११ मंसिर, काठमाडौं । आजबाट शुरु हुने विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको नेपाल भ्रमणको समयमा सीमा विवादलगायत सबै द्विपक्षीय विषयमा वार्ता गर्न भारत खुला रहेको एक उच्च भारतीय अधिकारीले बताएका छन् ।
दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव श्रृंगला बिहीबार काठमाडौं आउँदैछन् ।अनलाइनखबरसँग कुराकानी गर्दै ती अधिकारीले सीमाका सम्बन्धमा छलफल गर्न तयार रहेको तर यो विषयमा लामो गृहकार्य गर्नुपर्ने र राजनीतिक तहमा हल गर्नुपर्ने बताए । तर कुनै विषयमा कुरा गर्ने र नगर्ने भन्ने आफूहरुको अडान नरहेको र नेपालले उठाएका सबै विषयमा कुराकानी गर्न भारत तयार रहेको बताए ।
उनले भने, ‘यी विषयमा छलफल गर्दै अगाडि बढ्न सकिन्छ । तर हामीले अहिले मुख्य फोकस गर्नुपर्ने विषय भनेका द्विपक्षीय विकास साझेदारी, कनेक्टिभिटी, व्यापारलगायत हुन् । यी विषयमा ठोस रुपमा अगाडि बढ्न आवश्यक छ ।
उनका अनुसार अहिले रहेका द्विपक्षीय विषयबाहेक विशेषत कोभिड–१९ को नियन्त्रणमा सहकार्य, भ्याक्सिनको विकासलगायतका क्षेत्रमा नेपालसँग भारत सहकार्य गर्न चाहन्छ ।उनका अनुसार भ्याक्सिनको क्लिनिकल ट्रायलदेखि अन्य विभिन्न क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन भारतले चाहेको छ । उनी भन्छन्, ‘भारत नेपाललगायत छिमेकी मुलुकहरुलाई भ्याक्सिन खरिद मात्र होइन, अनुदानको रुपमा सहयोग गर्नका लागि समेत तयार छ ।’
नेपालसँग मात्र होइन, बंगलादेश, म्यानमार लगायतका अन्य मुलुकसँग कोभिड–१९ सम्बन्धी अनुसन्धान, तालिम र भ्याक्सिन उत्पादनलगायतका विषयमा भारतले सहकार्य गरिरहेको छ ।
ती भारतीय अधिकारीले पहिलेभन्दा पृथक यस पटक रोकिएका र अलमलमा परेका द्विपक्षीय विषयलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ठोस प्रारुप नै तयार पारिएको बताए । उनका अनुसार विदेश सचिव श्रृंगलाको भ्रमणपछि हुने संयुक्त कमिसनको बैठकमा यी विषयमा विस्तृतमा कुराकानी हुनेछ ।
