पीसीआर सकियो, अब भेन्टिलेटरका गीतहरु आउनेछन् !

२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भारतसँगको सम्बन्ध देवीदेउवताकै पालादेखिको भएकाले त्यहाँ कोराना समाप्त नहुँदासम्म नेपालमा समाप्त हुन गाह्रै पर्ने बताएका छन् ।

कोरोनाको जोखिम बढेका बेला सभा-सम्मेलनहरु गर्न नपाइने सरकारी घोषणा विपरीत मंगलबार परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६१ औं वाषिर्कोत्सव कार्यक्रम आयोजना गरेको थियो । र, सो कार्यक्रममा आफैं नीति बनाउने मन्त्री ढकाल प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री ढकालले भने- ‘यो जोखिम भारतमा नसकिउञ्जेल हाम्रो देशमा सकिँदैन भन्ने कुराका बारेमा कुनै प्रशिक्षण चलाइराख्नुपर्छ जस्तो मलाई लाग्दैन । किनभने, हाम्रो हावापानी, रहनसहन, बसउठ, खानपिन, अहिले यो मानवताका पालादेखि होइन, देवीदेवताकै पालादेखिको सम्बन्ध, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, विभिन्नखालका सम्बन्धहरुका कारणले त्यहाँ समाप्त नहुँदासम्म यहाँ समाप्त हुने कुरा गाह्रै लाग्छ ।’

भारतमा अहिले संक्रमण बढिरहेको बताउँदै मन्त्री ढकालले अगाडि भने, ‘हामीले मात्रै नियन्त्रण गरेर यो काबुमा ल्याउँछौं भन्ने कुरो भन्दा पनि न्यूनीकरण गर्दै त्यो खतराबाट पनि कसरी जोगाउन सकिन्छ भनेर शिक्षा लिएर सावधानीपूर्वक काम गर्ने कुरामा नै हामी जुटिराखेका छौं ।’

कोरोनाको जोखिमबारे नेपाल सरकारले के-कस्तो विश्लेषण गरिरहेको छ ? यसको रोकथामका लागि के-कस्ता नीतिहरु लिइएका छन् ? सरकारले खास काम के गरिरहेको छ ?

स्वास्थ्यमन्त्री ढकालको विश्लेषण उनकै शब्दमां-

यो कोभिड-१९ को महामारीसँग सम्बन्धित विषय अहिलेको राज्यको एउटा प्रमुख र मुख्य विषय छ ।

हामीले जेठ २५ गते हाम्रा विज्ञहरु राखेर अध्ययन-अनुसन्धान गर्दाखेरि उहाँहरुले के निश्कर्ष निकाल्नुभएको थियो भने पहिले बढेको रफ्तारमा नै हामीले यो रोगलाई नियन्त्रण गर्न सकेनौं भने साउन २५ देखि भाद्र २ गतेसम्म यो उच्च जोखिमको अवधि रहन सक्छ ।

अति जोखिमयुक्त ढंगले गइयो भने ९१ हजारसम्म पोजेटिभ केसको सामना हामीले गर्नुपर्ने हुन सक्छ । मध्यमखालको स्थिति रह्यो भने ३९ हजार पोजेटिभ केस हामीकहाँ हुन्छन् र त्यसको व्यवस्थापन गर्नुपर्छ भनेर निश्कर्ष दिनुभएको थियो । तदनुरुप नै हामीले त्यसको व्यवस्थापनका निम्ति योजना बनायौं, लाग्यौं ।

आज साउन २७ गते करिब २४ हजारको हाराहारीमा हामी छौं । मध्यम केसको कुरा गर्दा पनि ३९ हजार हुने ठाउँमा एक तिहाईजतिलाई हामीले नियन्त्रण गर्न अथवा प्रक्षेपण गरेको भन्दा त्यति कम बनाउन सकियो ।

वीचमा एकचोटि यो क्रमश-क्रमश ओरालो अवस्थामा नै गएको थियो । असार १९ गते ४४८३ जनाको पीसीआर परीक्षण गर्दा ७४० जना व्यक्तिहरु एकैदिन संक्रमित फेला परेका थिए । एकदिनमा सबैभन्दा उच्च रेकर्ड आएको दिन त्यही नै थियो ।

असार १६ गते अहिलेसम्मकै सबैभन्दा धेरै पोजेटिभ केसहरु अस्पताल र आइसोलेसनमा रहेको उच्च दिन थियो । त्यसदिन नेपालमा जम्मा १० हजार ३४१ पोजेटिभ केसहरु थिए । अहिले २४ हजार भए पनि हामीसँग त्यो संख्यामा -दैनिक ?) पोजेटिभ केसहरु छैनन् । किनभने रिकभरि रेट पनि अहिले हाम्रो ७३ प्रतिशतको हाराहारीबाट क्रमशः घट्दै आउँदैछौं अहिले । योखालको एउटा स्थिति अहिले बनेकै छ ।

एउटा प्रश्न सधैंभरि उठ्ने गर्‍यो । परीक्षण कम गरेका कारणले गर्दा पोजेटिभ केस कम देखियो भनेर सुरुदेखि नै साथीहरुले भन्दै आउनुभो । गीतको थेगोजस्तो त्यही बस्यो । जानेर, जनानेर त्यही लयमा गीत गाउनेखालको प्रक्रिया पनि जारी नै रह्यो ।

म यहाँहरुसँग नम्रतापूर्वक यो कार्यक्रमको माध्यमबाट के आग्रह गर्न चाहन्छु भने हामीले अहिलेसम्म सबैभन्दा उच्चतम, एकैदिनमा पीसीआर परीक्षण गरेको १० हजार ७८३ सम्म एक दिनमा परीक्षण गर्‍यौं । त्यो दिन जम्मा २२४ जनाको पोजेटिभ केस देखियो ।

जबकि असार १९ गते ४७८३ जनाको परीक्षण गर्दाखेरि ७४० जनाको पोजेटिभ केस देखिएको थियो भने धेरै गर्दा धेरै पाइन्छ भन्ने कुरा होइन । संक्रमण कति छ भन्ने कुराको अनुमान गर्ने र कहाँ छ भन्ने कुराको ‘एलोकेड’ कति गर्न सक्छौं भन्ने कुराले पनि त्यसलाई निर्धारण गर्छ । योखालको परिवेशबाट हामी हुर्किराखेका छौं ।

अहिले पछिल्ला दिन दुईवटा सूचकहरु हाम्रा लागि त्यति राम्रा छैनन् ।

अरु-अरु देशमा एकचोटि यो कोरोना भाइरसबाट संक्रमित भएपछि, त्यो ठाउँमा केस समाप्त भइसकेपछि फेरि डब्लिएर त्यही ठाउँमा भयावह भएका रेकर्डहरु हामीले अहिलेसम्म बुझ्दा कम पाएका छौं । तर, हाम्रो नेपालको सन्दर्भमा भन्ने हो भने हिजो जहाँ-जहाँ झिल्काहरु देखिएका थिए, आज डढेलो त्यही-त्यही ठाउँबाट लाग्ला कि भन्नेखालको चिन्ता छ । जस्तै- हामी वीरगञ्ज भन्न सक्छौं । नेपालगञ्ज पनि हामी भन्न सक्छौं । कैलाली, कञ्चनपुरको कुरा । उदयपुरको ठाउँमा सप्तरी र मोरङलाई लिने हो भने करिब त्योखालको स्थिति देखेका छौं कि हिजो एकचोटि प्रकट भएर अब साम्य भो भन्नेखालको ठाउँमा नै फेरि हिजोभन्दा अझ बढी संक्रामक भएर यो आउने कुराचाहिँ यो त्यति उपयुक्त भएन ।

दोस्रो, हामीले करिब-करिब अब यसलाई व्यवस्थित गर्छौं । हुन त यो जोखिम भारतमा नसकिउञ्जेल हाम्रो देशमा सकिँदैन भन्ने कुराका बारेमा कुनै प्रशिक्षण चलाइराख्नुपर्छ जस्तो मलाई लाग्दैन । किनभने, हाम्रो हावापानी, रहनसहन, बसउठ, खानपिन, अहिले यो मानवका पालादेखि होइन, देवीदेवताकै पालादेखिको सम्बन्ध, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, विभिन्नखालका सम्बन्धहरुका कारणले त्यहाँ समाप्त नहुँदासम्म यहाँ समाप्त हुने कुरा गाह्रै लाग्छ ।

त्यहाँ (भारतमा) दिनमा झण्डै-झण्डै एक लाखको हाराहारीमा संक्रमित होला कि भन्ने स्थिति हुञ्जेलसम्म हामीले मात्रै नियन्त्रण गरेर यो काबुमा ल्याउँछौं भन्ने कुरो भन्दा पनि न्यूनीकरण गर्दै त्यो खतराबाट पनि कसरी जोगाउन सकिन्छ भनेर शिक्षा लिएर सावधानीपूर्वक काम गर्ने कुरामा नै हामी जुटिराखेका छौं ।

तल आएको ग्राफ बिस्तारै अब त्यो माथि चढ्दैछ । ५/७ दिन भो, करिब तीन सय/साढे तीन सयको हाराहारीमा, ४१८ सम्म एक दिन आएको थियो । तर, आज विहानै ४४६ जनाको रिपोर्ट आइसक्यो भनेपछि बेलुकासम्म पुग्दाखेरि ५/६ सय सम्मको स्थितिमा पुग्दा हामीले हिजो जुन उच्च जोखिमतिरको यात्रामा, पहिलो-दोस्रो दिनमा अब गणना गर्ने ठाउँमा पुग्न लाग्यौं कि भन्ने कुराले अझ बेसी सावधानी अपनाउनुपर्नेखालको ठाउँमा हामी पुगेका छौं ।

पीसीआर परीक्षणको हिसाबले हामी राम्रो पोजिसनमा नै छौं । कतिपय साथीहरुलाई राम्रो कुरा भन्यो भने पनि त्यति राम्रो सुनिँदैन । नराम्रो कुरा बिक्छ भन्ने हिसाबले पनि राम्रो कुरा सुनाउने प्रयत्न पनि गरिँदैन । मैले प्रत्येक ठाउँमा भन्ने गरेको छु, अहिले पनि म दोहोर्‍याउन चाहन्छु- विश्वमा सबैभन्दा शक्तिसम्पन्न राष्ट्रहरु, विश्वलाई नै मेरो मुठ्ठीमा कैद गर्न सक्छु भन्नेहरु पनि अहिले कोरोनाको महामारीपछि थरथर काँमेर बसेका छन् । तिनेरको पनि ज्यान जोखिममा नै छ ।

म भन्दा अझ यहाँ डा. साबहरु, नर्सहरु हुनुहन्छ, मभन्दा विधाको व्यक्ति भएको हुनाले अझ बुझ्नुहोला । मैले सुनेको छु कि त्यस्ता शक्तिसम्पन्न राष्ट्रहरुमा पोजेटिभ केस देखिएर अस्पतालमा लक्षणहरु नदेखिएको बिरामी गयो भने पोजेटिभ देखिँदै यहाँ अस्पतालमा आउने हो ? घरमा गएर आइसोलेसनमा बस्ने, सास फेर्न गाह्रो भो भनेमात्रै अस्पतालमा आउने भनेर ती राष्ट्रहरुले पठाएका छन् ।

तर, आजको मितिसम्म जति २४ हजार व्यक्तिहरु राज्यले लगानी गरेर कोही छौ कि तिमीहरुबाट अरुलाई संक्रमण हुने खतरा छ कि भन्ने हिसाबले खोजी-खोजी राज्यको पहलबाट पत्ता लागेका केसहरु नै यो २४ हजारको नजिकमा हामीले अहिलेसम्म पुर्‍याएका छौं । र, प्रत्येक पोजेटिभ केस देखिएका व्यक्तिलाई लाबारिसे ढंगले तिमी घरमा गएर बस अनि छटपटायौ भनेमात्रै अस्पताल आऊ भनेर नेपाल सरकारले भनेको छैन । हामी उपचार गर्छौं ।

अहिले पछिल्लो दिनमा त्यसमा हाम्रो एउटा थप कार्यनीति केमा बदल्यौं भने सक्रिय संक्रमित नदेखिएका व्यक्तिहरु पोजेटिभ केस देखिनेवित्तिकै अस्पतालमा लगियो भने साँच्चै अस्पतालको सेवा पाउनुपर्ने व्यक्तिहरुलाई चाहिँ भोलि अस्पताल लानेबेलामा तपाई कोरोना भए पनि अलि कम बिरामी हुनुहुन्छ, तपाई निस्कनोस्, उसलाई भर्ना गरौं भन्ने कुरो मानवीय भएन भनेर हामीले आइसोलेसन सेन्टरको अवधारणलाई विकास गर्‍यौं ।

जहाँ (आइसोलेसन सेन्टरमा) स्वास्थ्य जनशक्तिको टीम पनि रहन्छ, एकैठाउँमा राखेर हामी अस्पतालले दिने सेवा पनि दिन्छौं । सेवा दिन्छौं भन्नुको अर्थ जसलाई अक्सिजन चाहिँदैन, जसलाई एकदमै नजिकैबाट संरक्षण गर्नुपर्ने कुरो भन्दा पनि नजरअञ्दाज गर्दा, बिहान-बेलुका दुईचोटि मात्रै जाँच्दा हुन्छ भने त्यस्ता व्यक्तिहरुलाई आइसोलेसन सेन्टरमा राख्ने ।

किनभने, सक्रिय संक्रमित भएका व्यक्तिहरुलाई अस्पतालका बेडहरु उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यले हामीले त्यो नीति अवलम्बन गर्‍यौं । त्यसो गर्दा विरामीहरुलाई यो महामारीमा राज्यले विभेद गरेन भन्ने कुराका निम्ति हामीले के नीति बनायौं भने कुनै व्यक्ति आइसोलेसन सेन्टर अथवा होम क्वारेन्टिनमै बसेको व्यक्ति छ, मलाई मलाई परीक्षण गर्नका लागि जाँच गर्नुपर्‍यो, ज्वरो आयो आएन भनेर हेर्नुपर्‍यो भनेर भन्यो भने घरमै सेवा उपलब्ध गराउने कुराका लागि प्रतिव्यक्ति जाँचेको दुईसयको दरले हामीले त्यो व्यवस्था गरेका छौं ।

आइसोलेसन सेन्टरमा राखेका प्रतिविरामी प्रतिदिन दुई हजारका दरले त्यसको खानपिन र हेरचाह व्यवस्थापनका लागि हामीले काम गरेका छौं । आइसोलेसन सेन्टरबाट भएन, अब उसलाई अस्पतालमा लानुपर्‍यो भन्ने भयो भने ३५ सय प्रतिदिन, अक्सिजनहरुसहितको सेवा दिनुपर्‍यो भने ७ हजार प्रतिदिन र भेन्टिलेटरमा राखेर सेवा उपलब्ध गराउनुपर्ने खालको अवस्थामा भयो भने प्रतिदिन प्रतिबिरामी १५ हजारको दरले जुनसुकै ठाउँमा उपचार गर्दाखेरि पनि राज्यले बनाएको मापदण्ड यही हो । यसका आधारमा विरामीले सेवा पाउनुपर्छ भन्ने नीतिलाई हामीले अवलम्बन गरेका छौं । यसको अर्थ यो महामरीका विरुद्ध सरकार यहाँहरुका साथमा छ । जनताको साथमा छ ।

कतिपय मान्छेले भन्छन्, पीसीआर अलिकति कम गराउन खोज्यो कि सरकारले ? जनताको स्वास्थ्यभन्दा सरकारको अर्को कुनै स्वार्थ छैन । निस्वार्थ ढंगले हामी जनताको सेवा गर्न चाहन्छौं । यो महामारीको लडाइँमा नेपालबाट मात्र होइन, विश्वव्यापीरुपमा नै यसलाई परास्त गर्नका निम्ति हामी हाम्रो ठाउँबाट योगदान दिन सक्छौं ।

पीसीआर परीक्षणको रेकर्डमा हामी अगाडि छौं । संक्रमणको जुन दायरा अगाडि बढिराखेको छ, यसलाई नियन्त्रण गर्ने कुराका लागि पनि हामी एक हदसम्म सफलै छौं । मृत्युदरको हिसाबले यो पछिल्लो दिन अलिकति संख्याको हिसाबले यो बढे पनि तुलनात्मकरुपमा अध्ययन गर्ने हो भने अरु भन्दा न्यूनदरमा नै यसलाई राख्ने कुरामा सफलता प्राप्त गरेकै छौं ।

यो केवल सरकारको सफलताको कुरामात्रै होइन, यो लडाइँको नेतृत्व गर्ने भनेको डाक्टर, नर्सहरु नै हो । स्वास्थ्य क्षेत्रमा काम गर्नुभएका साथीहरु नै हो । हामी यो लडाइँको मोर्चाका उहाँहरुसँगै टीमको हिसाबले संलग्न भएका छौं ।

यो महामारीले न पार्टी चिन्छ, न जात चिन्छ । न यसले धर्म चिन्छ, न लिङ्ग चिन्छ । न क्षेत्र चिन्छ, न यसले धनी-गरीब भनेर नै विभेद गर्छ । यो सबैको साझा दुश्मन हो । यो देखिएर पनि लडाइँमा आउँदैन । अदृश्य ढंगले आक्रमण गर्छ । यसले गर्दा, यो सबैको साझा दुश्मन भएको कारणले यसमा कुनै पनि बाउन्ड्री खडा नगरिकन एकतावद्ध भएर यसलाई परास्त गर्नका निम्ति हामीले जेजस्ता प्रयत्नहरु अहिले गर्दै आएका छौं, यसलाई अझै सुदृढ, सबल बनाउने, हाम्रा कमी कमजोरीबाट शिक्षा लिँदै यो महामारीका विरुद्धको लडाइँलाई अझ एकतावद्ध बनाउने कुराका निम्ति लाग्न जरुरी छ ।

तपाईहरुलाई थाहा होला, अरु विदेशमा पनि कैयौं नेताहरुको यो रोगबाट मृत्यु पनि भएको छ । कैयौं आक्रान्त भएका छन् । हाम्रै देशमा कुरा गर्ने हो भने पनि माननीय सांसदज्यूहरु समेत संक्रमित भइसक्नुभएको छ । प्रदेशका केही मन्त्रीज्यूहरु पनि संक्रमित हुनुभएको छ । मेयरसा’बहरु पनि संक्रमित हुनुभएको छ । सुरक्षा निकायभित्रको कुरा गर्ने हो भने संक्रमणको एउटा ठूलो हिस्सा सेवा गरेवापत संक्रमित भएको छ । नेताहरुको अगसवाइ पछुवाइ गर्ने, सुरक्षाको जिम्मा लिने मित्रहरु पनि संक्रमणको दायरामा हुनुहन्छ भने तपाई आफैं पनि त्यति सुरक्षित हुनुहुन्न । त्यसले गर्दा यो रोगलाई ख्याल ख्याल नठानौं । आइ नै सक्यो ।

यसका विरुद्ध लड्नका निम्ति अहिलेसम्म हामीले गरेका उपायहरु पर्याप्त भएका छैनन् भने यो यो कुरा सुधारेर यो ढंगले काम गरौं । सरकारले यहाँनेर गरेको कामले अझ यसमा यसो गर्दा राम्रो हुन्छ भनेर आलोचना पनि गर्नोस् । त्यो आलोचनाले सरकारलाई कुनै क्षति गर्दैन । राम्रो सुझाव भयो भने त्यसले यसलाई नियन्त्रण गर्नका निम्ति सहयोग नै पुग्छ ।

आलोचकहरुलाई गीताङ्गेको संज्ञा, कृष्णाष्टमीमा मति सुध्रियोस् !

नेकपाका नेतासमेत रहेका स्वास्थ्यमन्त्री केपी ओली समूहका नेता हुन् । उनी आफ्ना आलोचकहरुप्रति केपी ओलीजस्तै रुखो ढंगबाट प्रस्तुत हुने गर्छन् । आलोचनाले सरकारलाई सहयोगै गर्छ भन्दै प्रस्तुत भएका मन्त्री ढकालले आलोचकहरुलाई गीताङ्गेको संज्ञा दिँदै होच्याए । अस्पतालको वाषिर्क उत्सवमा पार्टीभित्रैका आलोचकलाई पनि उनले ताछ्न भ्याए ।

मन्त्री ढकालको भनाइ फेरि उनकै शब्दमा-

गीतहरु बदली-बदली आउनेछन् । एक जमाना थियो, पीपीई भएन भने राजीनामा दिन्छौं भन्ने जमाना थियो । अब त्यसको अभधाव छैन भनेपछि अहिले त्यसको गीत बजेन । त्योपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टिलेटरका गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन, व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ ।

मलाई लाग्छ यो कृष्ण अष्टमीका दिन मति बिगि्रएकाहरुका लागि पनि महामारीका विरुद्ध लड्नका निम्ति मति सुधि्रयोस् भन्ने म शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन्, चाहे ती मेरा छिमेकमा रहेका व्यक्तिहरु हुन् ।

सरकारको आलोचना गरेर, लडाइँको अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गगर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका लागि योगदान पुर्‍याउन सक्दैन । बाँचियो भने सत्ताप्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने, सत्ताका निम्ति लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनतामले म्यान्डेड दिएकै छन् । म्यान्डेडपछि त्यो खेलमा लाग्दाखेरि पनि केही बिग्रँदैन ।

स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँडने मित्रहरुलाई म अपेक्षा गर्छु, आग्रह गर्न चाहन्छु – बेलाअनुसार वचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई पनि निगरानी गरिराखेका हुन्छन् । सबै जनताको नजरमा हामी परीक्षामा नै छौं । सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।

प्रतिबन्धित सभा समाहरोहमा किन ?

स्वास्थ्यमन्त्री ढकाल आफैं सीसीएमसीका सदस्य समेत हुन् । कोरोना बढेका बेलामा के गर्न हुन्छ र के हुँदैन भन्ने नीति निर्माता हुन् । उनी संलग्न निकायहरुले जारी गरेको नियममा सभास समारोह गर्न प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा प्रतिबन्धित कार्यक्रममा उनी प्रमुख अतिथि बनेर किन उपस्थित भएका होलान् ? यसको जवाफ पनि उनकै मुखबाट सुनेको राम्रो-

कार्यक्रममा बोलाउनुभो, अलि थोरै गरौं भन्ने कुरा पनि भएको थियो, १५/२० जना भन्दा माथि नगरौं भन्ने सल्लाह पनि भएको थियो, एकैठाउँमा हुँदाखेरि फेरि राम्रोभन्दा पनि नराम्रै कुरा देखिएला कि भनेर सावधानी हुँदाहुँदै पनि यसो सम्भिmएँ, जाने कि नजाने भन्ने कुरामा कुनै दुविधा नभइकन म आएँ ।

अस्पताल । जहाँ तपाईहरु २४ सै घण्टा सेवा गर्न त लागिरहनुभएको छ भने म एकछिन आउने, थपिने र नथपिने कुराले के नै फरक पार्छ र । यहाँ डाक्टर र नर्स साथीहरु त सेवामा २४ घण्टा नै काम गरिरहनुभएको छ ।

प्रमुख अतिथि नै मन्त्री आएन भनेपछि यो आंतंकले तपाईहरुको मनोबल पो अलि कमजोर होला कि भन्ने ठानेर बिरामी हुँदा त डाक्टरकहाँ जाँदा निको हुइन्छ भनेपछि डाक्टरहरुको संगत गर्ने कुराले यो कोरोनालाई हटाउने कुराका लागि मेरो मनोबललाई पनि अझ बढाउला भन्ने सम्झेर नै म यो कार्यक्रममा आएको छु ।

यही कार्यक्रम यसरी मनाइरहँदा पनि यसका सकारात्मक- नकारात्मक टिप्पणीहरु पनि हुने नै छन् भन्ने हाम्रो बुझाइ छँदैछ । सुरुमा यो कार्यक्रमको आयोजना गरेर अतिथिका रुपमा कन्र्फम गर्दा वातावरण अलि सहजखालको बनेको थियो । हिजो-आज आइपुग्दा फेरि परिस्थिति अलिकति प्रतिकुल बनेर कार्यक्रमै कसरी, कुन मोडालिटीमा गर्ने भन्ने किसिमले दोधार रहँदारहँदै पनि आफूभन्दा जेठो अस्पतालको कार्यक्रममा प्रमुख अतिथि भएर आउन पाउने सौभाग्यलाई नगुमाऔं भन्ने उद्देश्यसहित म यो कार्यक्रममा उपस्थित भएको छु ।

‘कोरोनाले गर्दा समृद्धिको यात्रा अगाडि बढाउन सकेका छैनौं’

एक पटक पढ्नुहोस