काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ । आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई सबै खोप लगाएकाले पूर्णखोप सुनिश्चितता नगर घोषणा गरिएको हो । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख तथा खोप समन्वय समितिका संयोजक दिपक कुमार गौतमले र नगरप्रमुख कुन्साङ लामाले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका थिए । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

सो अवसरमा गौतमले नगर प्रमुख लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । गौतमले नमोबुद्ध नगरले अन्य विकाससँगै स्वास्थ्य क्षेत्रलाई प्राथमकितामा राख्दै समयमै काम गरिरहेकाले जिल्लामै पहिलो पूर्णखोप सुनिश्चितता नगर घोषणा गरेकोमा खुसी व्यक्त गरे ।
नगरप्रमुख लामाले संविधानको मर्मअनुसार स्थानीय सरकारले काम गरेको र जनप्रतिनिधिले बनाएको नीतिलाई स्वास्थ्यकर्मीको पहमा नगरलाई पूर्णखोप सुनिश्चित बनाउन सफल भएको बताए । नगरलाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ” उनले भने ।
सो अवसरमा नगर प्रमुख लामाले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताएका थिए । सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख पवन कुमार लामाले जानकारी दिए ।

राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो उनको भनाई थियो । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लाको १३ स्थानीय तहमध्ये नमोबुद्ध नगर पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षकै पहिलो तह भएको बताए ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए ।यस बर्ष तोकिएका उमेर समुहका नगरका चार सय ७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुुनिश्चित नगर घोषणाा गरिएको जनाइयो ।
कार्यक्रममा नगर उपप्रमुख रत्न लामा, नेकपा एमालेका नगर अध्यक्ष गणेश लामा, सामाजिक अगुवा शङ्खबुद्ध लामालगायतले नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए ।
