शहरका घरमा फस्टाउँदो कौसी खेती: कति उचित, कति अनुचित ?

काठमाडौं । कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ । तर पछिल्लो समय सहरका कौसी नै करेसाबारीको रुपमा हरियाली देखिन थालेको छ । कौसीमा रहेको सानो स्थानमा मानिसहरुले विभिन्न विधि प्रयोग गरेर तरकारीदेखि फलफूल समेत लगाउन थालेका छन् । भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन पनि हुने र सानो परिवारका लागि बेला–बेला आफैंले उत्पादन गरेको तरकारी पनि खान पाइने भएपछि शहरबासी कौसीखेतीतर्फ आकर्षित भएका हुन् । गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्र भएका घरधनीको यसतर्फ रुची बढेको छ ।

शहरमा बढ्दै गएको कौसी खेतीको रुचीलाई देखेर होला काठमाडौ उपत्यकामा रहेका नगरपालिकाहरुले निःशूल्क बिउ विजन वितरण गर्न समेत थालेका छन् ।  ललितपुर महानगरपालिकाले गत चैतमा बर्षे तरकारी बालीको वीउ र मल निःशूल्क वितरण गरेको थियो । महानगरको प्रत्येक वडामा एक हजारभन्दा बढी स्थानीयलाई यसरी मल बिउ वितरण गरिएको महानगर उपप्रमुख गीता सत्यालले रातोपाटीलाई बताइन् । महानगरपालिकाको कृषि विभागले सिमी, बोडी, रायो, मुला लगायत विउ वितरण गरेको थियो । यता काठमाडौं महानागरपालिकाले कौसी खेतीका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

कौसी तरकारी खेती, घरको संरचनामा जोखिम कति ?

शहरी क्षेत्रका स्थानीय तहले कौसी खेती प्रवद्र्धनका लागि वार्षिक नीति तथा कार्यक्रममा पनि समावेश गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कौसी खेती सम्बन्धी यस्तो नीति लिएको छ–‘सरकारी, अर्धसरकारी, निजी ठूला भवन, सपिङ्ग कम्प्लेक्स, अपार्टमेन्ट आदिमा कौशी खेती तथा कौशी बगैंचाको लागि प्रोत्साहन गरिनेछ । उत्पादित तरकारी, फुल बिरुवा महानगरले खरिद तथा बिक्री वितरणमा सहजीकरण गर्ने ब्यबस्था मिलाइनेछ, ब्यक्ति,समूह तथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री वितरण तथा आपूर्ति ब्यबस्था सहजताको लागि प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको ब्यबस्था गरिनेछ, जसको सञ्चालन स्थानीय समुदायले गर्नेछ ।’

स्थानीय तहले यसरी कौसी खेती पर्वद्धनका लागि नीति तथा कार्यक्रम बनाएपनि कस्तो संरचनाको घरमा कसरी कौसी खेती गर्ने यसबारे भने ध्यान पु¥याएको पाइदैन् । बरण्डा र कौसीमा हरियाली देखिँदा घर आकर्षक त देखिन्छ तर यसबाट हुनसक्ने नकारात्मक असर र प्रभावबारे भने धेरैले चासो राखेको देखिँदैन । घरको सबैभन्दा माथिल्लो तलामा कौसी खेती कतिको उचित छ त ? आरसिसि ढलान घरमा समस्या नभएपनि कच्ची घरमा कौसी खेती जोखिम हुने इन्ज्निियहरु बताउँछन् ।

इन्जिनियर भन्छन्– वाटर प्रुफिङ राखेर खेती गर्दा समस्या पर्दैन 

यदि घर गलत तरिकाबाट बनाएको छ भने कौसी खेती गर्दा पानी चुहिने र भौतिक संरचनामा क्षति पुग्ने हुन्छ । घरको छतदेखि घरको तल्लो भागसम्म पानी चुहिएर जाने हुन्छ । जुन घरमा कौसी खेती गरिन्छ, त्यो घरको छत पूर्णरुपमा वाटरप्रुफ अर्थात पानी नसोस्ने बनाउनुपर्ने इन्जिनियर राजुमान मानन्धर बताउँछन् ।

उनले भने–‘कौसी तरकारी खेती गर्ने हो भने कौसीलाई वाटर प्रुफ गर्नुपर्छ । वाटरप्रुफ गर्ने विभिन्न प्रविधिहरु छन् । यो प्रविधि अपनाएर कौसी खेती गर्दा कुनै समस्या हुँदैन । वाटरप्रुफ राख्यो भने घरको तलामा स्वीमिङ पुल पनि बनाउँन सकिन्छ । मुख्य कुरा घर इन्जिनियर प्रयोग गरेर बनाएको हुनुप¥यो ।’

अर्का इन्जिनियर प्रकाश सुवाल घरको डिजाइनमा कौसी खेतीको डिजाइन नहुने भएपनि माटोको तौल धेरै भए घरलाई असर गर्ने बताउँछन् । उनले सुरुमा घरको नक्सा बनाउँदा कौसी खेतीका लागि प्रयोग हुने आवश्यक लोड पनि अनुमान गरेर नक्सा बनाउदा पछि असर नहुने बताए । उनले पनि वाटरप्रसफिङ गरेर कौसी खेती गर्दा समस्या नहुने उल्लेख गरे ।  उनले पूरानो आरसीसी घरमा कौसी खेती गर्दा वाटरप्रुफिङ गर्नुपर्ने र नयाँ घर बनाउने हो भने घरको डिजाइन गर्दा नै कौसी खेती सहितको डिजाइन गर्न उनको सुझाव छ ।

एक पटक पढ्नुहोस