विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

३ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ ।

मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।कोरोना संक्रमणको जोखिम बढेपछि शिक्षा मन्त्रालयले देशभरका विद्यालयहरु बन्द गरेको छ । अब संक्रमणको जोखिम मूल्यांकन गरी विद्यालय बन्द गरिराख्ने कि खोल्ने भन्ने निर्णय स्थानीय सरकारले नै गर्न सक्ने छन् ।

विद्यालय सन्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालनपूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

स्थानीय सरकारहरुले अब एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सन्चालन गर्न सक्ने छन् । कक्षा अवधिको समय छोट्याउने र हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सन्चालन गर्ने विकल्प पनि दिइएको छ ।

गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मंसिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्तांकका लागि प्रत्यक्ष परीक्षा हुँदैछ । सो परीक्षामा विद्यार्थीलाई जहाँ रहेको छ त्यहीँको विद्यालय (होम सेन्टर) का रूपमा पनि परीक्षामा सामेल गराउने तयारी छ ।

परीक्षा अनलाइनबाट पनि दिन सकिने विकल्पमा छलफल भए पनि विद्यमान प्रश्नपत्रको प्रणालीमा यो विधि विश्वसनीय हुनेमा आशंका पैदा भएकाले प्रत्यक्ष परीक्षा सन्चालन गरिँदै छ ।

एक पटक पढ्नुहोस