाँदा काटेको टिकटको अर्धकट्टी र घरबाट फर्किँदाको अर्धकट्टी एकैपल्ट सम्झिन्छु। तिनलाई जोड्न खोज्छु। सिंगो टिकट बन्दैनन्। च्यातिएपछि सिंगो बन्न धेरै कुरा असम्भव छ।

‘तपाईंको घर कता नि?’ धेरै बेर चुप लाग्नु परेर यो प्रश्न सोधौं सोधौं भएको छ। तर यो प्रश्न सोध्ने हुनलाई उनले पहिलो प्रश्नको जवाफ दिएको हुनुपर्थ्यो। वा मैले सुरूको प्रश्नभन्दा पहिला यो प्रश्न उनलाई सोध्नुपर्थ्यो।

प्रश्नको सोधाइले जवाफ फरक पर्छ। प्रश्नको ‘अर्डर’ले जवाफ फरक पर्छ।

जे पर्ला सोध्छु भनेर बोल्नै लाग्दा उनको फोन बज्यो। रिङटोन जस्तै फोनको आवाज पनि ठूलै राखेका रहेछन्। उतापट्टीको आवाजले अहिले घर जान मिल्दैन भन्दै फोन काटेपछि उनको अनुहारको उज्यालोमा अकस्मात् बादल लाग्छ। हस् भन्ने इशारा गरेझैं मुन्टो हल्लाएर फोन राख्छन्। मानौं उता बोल्ने मान्छेले उनलाई देखिरहेको छ।

त्यतिन्जेल सँगै बस्दा अनुहारमा उज्यालो घटेको चिन्ने भइसकेछु। तर ‘के भयो दाइ?’ प्रश्न फेरि पनि बनेन। मन भएको भए मलाई नसोधी सोधिसक्थ्यो।

साढे तीन बजेको देखेर हतारिन्छु। हतार गरौं भन्न पनि मनसँगै छैन।

प्लेटफर्ममा जम्बु जाने रेल भेटेर मन मलाई पर्खिरहेको होला। छिटो पुगे पनि म नपुगी ‘लौ आइसकेँ जाऊँ’ उसले भन्न सक्दैन। ‘

एकछिन है मेरो मान्छे आउनै बाँकी छ’ भनेर रेल रोकिराख्न पनि सक्दैन। उसलाई मन हुन म चाहिन्छ। ‘मलाई म हुन…?’

नयाँ दिल्लीको तातो हावा हुर्र गाडीमा छिर्छ।

उनी र म आफन्त होइनौं। यो गाडी उनको होइन। मलाई स्टेसन पुर्‍याउने जिम्मा उनले होइन उनको कामले पाएको हो। काम उनलाई कसैले दिएको हो।

यस बेला हामी एउटै कम्पनमा हल्लिरहेका देखिन्छौं। एउटै ब्रेकले रोकिइरहेका देखिन्छौं। एउटै हतारमा यात्रा गरिरहेका देखिन्छौं। तर हाम्रा आफ्नै कम्पन छन्। आफ्नै ब्रेक छन्। आफ्नै हतार छन्।

मलाई रेल छुट्ने समयले हतार लगाएको छ। उनलाई साहुको फोनले ब्रेक लगाएको छ।

फोन नआउन्जेल उनी घर जान पाउने सम्भावनामा थिए। सम्भावना हुन्जेल आशा हुन्छ। फोन आएपछि सम्भावना सकियो, आशा पनि सकियो। सम्भावना हुँदाको उज्यालो र सकिएपछिको उज्यालो अनुहारमा स्पष्ट छुट्टियो। अनुहार सम्भावना र आशाको ‘डिस्प्ले बोर्ड’ त हो।

उनको डिस्प्ले बोर्डमा कामले बिदा नपाएको सूचना भर्खरै टाँसिएको छ। कामले अर्को कामका लागि बिदा पाएन। कामले अर्को कामका कारण बिदा पाएन।

हामी सबैको अनुहारमा डिस्प्ले बोर्ड छ तर त्यसलाई सबैले पढ्दैनन्। पढ्नेजति सबैले पढेँ भन्दैनन्।

फोन राखेपछि उनी निकैबेर बाहिर हेर्छन्। उनका आँखा गाडीभित्र पसेपछि बोलौंला भनेर पर्खिन्छु। मैले पर्खिरहेको उनलाई थाहा छैन।

‘घरमा उनलाई कसले पर्खिरहेको होला?’ डिस्प्ले बोर्डमा पढ्न खोज्छु। अक्षर नबुझिने भइसकेका छन्।

पछाडिबाट आएको एउटा प्राइभेट गाडी बेस्सरी हर्न बजाउँछ। उनी गति कम गर्छन् र साइड दिन्छन्। गाडी एकछिन बत्तिएर अरू गाडीको गतिमा हराउँछ।

ऊ साँच्चै हतारमा थियो?

वा यो गाडीले मलाई बाटो छोड्नुपर्छ भनेर हर्न ठोकिरहेको थियो?

के हतार गर्ने सबै मान्छेहरू साँच्चै हतारमै हुन्छन्?

कि हतारमा छु भन्ने देखाउन हतार गर्छन्?

के म पनि साँच्चै हतारमा छु?

पर आकाशमा दौडिएका चराहरू बत्तिएर हामी कुदिरहेको बाटो काट्दैछन्। म दाहिने झ्यालबाट उड्दै गएका तिनलाई देब्रे झ्यालसम्म पछ्याउँछु।

के ती पनि हतारमा थिए?

‘आफ्नै बिर्ता ठान्छन् सालाहरू,’ बाहिर हेरिरहेको म ड्राइभर दाइको झोंक्किएको बोलीले झसंग भएर भित्र हेर्छु। पछ्याइरहेका चराहरू बादल बन्छन्।

दाइ कोसँग झोंक्किए? गाडीलाई जित्ने युवकसँग कि गाडीलाई रोक्ने मालिकसँग? प्रश्नको जवाफ मिलेन तर उनको झोंक मतिर सर्‍यो।

काठमाडौं एयरपोर्टमा दुई घन्टा पहिला आइपुगेर चेकजाँच सकेको थिएँ। वेटिङ रूममा लगभग एक घन्टा पर्खिएपछि एयर इन्डिया आयो। तर टर्मिनलबाट सिधै जहाजमा पुग्न पाइएन। जहाज चढ्ने सिँढीमै भारतीय कर्मचारीले सबै यात्रुको सुरक्षा जाँच दोहोर्‍याए। झोला खानतलासी गरे। लगभग आधा घन्टा खुला आकाशमुनि उभिएपछि बल्ल पालो आयो।

आफ्नै देशको विमानस्थलबाट उड्ने विमानमा चढ्न आफ्नै देशको बिमानस्थलको सुरक्षा विश्वासनीय भएन। पटकपटक दिल्ली जानेहरू एयर इन्डियामा उड्छन् कि उड्दैनन्?

त्यसरी दोहोरो जाँचमा नपरेको भए म कम्तीमा आधा घन्टा पहिला दिल्ली आइपुग्ने थिएँ। स्टेसन पुग्न यस्तो हतार हुने थिएन। मन मलाई छाडेर दौडिने थिएन। ड्राइभर दाइसँगको कुराकानी अर्कै हुने थियो।

उनको झोंकले मेरो झोंक पनि बल्झियो। आँखा जुधे। अब हामी बीच झोंकको नाता जोडिएको छ। रिस यसरी नै झोंक बनेर कतिको साथमा बसिरहेको होला? को-कोसम्म सरिरहेको होला? झोंक चलाउनेलाई यसका बारेमा कति थाहा हुन्छ? कि सडकमा झोंकको महामारी फैलिएपछि मात्र थाहा पाउँछन्?

एक पटक पढ्नुहोस