ओलीबाट गणतन्त्र सखाप पार्न खेल भयोः प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै असफल प्रधानमन्त्री भएको दावी गर्दै उनमा पदमा बस्ने नैतिक आधार समाप्त भएको बताएका छन् । उनले ओलीले राजनीतिक प्रणालीलाई नै खतरामा पारेको आरोप लगाए ।
राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै राजनीतिक दल र राजनीतिक प्रणालीप्रति नै वितृष्णा जगाउने भुमिका खेलेको टिप्पणी गरे । पौडेलले वाइडबडी र प्रिन्टिङ प्रेस खरिद जस्ता अरबौं घोटाला भएका भ्रष्टाचारको खुलासा भइसकेको बताए ।
‘ओलीजी प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्य हुनुहुन्न,’ पौडेलले भने, ‘सरकार असफल भइसकेको छ, शाही शासन र ओली शासनमा अन्तर भएन ।’ नेकपाभित्रको पछिल्लो विवादलाई कुर्सीको लडाईं भने । बैठक बस्ने र स्थगित गर्नेबाहेक नेकपाले केही गर्न नसकेको उनको टिप्पणी थियो । पौडेलले भने, ‘कुन दलाललाई कुन कुर्सीमा बसाउने र आफू कुन कुर्सीमा बस्ने भन्नेमा ओलीजी र प्रचण्डजीबीच झगडा चलिरहेको छ ।’
प्रधानमन्त्री ओली विगतमा नै गणतन्त्र विरोधी भएको भन्दै अहिले राजावादीहरुको सक्रियताप्रति आशंका गर्नुपर्ने बेला आएको बताए । ओलीले गणतन्त्र र संघीयतालाई सखाप पार्ने खेल खेलेको आरोप लगाए । उनले भने, ‘हामी गणतन्त्रका लागि सडक संघर्ष गरिरहँदा ओलीजी बयलगाडा चढेर अमेरिका पुगिदैन भन्दै गणतन्त्रको नाराको उपहास गर्दै हुनुहुन्थ्यो, त्यसैले उहाँ गणतन्त्र नै सखाप पार्न लाग्नुभएको छ । अहिले राजा ल्याउनुपर्छ भनी सडकमा आवाज उठ्नुको जिम्मेवार ओली नै भएको आरोप लगाए ।

सोही कार्यक्रममा राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल विकल्प नखोजिए राजनीतिक प्रणाली नै धरापमा पर्ने बताएका छन् । प्रधानमन्त्री ओली योजनावद्ध तरिकाले गणतन्त्र र संघीयता सखाप पार्न लागेको आरोप लगाए । उनले भने, ‘ओलीजी संघीयता र गणतन्त्र सखाप पार्ने खेलमा हुनुहुन्छ, उहाँको विकल्प नखोजिए देशमा दुर्घटना हुन्छ ।’

प्रधानमन्त्री ओलीका कारण राजनीतिक दलप्रति वितृष्णा बढेको बताए ।

एक पटक पढ्नुहोस