५ दिनसम्म कोरोना रिपोर्ट नआउँदा मान्छे कसरी बस्ला?

कोरोनाका कारण बिना कुनै काम बाहिर ननिस्किने निर्णय गर्दै शुक्रबारदेखि घरै बसिरहेको थिएँ। शनिबार साँझ साथीहरूले भेटघाट गरौं भने। थोरै मान्छे र धेरै समयपछिको भेट मैले नाइँ भन्न सकिनँ। पाटनतिर बरालिने निर्णय गरेर घरबाट निस्केँ।

साथीहरूसँग भेटघाट सकेर घर फर्किएको मात्र थिएँ, कार्यालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएको खबर पाएँ। खबर पाउनासाथ मैले आफूलाई सेल्फ-क्वारेन्टाइन गरेँ। साँझ भेटेका साथीहरूलाई पनि सजकता अपनाउन अनुरोध गरेँ।

म धेरै सोचमा पर्न थालेँ- परीक्षण गराऊँ किन नगराऊँ!

ममा कुनै लक्षण थिएन तर कन्ट्याकमा भएको हुनाले परीक्षण गराउन अनिवार्य सोचेँ। के होला भन्ने सोचमा अफिसकै अर्को साथीसँग सल्लाह गरेर भोलिपल्ट परीक्षण गर्न जाने निधो गरेँ।

आइतबार दिउँसो महानगरपालिकाले वडामा गर्ने पिसिआर परीक्षण गर्न जाने कुरा भयो। त्यहीअनुसार दिउँसो करिब ३ बजे परीक्षण पनि भयो। रिपोर्ट २४ घण्टामा आउँछ भन्ने सुनेका हामी परीक्षण गरेर पुनः होम क्वारेन्टाइनमा गयौं।

आफ्नो परिवारमा सुरक्षा अपनाएर बस्न व्यवस्था मिलाउँदै कोठामै खाने, बाथरुम सेयर नगर्ने र कुनै पनि ठाउँमा सकेसम्म नछुने जस्ता कयौं कुरामा ध्यानमा दिनुपर्ने हुन्छ। परीक्षण गरेको दिन जसोतसो काटियो। रिपोर्ट भोलि आइहाल्छ भन्ने आशा थियो।

जति चिन्ता गर्दिनँ भने पनि मनमा पिर त पर्ने नै रहेछ। सोमबार कयौं साथीले फोन गरेर रिपोर्टबारे सोध्न थाल्नुभयो। सबैलाई रिपोर्ट आएको छैन भन्दै बसिरहेको थिएँ।

कोरोना संक्रमण सुरु भएदेखिनै यसको दैनिक तथ्यांक फेसबुकमा सेयर गरिरहेको छु। कसलाई थाहा थियो र, एकदिन मै त्यो तथ्यांकमा पर्छु कि पर्दिनँ भन्ने तनावमा बस्नुपर्छ भनेर।

परीक्षणको दोश्रो दिन पनि नतिजा आएन। म थाकिसकेको थिएँ। रिपोर्ट आएन भन्ने कुरामा भने मनमा डर पलाउन थालिसकेको थियो। कतै म कोभिड पोजेटिभ त भइनँ? वनको बाघले खाओस्, नखाओस् मनको बाघले खान्छ भनेझै मंगलबार पनि नतिजा नआएपछि मैलै आफूलाई पोजेटिभ मानेर आफ्नो अझ ध्यान दिन थालेँ। अक्सिमिटर किनेर ल्याउन अह्राएँ र घरमा पनि परीक्षण गर्न सुझाएँ।

मंगलबार साँझदेखि नै रिपोर्ट किन आएन भनेर स्वास्थ्य मन्त्रालयको हेल्पलाइन र राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले प्रदान गरेको सम्पर्क नम्बरमा जानकारी लिने प्रयास गरेँ। तर ठोस् प्रतिक्रिया कतैबाट पनि आएन।

सबैको जवाफ- भोलि आउँछ।

बुधबार पनि दिनभर मैले धैरै फोन गरेँ। मानसिक तनावका कारण मैले आफैंलाई कमजोर महशुस गर्न थालिसकेको थिएँ। बुधबारको अद्यावधिक नतिजा आइन्जेलमा पनि मेरो रिपोर्ट नआएपछि धैरैले तेरो पोजेटिभ नै हो भन्न थालिसकेका थिए।

बुधबार साँझसम्म आइपुग्दा मसँगै परीक्षण गराउने मेरो साथीको हालत पनि मेरोभन्दा कम थिएन। हामी दुवैले बिहीबार प्राइभेट ल्याबमा परीक्षण गर्ने निर्णय गर्‍यौं।

बिहीबार बिहान खाना खाएर कमलपोखरीमा रहेको एउटा प्राइभेट ल्याबमा करिब ११ बजे परीक्षण गरेर घर आएँ। म सोच्दै थिएँ, कहाँको नतिजा चाँडो आऊला भनेर।

दिनभर तनावमै बिताएपछि साँझ ८ बजे कोरोना नेगेटिभ भएको रिपोर्ट पाएँ। त्यसपछि बल्ल मेरो तनाव हटेको थियो। अनुहारमा केही तेज आएको थियो।

उक्त रिपोर्ट प्राइभेट ल्याबको थियो जसमा मैले सोही दिन बिहान परीक्षण गरेको थिए। मैलै आइतबार सरकारी तवरबाट गराएको परीक्षणको त रिपोर्ट अझै आएको थिएन।

महानगरको परीक्षण केन्द्रमा स्वाब दिएको ५ दिनपछि, पुन: प्राइभेट ल्याबमा पिसिआर गरेर नतिजा आइसकेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्ट बल्ल राती ११:११ बजे आयो। त्यसमा पनि मेरो कोरोना नेगेटिभ नै छ।

यति भएपछि म ढुक्क भएँ।

तर मेरो प्रश्न, प्राइभेट ल्याबले ८-१० घन्टामा दिन सक्ने रिपोर्ट महानगरपालिकाले परीक्षणकै दिनमा किन दिन सक्दैन?

समयमा रिपोर्ट नपाउँदा सेवाग्राहीले झेल्ने तनाव र समस्या अनुमान गरिएको छ? पाँच दिनमा पनि रिपोर्ट नआउँदा मान्छेले कसरी बिताउला ती दिन?

एक जना मान्छेको रिपोर्ट धेरै जनासँग जोडिएको हुन्छ। कोभिड महामारीको चपेटामा हामी सबै परेका छौं। यस्तो अवस्थामा एक साधारण मानिसले बहिष्कारदेखि धेरै मानसिक तनाव भोग्नुपर्ने हुन्छ। आइसोलेसनको व्यवस्थापनमा समय खर्चिनु पर्छ। वा कोही ढुक्क भएर हिँडिदिए अनर्थ हुने सम्भावना बढेर जान्छ?

८ घन्टामा आउन सक्ने रिपोर्ट आउन ५ दिन लगाउँदा यसबीच केही दुर्घटना भइहाले जिम्मेवारी कसले लिन्छ?

 

एक पटक पढ्नुहोस