After header

महामारीको कारण फेरि बन्द हुन थाले उद्योग

२७ साउन, काठमाडौं । केही उद्योगमा कार्यरत कर्मचारीमा देखिएको संक्रमण र देशभर सुरु भएको क्षेत्रगत निषेधाज्ञाको मार उद्योगधन्दामा पनि पर्न थालेको छ ।

पहिलो चरणको लकडाउन खुलेसँगै पुनः तंग्रिन थालेका अत्यावश्यक उद्योगहरु केही दिनदेखि धमाधम बन्द हुन थालेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ ।

पछिल्लो पटक काठमाडौं र धरानका केही उद्योगका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उद्योगहरु सिल गरिएको लिमिटेडका निर्देशक एवम् सञ्चालन विभाग प्रमुख दीलिप श्रेष्ठले जानकारी दिए ।

कोभिड-१९को संक्रमणका कारण कच्चापदार्थ भित्र्याउन र श्रमिक तथा कर्मचारी कार्यालय आउने जस्ता समस्या उद्योगहरुले झेलिरहेको श्रेष्ठले बताए ।

‘उद्योग सञ्चालनमा देखिएको केही आशा पुनः निराशामा बदलिन थालेको छ,’ श्रेष्ठले भने । देशभरका १० औद्योगिक क्षेत्रमा रहेका चार सय ६५ त्यस्ता उद्योगमध्ये एक सय ४० वटा मात्रै सञ्चालनमा रहेको उनले बताए ।

ती उद्योगको सञ्चालन क्षमता पनि ६५ बाट घटेर ३० प्रतिशतमा झरेको लिमिटेडले जनाएको छ । चामल, दाल, तेल, पिठो लगायतका अध्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगमा देखिएको समस्याले बजारलाई प्रभावित पार्न सक्ने जोखिम बढेको लिमिटेडले जनाएको छ ।

उद्योग धन्दा सञ्चालनको र समस्याको यकिन भई नसकेको भएपनि उत्साह भने घटेको निजी क्षेत्रका उद्योगीहरुले बताएका छन् ।

कोभिडको संकट बढेसंगै नयाँ नयाँ सरकारी नियमका कारण कर्मचारी र श्रमिक काममा आउन नसकेको  चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

‘मानिसहरु डराएका छन्, उद्योगहरु स्यानिटाईज गरेर काम गर्ने प्रयास थाले एक पछि अर्को गर्दे कडाई हुँदा जाँदा कउपभोक्ता र उद्योगी दुबै डराउने अवस्था बन्यो,’ अध्यक्ष श्रेष्ठले भने ।

उद्योग धन्दा चल्ने वातावरणका लागि सरकार, निजी क्षेत्र र उपभोक्ता सबै जना सचेत हुनु पर्ने भन्दै श्रेष्ठले मुलुकले अब लकडाउन थेग्न नसक्ने बताए ।

एक पटक पढ्नुहोस