After header

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी र नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण

काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी र नसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण गरेको छ । शनिवार चारदोबाटोबाट शुरु गरिएको प्रभातफेरीमा पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्षहरु, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका कार्यवहाक अध्यक्ष शान्ती लामा, प्रेस सम्बद्ध विभिन्न संघसंगठनका प्रमुख, प्रतिनिधीहरु, महासंघका सदस्य र जिल्लामा कृृयाशिल सञ्चारकर्मीहरुको सहभागिता थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय समेतका आधारमा विश्व प्रेस स्वतन्त्रता दिवस रचनात्मक तरिकाले मनाइएको नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोदकुमार न्यौपानेले जानकारी दिए । प्रभातफेरी पछि आयोजित सभामा बोल्दै अध्यक्ष विनोद न्यौपानेले पत्रकार हत्या, धम्की तथा स्वतन्त्र प्रेस माथी विभिन्न समयमा भएका ज्यादतीहरु रोक्न सरकारलाई अनुरोध गर्दै पत्रकारहरुको सुरक्षामा ध्यान दिन अनुरोध गरे ।

प्रभातफेरी लगत्तै जिल्ला सहकारी संघको भवनमा स्वास्थ्य परिक्षण (स्क्रिनिङ) गरियो । जनस्वास्थ्य कार्यालयकाभ्रेपलाञ्चोकको प्राविधिक सहयोग, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको सहयोगमा भएको कार्यक्रममा ५१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । ५१ जनाको मधुमेह, रक्तचाप, मृगौला सम्बन्धी रोगको स्क्रिनिङका साथै उचाइ र तौलको अनुपात (विएमआई) मापन गरिएको जनस्वास्थ्य कार्यालय काभ्रेका फोकल पर्सन पद्मराज कैनीले जानकारी दिए ।

जनस्वास्थ्य कार्यालय काभ्रेका अधिकृत विनोद राईका अनुसार, डा. कृतिक भण्डारी, जनस्वास्थ्य अधिकृत आशिष शर्मा कँडेल, सुस्मिता थापा, जनस्वास्थ्य निरिक्षक सुदनभक्त प्रधान, ल्याब टेक्निसियन निरिक्षिक भोला पौडेल, सिनियर अनमी नमुना गौतम, अञ्जु खड्का के.सी, सिनियर अहेब सानुमाया श्रेष्ठ, अनमी प्रतिज्ञा रञ्जित सहितका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

एक पटक पढ्नुहोस