सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका– ११ गम्हरियामा सोमबार राति करीब ८ बजे भएको सफारी दुर्घनामा गम्भीर घाइते भएका एक जना नापी कार्यालयका कर्मचारीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका कर्मचारी सर्लाही बागमती नगरपालिका– ५ बस्ने विनोद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए । टाउको, निधारमा गम्भीर घाउ चोट लागेका घिमिरेको एल एस न्युरो अस्पताल परवानिपुरमा उपचारको क्रममा राति करीब साढे ११ बजे मृत्यु भएको डिएसपी पंजियारले जानकारी दिए । मृतकको शव अहिले अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी सफारीमै सवार नापी कार्यालय मलंगवाका प्रमुख काभ्रे बनेपा उपमहानगरपालिका बस्ने ४५ वर्षीय संजय मान्धरसहित ११ जना गम्भीर घाइते भएका थिए । सोही दुर्घटनामा परी गम्भीर घाइते भएका सफारीमै सवार सर्लाही कौडेना गाउपालिका– २ बस्ने २४ वर्षीय संजित मण्डल, सर्लाही मलंगवा नगरपालिका– ३ बस्ने ३५ वर्षीय रामलाल साह, सोही ठाउँ बस्ने ५० वर्षीय बैद्धनाथ पटेल, महोत्तरी एकडारा गाउँपालिका– २ बस्ने ३० वर्षीय रिटेन यादव, सर्लाही मलंगवा नगरपालिका– ७ बस्ने ३४ वर्षीय रामबाबु राय, धनुषा सहिदनगर नगरपालिका– ७ बस्ने २९ वर्षीय दिपेन्द्र यादव, बारा कलैया उपमहानगरपालिका– २० बस्ने २४ वर्षीय सहिद अनवर, महोत्तरी बस्ने ३० वर्षीय बैजु यादव, महोत्तरी बस्ने २५ वर्षीय अजय यादव उपचारका क्रममा रहेको डिएसपी पंजियारले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सबै नापी कार्यालय मलंगवाका कर्मचारी भएको बुझिएको प्रहरीले जनाएको छ । मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको उखुको लोड गरेको ज २ त १०६७ नम्बरको ट्रेक्टरलाई पछाडिबाट सोही दिशातर्फ जाँदै गरेको बिआर ०६ पीडी ९६४८ नम्बरको सफारी गाडी ठोक्किन जाँदा उक्त दुर्घटना भएको थियो ।
तीव्र गतिमा रहेको सफारीले उखु बोकेको ट्रेलरमा ठोक्किन जाँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । दुर्घटनापछि ट्याक्टर चालक फरार भएको र दुर्घटनामा संलग्न दुवै सवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नापी कार्यालयका सबै कर्मचारी भारतीय गाडीमा चढेर कहाँ जादै थिए भन्नेबारे खुल्न नसकेको र फरार ट्याक्टर चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।