After header

गणतन्त्रको विकल्पमा राजतन्त्र नै चाहेका हुन् त युवाले ?

यो आक्रोसमात्र हो या चुनौती ?

काठमाडौं । देशका विभिन्न भागमा राजतन्त्रका पक्षमा जुलुस निस्कन थालेका छन् । संघीय राजधानी काठमाडौंसहित सातै प्रदेशका राजधानी सहरमा राजतन्त्रको पक्षमा जुलुस निकालेर गणतन्त्रविरुद्धको जनमत प्रदर्शन गर्न थालिएको छ । सडकमा निस्किएका जुलुसमा नवयुवाहरुको सहभागिता उल्लेख्य पाइएको छ । जुलुसको प्रत्यक्ष नेतृत्वमा कोही नदेखिए पनि राप्रपाले राजनीतिक रुपमा त्यस्ता जुलुसमा ऐक्यबद्धतामात्र होइन, सक्रिय सहभागिता नै जनाउन थालेको छ । राजनीतिक विश्लेषकहरु सडकमा अहिले भइरहेका प्रदर्शनलाई व्यवस्थाका विरुद्ध नभइ शासक र दलहरुको असफलताको परिणामका रुपमा व्याख्या गर्दछन् ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य अहिले सडकमा देखिएका जुलुसलाई ‘गणतन्त्रको विरुद्ध’ नभइ राजनीतिक दलहरुको रवैयाबाट असन्तुष्ट युवाहरुको मनोभावनाका रुपमा बुझ्नुपर्ने तर्क गर्दछन् । ‘उनीहरुलाई कुन व्यवस्था कस्तो हो भन्नेबारे पनि त्यतिसारो मतलब छैनजस्तो लाग्छ मलाई । केहीको निहीत स्वार्थ हुन सक्छ तर जुलुसमा जाने सबैको त्यस्तो नहोला,’ उनले भने, ‘उनीहरु अहिलेको सरकार, राजनीतिक दलहरुको भूमिकाप्रति असन्तुष्ट हुन सक्छन् । उनीहरुलाई अहिले कुन व्यवस्था छ, अब मुलुक कता जान्छ भन्नेकुराको सरोकार छैन ।’
उनका अनुसार गरिखान दिने कुरामा सरकारबाट अवरोध भयो, कम्युनिस्ट पार्टीभित्रको झगडा, जनताको आवाज उठाउन नसक्ने प्रतिपक्ष, कोभिडले तहसनहस पारेको अर्थतन्त्रका बीच उठेको असन्तुष्टि हो यो ।

विश्लेषक आचार्य कहीँ न कहीँ सरकार र दलहरु पूर्ण असफलतातिर गइरहेको बताउँछन् । ‘अहिलेको आन्दोलन गणतन्त्र फाल्ने पनि होइन, राजतन्त्र ल्याउने पनि होइन,’ उनले भने, ‘राजनीतिक दलहरुको असफलता, उनीहरुको अनुत्तरदायी, अपारदर्शी शैलीविरुद्धको अभिव्यक्ति सडकमा विभिन्न नाराका साथ देखिएको छ ।’ यसै क्रममा कसैले ‘राजा आऊ’, कसैले ‘गणतन्त्र मुर्दावाद’ र कसैले ‘संघीयता खारेज गर’ भनेका हुन सक्ने उनले बताए । त्यस्तालाई उचाल्ने शक्तिहरु पनि अहिले उत्साहित भएर सक्रिय हुन थालेको उनको अनुमान छ ।

‘गणतन्त्रलाई कसरी संस्थागत गर्ने, सबैमा कसरी प्रतिफल पु-याउने भन्नेतिर पार्टीहरुले आफ्नै कार्यकर्तालाई त राम्ररी प्रशिक्षण दिन सकेका छैनन् भने अरुलाई उनीहरुले के दिन्छन् र ?’ उनले प्रश्न गरे, ‘गणतन्त्र काम नै नलाग्ने शासनपद्धति भनेर बुझ्नु गलत हो, यदि यो व्यवस्था कामै नलाग्ने हुन्थ्यो भने भारत, चीन, अमेरिका, जर्मनी लगायतका मुलुकमा किन यसको विरोध भएन ? राजतन्त्र कुनै जमानामा धेरैतिर थियो, अहिले त फाट्टफुट्ट केही मुलुकमा न हो । कहाँ छैन र गणतन्त्र ?’
युवाहरु सडकमा निस्कनुको दोष यो सिस्टमलाई दिन नमिल्ने उनको भनाइ छ । ‘जनताले जसलाई भरोसा र विश्वास गरे, त्यसअनुसार उनीहरु जिम्मेवार नहुँदाको परिणाम हो यो,’ उनले भने, ‘किनभने त्यत्रो कोभिडको बेलामा लाखौं नेपाली भारतबाट आए, कोरोनाको कहरकै बीच उनीहरु भारतमै फर्किए । किनभने यहाँ जीविकोपार्जनका कुनै उपाय भएन । लकडाउन गरेर यहाँ सबै कुरा बन्द गरिएको थियो । पोलिटिकल लकडाउन गरेर सरकार सुतेर बसेको थियो ।’

युवाहरुमा देखिएको असन्तुष्टिलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ । उनले भने, ‘अहिले त केही भएकै छैन । कोरोना अलि तल जाओस्, फागुन–चैत महिनातिर यो संवैधानिक सिस्टम नै फाल्न बेर छैन । अहिले त राप्रपाका केही युवा, सरकारका काम कारवाही, पार्टीहरुका गैरजिम्मेवारीपनबाट असन्तुष्ट केही युवा, केही जोगी–सन्यासीको भिडमात्र देखिएको छ । यही अवस्था रहे पछि अरु पनि उत्रन बेर लाग्दैन ।’
उनी अहिले संविधान धरापमा परेको, राजनीतिक दलहरुको विश्वसनीयता धरापमा परेको तर्क गर्दछन् । ‘झण्डै दुई तिहाइको सरकार, सात दशकभन्दा लामो इतिहास भएको कम्युनिस्ट आन्दोलन जनताबाट पूरै अस्वीकृत भएको अवस्था छ,’ उनले भने, ‘सत्तारुढ दलका नेताहरु सबैलाई छक्क पारेर निबन्ध लेखेर बसेका छन्, प्रधानमन्त्री र उहाँको टीमलाई ४० पेज लामो निबन्ध लेख्न फुर्सद छ । चाहिने कुरामा फोकस छैन । मेलम्चीको पानी ल्याउँ, भ्रष्टाचार नियन्त्रण गरौँ, युवाहरुलाई रोजगारी दिउँ भन्नेतिर सोच छैन ।’

आचार्यका अनुसार पूर्णतया असफल अर्थमन्त्रीलाई पुरस्कृत गरेर अमेरिका पठाइयो जसबाट युवाहरु निराश भए । यस्तै, पूर्णतया सफल कुलमानलाई अस्वीकृत गरियो, त्यसले पनि युवामा निराशा बढाएको उनको तर्क छ । ‘हामी ६० पुगिसकेका मानिसलाई त झोँक चल्छ, यो कस्तो सरकार हो भनेर,’ उनले भने, ‘जनताको सोचाइभन्दा विपरीत जानैपर्ने हाम्रो प्रधानमन्त्रीको बोली–बचन र बाणी हेर्नुस् । प्रधानमन्त्रीसँग यो देश चलाउन सक्ने क्षमताको टीम नै छैन । अत्यन्तै आलाकाँचा, अशिक्षित, अनुभवबाट पनि नखारिएका, संसार के हो भन्ने पनि थाहा छैन । देश के हो त्यो पनि थाहा छैन । भू–राजनीति के हो भन्ने पनि थाहा छैन । त्यस्तो टीम लिएर जनताको आकांक्षा पूरा हुन सम्भव छैन ।’
प्रधानमन्त्रीका सहयोगीहरुले पनि प्रधानमन्त्रीलाई कुन कुरा राम्रो लाग्छ, कुन शैली मन पर्छ भन्ने बुझेर त्यही कुरा र शैलीमा आफूलाई प्रस्तुत गर्ने गरेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीका दायाँबायाँ रहनेहरुले जसरी बोलिरहेका छन्, प्रधानमन्त्रीकै शैलीमा बोलेपछि मेरो प्रमोशन हुन्छ भन्ने सोचेर प्रधानमन्त्रीलाई नै मन पर्नेगरी बोल्ने गरेका छन्,’ उनले भने, ‘गणतन्त्र भनेको सभ्य समाजको एउटा उचाइको विचार पनि हो । त्यसैले अहिलेको युवालाई गणतन्त्रविरोधी भन्नु अन्याय हुन्छ ।’

युवा शक्तिलाई सुक्ष्म रुपमा बुझ्नुपर्ने उनले बताए । ‘कृषिमा रहेका युवालाई राजनीतिमा खास मतलब छैन, उनीहरु असंगठित छन् । मध्यम वर्गका युवाहरु आइटीमा रमाएर बसेका छन् । अस्ट्रेलिया, अमेरिका जाने एउटा सपना बुनेका छन्,’ उनले भने, ‘गाउँको निम्नमध्यम वर्गका युवाले अलिअलि देश बुझेको छ, खाडी मुलुक जान्छ, भारत जान्छ । यो तहका ४० लाख युवा राज्यको नजरमा होस् या पार्टीको नजरमा अदृष्यजस्तै भए । जबकि यिनीहरुकै पैसा, रेमिट्यान्सले देश चलेको छ, मन्त्री, सचिवहरुले तलब खाएका छन् । जीडीपीमा २७/२८ प्रतिशतको योगदान छ ।’

कोरोनाको यो महामारीमा पनि जीवन जोखिममा राखेर काम गर्दै उनीहरुले पैसा पठाइरहेको चर्चा आचार्यले भने, ‘कोरोना महामारीका बीच आफ्नो देशमा आउँदा उनीहरुलाई नदीको बगरमा लगेर राखिदिएको छ, सीमा क्षेत्रमा कयौँ दिन अलपत्र बस्न बाध्य तुल्याएको छ । राज्यले उनीहरुमाथि अपमानजस्तो व्यवहार गर्छ भने उनीहरु सरकारको समर्थन कसरी गर्न सक्छन् ?’

राजनीतिक विश्लेषक आहुति अहिले सडकमा निस्किएको जुलुसलाई नौलो मान्दैनन् । ‘राजावादीहरुको एउटा जनाधार कायमै त छ । त्यो ठुलो संख्यामा पो छैन, जनाधार त छ नि,’ उनले भने, ‘राप्रपाका मतदाता छैनन् र ? राप्रपाले सुरुदेखि नै संवैधानिक राजतन्त्र भन्दै आएकै हो, उसले चुनावमा मत पनि ल्याएकै छ, पहिलो संविधानसभामा समानुपातिकबाटै २४ सिट जितेको पनि हो, त्यसैले त्यो विचारधाराबाट अहिले जुलुस निस्किनु नौलो कुरा होइन ।’

तर उनी गणतन्त्रको विपक्ष र राजतन्त्रको पक्षमा जनमत बढेको स्वीकार गर्दैनन् । ‘उनीहरुले अहिलेसम्म चलमलाउने अवसर त्यति बनेको थिएन । अहिले सत्ताधारीहरुका गतिविधिले त्यो चलमलाउने अवसर बन्यो र चलमलाउने आँट आयो,’ उनले भने, ‘जुन परिवारमा हजुरबुवा–हजुरआमा राजावादी थिए, बुवाआमा पनि राजावादी थिए भने त्यो परिवारको नयाँ पुस्ता पनि राजावादी हुनु नयाँ कुरा होइन । किनकि त्यो बच्चालाई उनीहरुले त्यही शिक्षा दिएर हुर्काए होलान्, त्यो परिवारमा राजाकै गुनगान भइरह्यो होला । त्यो एउटा पाटो हो । अनि केहीलाई राजतन्त्रका बारे धेरै थाहा नभएको, यी नेताहरुको काम गराइ, बोली–व्यवहार देखेर यी नेताभन्दा बरु राजतन्त्र नै ठिक थियो कि भन्ने पनि प-यो होला ।’

मूल कुरा, राजतन्त्रको पक्षमा हिजोदेखि नै एउटा सीमित जनाधार रहेको र त्यो जनाधार यसरी सडकमा निस्कने अवसर अहिलेको सरकार र राजनीतिक दलहरुकै कारण सिर्जना भएको उनको बुझाइ छ । उनी भन्छन्, ‘विल्कुल नयाँ पुस्ता आफै जागृत भएर राजतन्त्र खोज्दै आएको होइन, राजतन्त्रकै पक्षमा पहिलादेखि नै रहेको जनमतचाहिँ आज सडकमा आएको हो ।’

यतिकै भरमा राजतन्त्र नफर्किने उनले प्रस्ट पारे । ‘राजतन्त्रको पक्षमा ह्वात्तै माहोल आउने देखिँदैन । यिनीहरुसँग अग्रमागी एजेण्डा पनि छैन । कमल थापाहरुले पनि संवैधानिक राजतन्त्र चाहिन्छ भनेकोमात्र न हो, त्यसपछि के हुन्छ त भन्नेबारे उनीहरुसँग कुनै योजना छैन,’ उनले भने, ‘सुर्यबहादुर थापाकै छोराले त्यो बिचार, एजेण्डा काम छैन भनेर अर्को पार्टीमा गइसकेको अवस्था पनि त छ ।’

कोरोना महामारीका कारण सिर्जित केही समस्याले युवामा निराशा आएको उनले स्वीकार गरे । तर यो त्यति ठुलो कुरा नभएको उनको भनाइ छ । ‘कोरोना महामारीका कारण भारतबाट फर्किएको ठुलो जनसंख्या फेरि भारततिरै गइसकेको अवस्था छ । अन्य मुलुकमा गएकाहरु पनि विस्तारै सामान्य अवस्थातर्फ फर्कन थालेका छन् । रेमिट्यान्स घटेको छैन,’ उनले भने, ‘तत्कालीन परिस्थितिबाट ठुलो वितृष्णा हुने शक्ति त विदेशमा गएर बसेको छ । त्यसको ९० प्रतिशतले अहिले पनि तलब थापिरहेको अवस्था छ । त्यसैले यहाँ अहिले सडकमा उथलपुथल नै हुने अवस्था छैन ।’

अहिले मूलधारमा रहेका राजनीतिक दलहरु आफै संगठित शक्ति भएकाले देश यिनीहरुकै पकडमा रहने उनले बताए । ‘जति पनि राजनीतिक शक्ति छन्, सबै सत्ताधारी छन् । मधेसमा उठेको शक्ति पनि त्यहाँ सत्ताधारी नै छ,’ उनले भने, ‘नेकपा, काँग्रेस भनेको ख्याल ख्यालमा आएका पार्टी होइनन् ।’

सडकमा देखिएका असन्तुष्टिलाई बुझेर सरकार, दलहरुले गणतन्त्रको प्रतिफल जनतासम्म लैजाने प्रयासलाई सार्थक ढंगले अघि बढाउन जरुरी रहेको उनले बताए ।

एक पटक पढ्नुहोस