सार्वजनिक यातायातको मनपरी: सामान्य अवस्थामा जसरी नै यात्रु कोचेर चर्को भाडादर !

काठमाडौँ – कोरोना महामारीका कारण लामो समय बन्द रहेको सार्वजनिक यातायातलाई सरकारले स्वास्थ्य मापदण्डसहित सतर्त सञ्चालन गरे पनि यातायात व्यवसायीले भने कुनै पनि सुरक्षा मापदण्ड र सर्त पालना नगरेको पाइएको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

उपत्यकालगायत लामो दूरीका सवारीसाधनमा व्यवसायीले सामान्य अवस्थामा जसरी नै यात्रु कोचेर चर्को भाडादर असुल्ने गरेका छन्।

कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले यातायातमा स्वास्थ्य सुरक्षा अनिवार्य गरेको थियो। तर, यातायात क्षेत्रमा कोरोना संक्रमणबाट जोगिन कुनै पनि सुरक्षा माण्दण्ड अपनाइएको छैन।

दुई सिटमा एकजना यात्रु राख्ने, ढोकामा स्यानिटाइजर राख्ने, यात्रुसँग दूरी कायम राख्ने, मास्क लगाएर मात्र सवारीसाधनमा बसाल्नेलगायत सुरक्षा अपनाउन सरकारले निर्देशन दिए पनि यातायात क्षेत्रमा त्यसको पालना भएको छैन। उपत्यकामा दुवैतिरका सिटमा यात्रु बसाल्ने र प्यासेजमा समेत उभ्याउने गरिएको छ। यसरी सरकारले निर्देशन दिएका मापदण्ड र सर्तलाई बेवास्ता गर्दै यात्रुहरू ठगी गर्ने क्रम बढे पनि सरकारी निकायले भने त्यसको अनुगमन गरेका छैनन्।

सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा उपत्यकालगायत देशभर नै सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ। ‘सामान्य अवस्था र अहिलेको अवस्थालाई यातायात क्षेत्रमा पालना गरिएको छैन, भाडा चर्को लिने तर मापदण्ड पालना गर्नतर्फ व्यवसायीको चासो छैन,’ यातायातकर्मी नरेन्द्र चुदालीले भने।

अहिले उपत्यकाभित्र गाडी चढ्नासाथ २५ रूपैयाँ लिने गरेका छन्। लकडाउन अघि सोही भाडादर १५ रूपैयाँ मात्र थियो। यातायात व्यवसायी, यातायात व्यवसायी महासंघ र यातायात व्यवस्था विभागबीच छलफल भएपछि असोज १ गतेदेखि लामो दूरीका बस सञ्चालनमा आएका छन्। अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या बढेको छ भने उपत्यकामा पनि सबैजसो सार्वजनिक सवारीसाधन गुडेका छन्। तर ती सवारीमा कोरोना महामारीबाट बच्न कुनै सजगता अपनाइएको छैन।

यातायातकर्मी प्रेमबहादुर थापाले पछिल्लो समय सरकारले निगरानी नराख्दा यात्रु मर्कामा परेको बताए। लामो दूरी र छोटो दूरीका सवारीसाधनले तोकिएभन्दा दोब्बर भाडा असुली गरेको उनको भनाइ छ। ‘सरकारले व्यवसायीसँग एक खालको सहमति गरयो तर अहिले यातायातमा मनपरी चलेको छ। साथै न त यातायात व्यवस्था विभागले हेर्छ न त ट्राफिक प्रहरीले नै, यस्तो बेलामा पनि यात्रु ठगिएका छन्, सरकारी निकाय रमिते छ,’ उनले भने।

एक पटक पढ्नुहोस