त्यो मखमली पर्स

दश वर्ष अगाडि म बिहे गरेर आउँदा उहाँले आफूले बोक्ने लेदरको पर्स यताउति ओल्टाइपल्टाई गर्दै मलाई भन्नुभएको थियो– अग्नि, मलाई यो पर्स एकदमै प्यारो लाग्छ। कुनैबेलामा कसैले प्रेमपूर्वक दिएको उपहार हो यो। उनी कहाँ छिन् थाहा छैन तर पर्स चाहिँ मसँग छ।

उहाँले यसरी आफ्नो नवदुलहीसँग पुरानो प्रेमको चर्चा गर्न हिच्किचाउनु भएन। प्रेमको सुरूआत सच्चाईबाट गर्नुपर्छ होइन र? म केही नबोलेपछि उहाँले मलाई यो प्रश्नले बोलाउनुभयो।

हो, हो बाहेक मेरो मुखबाट केही निस्केन। र, खासमा भन्नुपर्दा मलाई त्यो पर्समा त्यति धेरै चासो पनि थिएन । चासै नभएपछि के धेरै कुरा गरिरहनु भनेर मैले पनि उहाँको कुराहरूमा थप अरु प्रश्न केही गरिनँ।

त्यस्तै, बिहे गरेको एक हप्तापछि उहाँले त्यो पर्स भित्रको फोटो फ्रेममा हामी दुई जनाको बिहेको फोटो राख्नुभयो। फोटो देखाउँदै भन्नुभयो, हेर त अग्नि, बल्ल पर्सलाई सुहायो।

हो यो चाहिँ सुहाएको जस्तो भयो। फोटो आँखाको नजिक ल्याउँदै भने–कस्तो गजबको फोटो आएछ है हाम्रो? बल्ल मलाई यो पर्स मन पर्‍यो।

मेरो जवाफले उहाँ मुर्छा परेर हाँस्नुभयो। मैले हाँसोको तात्पर्य बुझिहालेँ। अनि हामी दुवै मज्जाले हाँस्न थाल्यौं।

कहिलेकाहिँ उहाँको मायामा कमी भएको जस्तो लाग्यो भने म त्यतिकै त्यो पर्सलाई हातमा सुमसुमाएर बस्थें। मेरो मनको भाव बुझेर उहाँ भन्नुहुन्थ्यो– अग्नि, धेरै नसुमसुमाऊ है त्यो छालालाई, मलाई ईर्ष्या भयो। तिम्रो त्यो कोमल औंलाले मेरो कपाललाई तेल लगाउँदै मसाज गरेको मात्रै सुहाउँछ।

उहाँले मायाले यत्ति भनेपछि मलाई सर्वस्व नै भइगो।

बिहानीको किरणले सूर्यमूखी फर्किदैं आएझैं मेरो मन पनि खुसीले फुकी हाल्थ्यो।

समय बित्दै गयो जति जतन गरेर बोके पनि पर्स पुरानो हुँदै गइहाल्यो। पर्सको भित्री भाग त राम्रै थियो तर बाहिर झन् एकदमै पुरानो देखिन थाल्यो।

पर्सको छेउछेउमा त छाला खुइलिएर भित्री सेतो भाग मात्रै देख्न थालिसकेको थियो। उहाँको पर्स देखेर मलाई नै लाज लाग्न थाल्यो।

उसो त उहाँको वर्थडे र हाम्रो एनिभर्सरीको मौका पारेर उहाँको लागि साथीहरूले नयाँ पर्स नल्याइदिएको पनि होइन्न, तर उहाँले ती कुनै पनि पर्स बोक्ने इच्छा नै राख्नु भएन। ती सबै पर्स त उहाँले भाइ , दाइ र अरु साथीहरूलाई बाँडिदिनुभयो। त्यसैले पनि मैले उहाँलाई नयाँ पर्स किनेर ल्याइदिने हिम्मत गरिनँ।

तर एउटा प्रश्न भने गरें– यदि यो पर्स कामै नलाग्ने गरी च्यातियो भने के गर्नुहुन्छ हजुर ?

उहाँले आफ्नो पाइन्टको खल्ती देखाउँदै भन्नुभयो – यी गहिरो चार चारवटा खल्ती कतिखेर काम लाग्छ त ? विचरा अहिलेसम्म पर्सको भारी बोक्यो त्यसपछि पनि पर्सभित्रको चीजको जिम्मेवारी लिइहाल्छ नि।

उहाँको जवाफले मेरो मन सन्तुष्ट पारेन। उहाँको वर्थडे पनि आउँदै थियो। उहाँ त यस्तै हो ह्या चलिराकै छ चलिरहन्छ नै भन्नुहुन्छ तर एउटा पर्स म आफैं किनिदिन्छु भनेर बजारबाट पर्स किनेर ल्याए। बर्ड डेको ‘इभ’ मा सरप्राइज दिन्छु भनेर त्यो पर्स मेरो ब्यागमा नै राखिछोडेकी थिएँ।

तर वर्थडे आउनुभन्दा केही दिन अगाडि उहाँले बर्थ  डेको दिन मैले छुट्टी लिएको छु। तर ‘इभ’ चाहिँ अफिसको साथीहरूसँग मनाउनु पर्ने भयो भन्नुभयो।

यति कुरा पनि नबुझ्ने के जीवन संगीनी भनेर मैले कुनै आपत्ति जनाइनँ।

तर पनि म रातिको बाह्र बजे कुरेर नै बसे र बाह्र बज्ने बितिक्कै उहाँलाई फोन गरे। उहाँले फोन उठाउनुभएन। फेरि फोन गरेँ, फेरि पनि उठाउनुभएन। पाँच मिनेटपछि आफैंले फोन गर्नुभयो, मनमा उब्जेको रिस शान्त पार्दै बर्थ डे ‘विस’ गरेँ।

उहाँलाई मसँग कुरा गर्नुभन्दा पनि फोन राख्न हतार थियो।

‘म साथीहरूसँग अझै पार्टीमा छु। आउँदा दुई जति बज्छ होला। तिमी सुत है,’ एक सासमा यति भनेर उहाँले फोन राख्नुभयो।

‘पार्टीमा भएको मान्छेको ब्याकग्राउण्डमा केही आवाज आएन नि,’ मैले सोधेँ।

‘अघि होहल्लामा भएर तिम्रो फोन त सुनिनँ। त्यसैले शान्त ठाउँमा आएर बोलेको। ल ल राख। म एकछिनमा यहाँबाट हिँडिहालेँ।’

उहाँ नआउन्जेल न मनमा शान्ति भयो न आँखामा।

अनि त्यस्तै दुई बजे गेटमा आवाज आयो। पक्कै उहाँ हुनुहुन्छ भनेर मैले फ्रिजबाट केक निकालेर टेबलमा राखेँ। टेबल पुष्प र बेलुनहरूले पहिले नै सजाइसकेकी थिएँ। मैले गिफ्ट पनि त्यही केक नजिकै राखेँ अनि मूल ढोका खोल्न गएँ।

उहाँको मुखबाट स्याम्पियनको गन्ध आइरहेको थियो। सेलिब्रेसन राम्रो भएछ जस्तो लाग्यो। जुत्ता पनि राम्ररी खोल्न नदिई उहाँको हात समात्दै भित्र लिभिङ रूममा लगेँ। त्यहाँको सबै बत्ती बालेर रातको दुई बजे नै भए पनि यो सबै सर्प्राइज दिएँ।

उहाँलाई केकको अगाडि राखेर केक काट्न भनेँ। उहाँले ‘केक भोलि छोराछोरीका अगाडि काटौंला नि ल’ भन्नुभयो।

मैले भने, ‘बच्चाबच्चीले आफैंले मन पराएको सानो केक पनि ल्याएका छौं। उनीहरूले त्यो केक भोलि काट्ने, बाबा आइसेपछि हजुर यो केक काट्नु भनेकाले यो तयारी गरेको। नत्र १२ बजे यी दुवै केक एकैपटक काट्ने कुरा थियो।’

‘दुवै केक भोलि काटौंला नि त छोराछोरीका अगाडि,’ उहाँले जिद्दी गर्नुभयो।

‘कुनै कुनै क्षण त मलाई पनि तपाईंको श्रीमती मात्रै भएर बाँच्न मन हुन्छ नि बाबै। सारा संसार भुलेर,’ म भावुक भएर यो शब्द बोलिदिहालेँ।

उहाँ मुसुक्क हाँस्नुभयो। छोराछोरीको कोठामा जानुभयो। सुतिरहेको छोराछोरीको निधारमा म्वाइँ खाएर तल सरेको ब्ल्यांकेट माथि सारिदिनुभयो।

मलाई उत्तिन्नैखेर मनमा हिनताबोध भयो। अघि बोलेको शब्दमा पश्चताप भयो। उहाँको छोराछोरीप्रति यति धेरै अपार माया देखेर मनमा उहाँप्रति झन् सम्मान बढ्यो। उहाँको झन् विछ्ट्टै माया लागेर आयो।

अनि उहाँको कुराको मान राख्दै केक फ्रिजभित्र राखेँ तर गिफ्ट चाहिँ दिएँ।

‘अब यो गिफ्ट पनि छोराछोरी उठेपछि खोल्छु नभन्नु ल। उनीहरूले नै र्‍याप गरेर यो सबै बर्थ डे मेसेज लेखिदिएका हुन्।’

त्यसपछि उहाँ मेरो उपहार खोल्न थाल्नुभयो। मेरो उपहार देख्ने बित्तिक्कै उहाँको अनुहारको भाव तुरून्तै बदली हाल्यो। न हर्ष न विष्मात्। कस्तो अचम्मको भाव थियो त्यो।

‘मन परेन बाबालाई?’ मैले उहाँको कपाल सुमसुम्याउँदै सोधेँ।

उहाँले मुन्टो हल्लाउँदै भन्नुभयो, ‘मन पर्‍यो। तर आज मलाई अफिसका साथीहरूले पनि पर्स नै उपहार दिएका थिए। कस्तो संयोग भनेर अचम्म मात्रै लागेको हो। यी हेर त, यही पर्स हो।’ उहाँले गोजीबाट नयाँ पर्स निकालेर देखाउनु भयो।

मन खिन्न भयो। पर्स कहिल्यै बदल्दिनँ भनेको उहाँले एक क्षणमा नै पर्स बदल्नुभयो। कस्तो निष्ठुरी मन। मनमनै भनेँ।

अब अरूले दिएको पर्स बदली सकेपछि मैले किनिदिएको पर्सको केही औचित्य नै भएन नि भनेर मैले मेरोवाला पर्स फुत्त सोफामा फ्याँकिदिएँ। उहाँले त्यो मैले फ्याँकेको पर्स टिपेर ‘ल ठिकै छ नि, तिमीलाई खुसी बनाउन भए पनि म तिमीले दिएको पर्स बोक्छु नि त’ भन्नुहुन्छ भन्ने ठूलो आशा थियो।

र, त्यो पर्स र म उहाँको जवाफको पर्खाइमा थियौं। तर विडम्बना उहाँले केही प्रतिक्रिया नदिई मोबाइल चलाउन थाल्नुभयो।

‘अनि पुरानो पर्स खै त?’ रिस मनमा दबाएर नै बोलेँ।

‘ऊ त्यो अफिसको झोलामा छ।’

उहाँले बोक्नुभएको नयाँ पर्स हेर्नभन्दा पनि पुरानो पर्स खोतल्न थालेँ। हामी दुईको तस्बिरबाहेक अरू सबै सामान नयाँ पर्समा सरेको रहेछ।

पर्स बदल्ने भन्ने थाहा पाएको भए उहिल्यै नयाँ पर्स किनिदिन्थे नि- म मनमनै गुन्गुनाउन थालेँ।

‘अनि पर्समा सबै सामान सारेपछि यो फोटो चाहिँ किन बाँकी राखेको नि,’ मैले अलि आवाज ठूलो बनाएर सोधेँ।

अब नयाँ पर्समा छोराछोरीसहित हामी चार जनाको फोटो राख्ने भन्नुभयो।

मन फेरि क्षणभरमा नै फुरुंग भइहाल्यो। त्यो नयाँ पर्ससँगै हाम्रो जीवन पनि चलिनै रह्यो।

नयाँ पर्स आएको एक वर्ष उहाँ अफिसको काममा एकदमै व्यस्त हुनुभयो। अफिसको कामले उहाँ घरभन्दा पनि बढी बाहिर हुनुहुन्थ्यो। कहिले कुन जिल्ला, कहिले कुन। एक-दुई पटक त सिंगापुर र दुबई पनि जानुभयो, अफिसकै कामको सिलसिलामा।

एकदिन अफिसबाट उहाँ एकदमै चिन्तित अवस्थामा घर आउनुभयो र अचानक भन्नुभयो, ‘तिमीले अस्तिनै ल्याइदिएको त्यो पर्स ल्याऊ त। यो पर्स फापेन मलाई।’

तर मैले त्यो पर्स त मेरो भाइलाई दिइसकेकी थिएँ। ‘तेरो भिनाजुलाई ल्याइदिएको, बोक्नुभएन। तँ बोक है’ भनेर मैले त उसलाई उहिल्यै दिइसकेकी थिएँ।

मैले यही कुरा उहाँलाई सुनाएँ।

‘त्यसो भए भैगो, यही खल्तीले बोक्छ पर्सको भार अब’ भनेर उहाँले पर्सबाट सबै सामान निकालेर पाइन्टको खल्तीमा राख्नुभयो।

त्यो पर्समा हामी चार जनाको फोटो राख्ने कुरा पनि अब अधुरै रह्यो। यत्रो एक वर्षमा हाम्रो परिवार किन त्यो पर्समा अटाएन भनेर सोध्न पनि मन थियो। तर ह्या बेक्कारको प्रश्न गरेर किन तनाव सृजना गर्ने भनेर यसपटक पनि म केही बोलिनँ।

उहाँले त्यो पर्सको छेउमा कुँदेको कम्पनीको लोगो देखाउँदै भन्नुभयो– अग्नि, यो पर्स अझै नयाँ नै छ। साथीहरूले मेरा लागि विदेशबाट प्रेमपूर्वक मगाएको महँगो पर्स हो यो। फाल्न पनि माया लागेको छ। बरु कसैलाई दिइदेऊ है। तिम्रो भाइले बोक्छ भने पनि सोध तर यो पर्स घर बाहिर नै होस्।

त्यतिखेर उहाँको अड्कीअड्की निकालेको शब्द र कतै रुद्रघन्टीमा अल्झिएको आवाजले मलाई अनौठो आभाष दियो। पक्कै पनि मनमा गहिरो चोट परेको हुनुपर्छ भन्ने कुरामा दुईमत रहेन।

‘त्यत्रो बर्थ डे इभ मनाएर, अफिसका साथीहरूले दिएको यस्तो महँगो उपहार बोकेको नदेख्दा साथीहरू रिसाउलान् नि फेरि?’ मैले उहाँको मन चोर्न यो प्रश्न गरे।

‘रिसाउने साथीहरू अब काम गर्दैनन् र सायद अब भेट पनि हुँदैन होला,’ यति भनेर उहाँ कोठाभित्र जानुभयो।

यो जवाफलाई खोतलेर धेरै प्रश्नहरू गर्न मन थियो। तर सोधिनँ। जहिले पनि प्रश्न गर्नबाट म रोकिन्छु। बिहेको रात त्यसरी निर्धक्क आफ्नो प्रेम इतिहास बताउने मेरो लोग्नेले मसँग केही कुरा लुकाउँदैनन् र ढाँट्दैनन् भन्ने कुरामा म ढुक्क थिएँ। अनि यी सबै मेरो मनमा उब्जेका भ्रमित प्रश्नहरू हुन् जसको कुनै तुक छैन भन्ने मात्रै लागिरह्यो।

सधैं पर्स बोकेर हिँड्ने उहाँले त्यसरी खल्तीमा सामान मात्रै राखेर हिँडेको मलाई चित्त बुझेन। त्यसैले पनि त्यही हप्ताको शनिबार म पुरानो पर्स साथमा राखेर त्यस्तै अर्को पर्स खोज्न बजारतिर गएँ। धेरै पसल चहार्दा पनि गतिलो र मन पर्दो कुनै पर्स भेटिनँ। तर पुरानो पर्सलाई मर्मत गरेर नयाँ बनाउने पसलमा चाहिँ मेरो आँखा गयो।

पसलमा मैले पुरानो पर्स देखाएँ। पसलेले पर्स दायाँबाँया हेर्दै ‘प्योर छालाको रैछ त है दिदी’ भन्यो।

‘यसको मर्मत गर्नुपर्यो भाइ, बरु कति पैसा लाग्छ,’ भनेँ।

‘दिदी यसको बाहिर म घोडाको छाला लगाइदिन्छु। यी हेर्नुस् त खैरो मखमली घोडाको छाला हो यो,’ कुनाबाट एउटा म्याट जस्तो ठूलो चिज निकाल्दै, ‘छुनुस् त, दिदी छुनुस् कति नरम र मखमली छ भनेर देखायो।’

पसले भाइले जबर्जस्ती मलाई त्यो घोडाको रौंसहितको छाला छुनै लगायो। कुनै कपासलाई छोएको जस्तो महशुस भयो।

‘पैसा महँगो होला। भयो,’ भनेर मैले पर्स फिर्ता मागेँ।

‘पैसाको चिन्ता नगर्नु न दिदी। हेर्नुस् त पुरानो पर्सहरूलाई यी छालाले मर्मत गर्दा कस्तो राम्रो देखेको’ भन्दै उसले अन्य एक-दुईवटा फोटो र डिस्प्लेमा राखेका पर्सहरू देखायो।

‘भाइ यो खाँट्टी छाला त होइन जस्तो छ। प्लास्टिकको होला, फेरि केही दिनमै खत्तम भयो भने? भइगो’ भनेर मैले फेरि आनाकानी गरेँ।

भाइले घोडाकै छाला हो भनेर मलाई हरतरिकाले मनाउन थाल्यो। विचरा यति धेरै बोल्यो, ठीकै छ नि कति मूल्य पर्छ भनेर सोधेँ।

भाइ ‘मूल्य पछि गरौंला, पहिला पर्स ठीक बनाउने स्वीकृति दिनुस्’ भन्न थाल्यो।

‘फेरि बनाइसकेपछि धेरै मूल्य भन्लाऊ। बरु मूल्य भन अनि मात्रै बनाउन थाल।’

भाइले पाँच औंला देखाउँदै भन्यो, ‘दिदी अरुलाई सात हजार, तपाईंलाई चाहिँ पाँच हजार।’

‘न म तिम्रो आफ्नो दिदी, गोरु बेचेको साइनो त छैन। भर्खरै भेटेको ग्राहकलाई किन यसरी अरुलाई यति तपाईंलाई चाँहि यति भनेर मूल्य गर्छौ? पाँच हजारमा त ब्राण्डेड नयाँ पर्स नै आउँछ। भयो,’ भनेर मैले पर्स फिर्ता मागें।

उसले चार हजार भन्यो, मैले मानिनँ।

ऊ घटाउँदै घटाउँदै पच्चीस सय सम्म पुग्यो। मैले दुई हजारभन्दा बढी एक सुक्का पनि दिन्न भनेपछि अन्तिममा घाटा आएर भए पनि गरिदिन्छु भनेर पर्स मर्मत गर्न थाल्यो।

दुई हजार पनि बढी तिरेँ कि जस्तो लाग्यो। तर मायाको अगाडि केको पैसाको तुलना भनेर पर्स मर्मत गराएँ अनि घर लगेँ।

बेलुका अफिसबाट आउनुभएपछि मैले उहाँलाई पर्स देखाएँ। उहाँले पर्स हेरेपछि नयाँ हो कि पुरानो हो भनेर छुट्टाउन सक्नुभएन। कस्तो राम्रो मखमलको पर्स भनेर ओल्टाइपल्टाइ हेर्नुभयो। उहाँले यसरी नै यही पर्सलाई दश वर्षअगाडि हाम्रो बिहेको रात हेर्नुभएको थियो।

मैले भित्तामा झुण्डाएको पाइन्टको खल्तीबाट सबै सामान झिकेर त्यही मखमली पर्समा राखिदिएँ। छोराछोरीलाई पनि त्यो मखमली पर्स खुब मन परेछ। घरमा सबैले त्यो पर्सलाई मखमली पर्स भनेर सम्बोधन गर्न थाले।

‘पर्स कतै भेटिएन, अग्नि, खै मेरो मखमली पर्स खोजिदेऊ न’ भन्न थाल्नुभयो।

छोराछोरीले पनि, ‘ड्याडी हजुरको मखमली पर्स यी लिस्यो’ भन्न थाले।

त्यो मखमली पर्ससँगै जीवन पनि मखमली भइरहेको थियो। एकदिन मैले त्यो पर्स सुमसुम्याउँदै गर्दा उहाँले भन्नुभयो– तिम्रो कोमल औंलाले त्यो मखमल छुँदा त्यसमा झन् बढी रङ चढ्यो।

यति वाक्यले मेरो मन ढक्क फुलिहाल्यो।

एकदिन गाउँबाट सासूले फोन गर्नुभयो, ‘छोरालाई यो वर्ष साढे सातको दशाले छोएछ बुहारी। तिमीले त्यसका लागि पूजा, पाठ, ध्यान, व्रत, दान गर्नुपर्ने भयो। यो सालको हरेक सोमबार पानी पनि नखाई तिमीले व्रत बस्नुपर्छ भनेको छ पण्डितले। अनि साउनभरि घरमा लसुन, प्याज, माछा, मासु केही नभित्र्याउनु पनि भनेका छन् पण्डितले।’

सासूको आज्ञा शिरोधार्य गरेँ। सासूले व्रत बस्ने,पूजा–पाठ, दान गर्ने सबै विधी सिकाउनु भएपछि त्यही अनुरुप मैले गर्दै गएँ।

घरपरिवारको उन्नति, प्रगति र श्रीमानको ग्रहदशा मेटाउन म जे पनि गर्छु भनेर मैले सासूले भनेअनुसार वर्षैभरी हरेक सोमबार पानी पनि नखाई व्रत लिएँ।

त्यो वर्ष साउनमा पाँच सोमबार परेको थियो। यो साउन महिना झन् मैले कठोर व्रत गरेँ। दुई किलोमिटरको मन्दिर म खाली खुट्टा हिँडेर जान थालेँ।

चौथो सोमबारको व्रतमा पनि म मन्दिर खाली खुट्टै गएँ। पूजा सकेपछि उहाँ मलाई मोटरसाइकलमा लिन आउनुभयो। मेरै करले मन्दिर एक परिक्रमा पनि लगाउनुभयो त्यो दिन।

घर आएपछि उहाँले आफ्नो पर्स खल्तीमा छाम्नुभयो। तर पर्स भेटिएन। घरभरि सबै खोज्यौं, पर्स भेटिएन। मोटरसाइकल लिएर उहाँ मन्दिर जाने बाटोदेखि मन्दिरको वरिपरि सबैतिर पर्स खोज्नुभयो तर पर्स भेटिएन। पर्स हराएको पुलिसलाई पनि खबर गर्यौं। मखमली पर्स हराउँदा एकहप्ता हामी पूरै तनावमा भयौं।

आफू तनावमा भए पनि उहाँलाई सम्झाएँ– तनाव नलिनू, म फेरि त्यस्तै मखमली पर्स बनाएर हजुरलाई दिइहाल्छु नि।

उहाँ तनावमा नै बोल्नुभयो, ‘तर त्यो पर्स मेरा लागि विशेष थियो। त्यो पर्स हराउनु हुँदैनथ्यो।’ यति मात्रै भनिरहनुभयो।

भगवान मखमली पर्स भेटियोस् भन्दै मनमनै पर्स जप्दै म पाँचौ सोमबार पनि खाली खुट्टा हिँडेर नै मन्दिर गएँ। सदाझैं उहाँ मलाई मन्दिरमा मोटरसाइकलमा लिन आउनुभयो। म मोटरसाइकल के चढ्न खोजेकी थिएँ परबाट एकजना दिदी बहिनी पर्खनुस् भन्दै दौंडिदै आउनुभयो।

उहाँले आफ्नो ब्यागबाट त्यही मखमली पर्स निकाल्दै तपाईंको श्रीमानको पर्स जस्तो छ, लिनुस् भनेर हातमा थमाइदिनुभयो। तपाईंहरूको भित्र फोटो हेरेर चिनेको पनि भन्नुभयो। अघिल्लो सोमबार ऊ त्यही कुनामा खसेको रहेछ, म पूजा गरेर फर्कंदा भेटेको भन्दै मन्दिरको एकछेउ देखाउनुभयो।

बहिनी तपाईंलाई मन्दिरमा चाहिँ देखिरहेको तर नाम, ठेगाना, फोन नम्बर केही थाहा थिएन। पर्स खोतल्न पनि डर लाग्यो । बरु पक्कै यो सोमबार आउनुहुन्छ अनि भेट भए दिइहाल्छु भनेर पर्स बोकेर ल्याएको। बहिनी पर्स जस्ताको त्यस्तै छ है नपत्याए हेर्नु भन्नुभयो।

‘कहाँ दिदी हामीले त आशै मारेका थियौं। धन्य हजुरको हातमा पर्‍यो’ भन्दै दिदीलाई धन्यवाद पनि भनेँ।

मेरो हातमा रहेको पर्स उहाँले हत्त न पत्त लिएर पर्सको भित्र कुनामा आँखा तन्काइ तन्काइ हेर्नुभयो र आफैं मुसुक्क हाँस्नुभयो। उहाँले त्यसरी हेरेकोमा मलाई अप्ठ्यारो पनि लाग्यो। अलि असजिलो महशुस भयो। बरु त्यसरी घर गएर हेरेको हुने जस्तो लाग्यो।

उहाँ पर्स हेरेपछि ढुक्कको सास फेर्दै त्यही पर्सबाट दिदीको पूजा थालीमा हजारको नोट राखेर मेरो तर्फबाट भगवानलाई चढाइदिनु भन्नुभयो।

आफूले यस्तो असल श्रीमान पाएकोमा भाग्यमानी ठानेँ। कस्तो जानेको, कस्तो बुझेको भनेर म दंग भएँ।

मलाई घरको गेटमा छोडेर उहाँले भन्नुभयो- म आज अफिस अलि ढिलो जान्छु। त्योभन्दा पहिला मेरो एउटा सानो एक घण्टाको काम बाहिर छ। म सकेर आउँछु तिमी खाना पकाएर बस्नु नि है।

उहाँका लागि भनेर त्यो दिन आलु तारीतारी मीठो खाना पकाएर बसेँ।

एक्कासि पानी परेकोले उहाँ त्यस्तै डेढ घण्टापछि भिज्दै आउनुभयो। पर्स र मोबाइल त्यही सोफामा राखेर उहाँ नुहाउन जानुभयो।

नुहाउन जाने बित्तिकै उहाँको मोबाइलमा लगातार पाँच वटा मेसेज बज्यो। अरू बेला म उहाँको मोबाइलको फोन र मेसेज हेर्थिनँ तर थाहा छैन त्यो दिन के भयो। त्यो आएको मेसेज हेर्न मन लाग्यो। अरू बेला मेसेज-फोन आयो भने म उहाँ जहाँ भए पनि बोलाएर मोबाइल दिन्थेँ। तर त्यो दिन उहाँलाई बोलाउन मन लागेन। आफैं उहाँको त्यो मेसेज हेरेँ।

मोबाइलमा त्यो मेसेज देखेर म छांगाबाट खसेजस्तै भएँ।

एउटी युवतीले गलामा सुनको सिक्री लगाएको सेल्फी पठाएकी थिइन्।

त्यससँगै लेखिएको मेसेज थियो- ‘सरी बेबी, तिमीले घर पुगेपछि फोन, मेसेज, केही नगर भनेको थियौ। तर हेर न कस्तो राम्रो तिम्रो सुनको सिक्री उपहार।

फोटो नपठाइ बस्नै सकिनँ। सरी, तर हेर न मलाई कस्तो सुहाएको।

धन्न तिम्रो पर्स भेटियो नत्र यस्तो राम्रो मेरो गिफ्ट नै नपाइने रहेछ।

आइ लभ यू मेरो बेब्बु।’

मेरो शरीर काँप्न थाल्यो। मलाई वाकवाकी लाग्न थाल्यो। रिंगटा लागेर म सोफाको भुइँमा नै थचक्क बसेँ। हात काम्न थाल्यो। मुख, तालु सबै सुक्यो। अरू पनि मेसेज हेर्न खोजे तर माथि केही मेसेज थिएन। सायद हरेक पटक डिलिट हुँदो रहेछ।

मैले के सूरमा लेखेँ, थाहा छैन तर त्यो मेसेजको रिप्लाई दिएँ– तिमीलाई साँच्चै मन पर्यो?

‘तिमीले मन्दिरकै धागो ल्याए पनि मलाई मनपर्छ माई लभ। यो त झन् कस्तो महँगो सिक्री छ’ उसको जवाफ आयो।

मैले त्यसपछि केही लेख्नै सकिनँ। मैले पूरै मेसेज डिलिट गरेँ।

फोन नजिकैको मखमली पर्सलाई हेरें। एकदमै बेबारिसे लाग्यो। पानीले मखमली पर्स भित्रको हाम्रो फोटो पनि भिजेछ। अब निकालेर सुकाउन मन लागेन। योसँगै त्यो अफिसले दिएको पर्सको उपहार पनि याद आयो र एक वर्षमा नै त्यो फ्याँकेको पनि याद आयो।

दशा ऊ बोकेर हिँड्ने अनि मेटाउनु मैले पर्ने? मनमा यो नै आवाज गुन्जिरह्यो। मैले बनाएर ल्याइदिएको मखमली पर्स हराएकोमा होइन त्यसभित्र भएको सिक्रीले उहाँको मनपेट पोलेको रहेछ भन्ने भयो। मनमा नानाथरी कुरा खेल्दै यी आवाज मनमा बेस्सरी गुन्जेको गुन्जै गर्यो।

म हुत्तिएर भान्सामा गएँ। तोड सहन नसक्दा एकछिन मेरो सबै होस नै हरायो। अब के गर्ने कसो गर्ने भन्ने नै थाहा भएन। एकपलमा नै सबै कुरा नौला लाग्न थाल्यो। एकक्षणमा नै सर्वस्व गुमाएँ जस्तो भयो।

उहाँ नुहाएर भान्सामा खाना पस्क भन्दै आउनुभयो। साउनको गर्मीमा पनि माघको जाडो झैं म काप्न थालेँ। मेरो शरीर नै पूरै चिसो भयो। ऐंठन भयो मेरो शब्दहरूलाई। केही आवाज नै निस्कन छोड्यो।

मेरो यो हालत देखेर उहाँले तिमीलाई सन्चो छ भनेर सोध्नुभयो। मैले केही प्रतिक्रिया दिइनँ। यो सबै व्रत बस्दा भएको कमजोरी हो तिमी जाऊ आराम गर, म आफैं खाना पस्केर खान्छु भन्नुभयो।

म एकबेर पनि नलागी कोठामा गएर ब्ल्यांकेटले मुख थुनेर सुतेँ।

सासूले व्रत बसेको दिन दिउँसो नसुत्नू भन्नुभएको थियो। तर रूँदारूँदा थाकेर कतिखेर भुसुक्क निदाएँ थाहा भएन। निन्द्राबाट उठेपछि एक प्रकारको मनमा हल्का महशुस भयो। यत्रो वर्ष सुतिरहेको रहेछु बल्ल ब्युँझिएँ भन्ने भयो।

साँझ पाँच बजे घरको मन्दिरमा भगवान शिवको अगाडि साँझको बत्ती बालेँ र भगवानलाई व्रत सफल भएकोमा धन्यवाद दिएँ। जसको लागि व्रत बसेको, उसैको असली चरित्र देख्न पाइयो, योभन्दा ठूलो बरदान के होला भनेर म खुसी पनि भएँ। यसरी सधैं साथ दिइरहनु भनेर भगवानलाई आग्रह पनि गरेँ।

पूजा सकेपछि बेलुकीको खानाको लागि म किनमेल गर्न बजार निस्किएँ। मसरुम र एक किलो खसीको मासु ल्याएँ। प्याज, अदुवा लसुन, गरम मसला र तोरीको तेलमा मासु केही घण्टा मोलेर राखेँ। दाल भात, मसरुमको तरकारी गोलभेँडाको अचार पनि बनाएर राखेँ। सासूले सिकाउनुभएको अर्को नियमविपरीत पनि गएँ।

उहाँ आउने बेलामा मासु बसालेँ। घरभरि मासुको गन्ध फैलियो। उहाँ हातमा मिठाइ र फूलको गुच्छा बोकेर आउनुभएको रहेछ।

नाक सुँघसुँघ गर्दै भान्सामा पस्नुभयो।

‘साउन सकिन अझ दुई दिन बाँकी छ, मासुको पो गन्ध छ त अग्नि’ उहाँले टेबलमा मिठाइ र फूल राख्दै भन्नुभयो।

उहाँले यो पनि भन्नुभयो- म हात गोडा धोएर आउँछु तिमी मलाई टीका लगाइदिने तयारी गर्नू।

पहिला यही कुरा मायाले आग्रह गरेजस्तो लाग्थ्यो। अहिले यही कुरा निर्देशन दिएजस्तो लाग्यो।

उहाँ हात गोडा धुन जानुभयो तर मैले आफ्नो थालमा भात, तरकारी अचार राखेँ अनि एउटा कचौरामा दाल र अर्को कचौरामा मासु राखेँ।

आँसु थाम्छु भन्दा पनि थामिएन। आँसुसँगै यो सबै खाना मिसाएर खान थालेँ।

उहाँ भान्साको ढोकाबाट मलाई पुलुपलु हेरिरहनुभएको थियो। मैले पनि मेरो राताराता आँसुले सुन्नेको आँखा उहाँतिर पल्टाएँ।

मेरो नजिक आएर उहाँले भन्नुभयो– ‘के भयो तिमीलाई? झन् आज अन्तिम सोमबार, तिमीले मेरा लागि कठिन व्रत बस्यौ भनेर यो सिक्री उपहार ल्याइदिएको छु। तर तिमी किन यस्तो अवस्थामा?’

उहाँले प्रश्न सोध्धै मेरो गलामा सिक्री लगाउन तम्सिनुभयो। त्यतिखेर उहाँ मेरो गलामा फाँसी बाँध्न आउनुभयो जस्तो लाग्यो अनि जुठै हातले उहाँलाई बेस्सरी धकल्दिएँ। अनि चिच्चाएर एकपटक रोएँ।

रोएको आवाज फेरि छोराछोरी र छिमेकीले थाहा पाउलान् भनेर मैले मुखमा खानाको बुजो हाल्न थालेँ। दुःखमा यति धेरै हालेछु कि वान्ता नै आयो।

त्यसपछि बल्ल उहाँले सोध्नुभयो– बिहान तिमीले मेरो मेसेज हेर्नु हुन्थेन।

मलाई झन् सहनै नसक्नेगरी रिस उठ्यो। अनि मैले त्यही अगाडिको बेसिनबाट उहाँको मुखमा थुकिदिएँ र आफ्नो मोबाइल बोकेर माथि छतमा गएँ।

मोबाइलमा भाइको भिडिओ मेसेज आयो।

भिडिओ कोरोनासम्बन्धी नियमावलीमा केन्द्रित थियो।

भिडिओबाट सबैलाई अनिवार्य मास्क लगाउन आह्वान गरिएको थियो। मास्क नलगाएर हिँडे सरकारले जरिवाना लगाउने भएछ।

भिडिओ सुनेपछि मोबाइल नै स्वीच अफ गरिदिएँ।

यहाँ को चाहिँ मास्क नलगाई हिँडेको थियो र अहिलेसम्म, सरकार। हजारौं मान्छेहरू गल्लीगल्लीमा सधैं एउटा मुकुण्डो लगाएर हिँडिरहेका छन्। उनीहरूको असली अनुहार त हामीले कहिल्यै देख्नै पाएकै छैनौं।

उनीहरु हरेक दिन भाइरसबाट बच्न भन्दै आफूलाई सभ्य व्यक्ति र भलादमी घोषित गर्न एउटा मास्क सधैं लगाएर हिँडेकै हुन्छन्।

सायद त्यही भएर होला उनीहरूलाई जरिवानाभन्दा पनि नियम पालना गरेकोमा स्याबासी मिल्छ…

एक पटक पढ्नुहोस