After header

सेवाघरमा काभ्रे प्रहरीको साथ ः महिला संघको ४२औँ वार्षिकोत्सवमा खाद्यान्न सहयोग

काभ्रे । नेपाल प्रहरी महिला संघको ४२औँ वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सेवाघरमा खाद्यान्न सहयोग गरेको छ । वार्षिकोत्सवलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्दै सेवाघरमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई मध्यनजर गर्दै खाद्यान्न सामग्री सहयोग गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको पहलमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी अधिकारी तथा कर्मचारीको सहभागिता रहेको थियो । सेवाघरलाई आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउँदै प्रहरीले असहाय तथा सहयोगको आवश्यकता भएका नागरिकप्रति आफ्नो सामाजिक उत्तरदायित्वसमेत प्रस्तुत गरेको छ ।

सहयोग हस्तान्तरण गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले प्रहरीको प्रमुख जिम्मेवारी नागरिकको शान्ति–सुरक्षा कायम गर्नु भए पनि सामाजिक सेवामा जोडिनु पनि प्रहरीको महत्वपूर्ण दायित्व भएको बताए । “प्रहरी नागरिकको सुरक्षाका लागि मात्रै होइन, नागरिकको सुख–दुःखमा साथ दिने संगठन समेत रहेको उनले बताए ।

सेवाघरमा गरिएको यो सहयोग हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतको सानो प्रयास मात्रै रहेको उनका ेभनाई थियो । आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता मानवीय सेवाका कार्यलाई निरन्तरता दिनेछौँ।” प्रहरी प्रमुख कार्कीले बताए । उनले नेपाल प्रहरी महिला संघले प्रहरी परिवारको हितसँगै समाजमा रहेका असहाय, विपन्न तथा सहयोगको आवश्यकता भएका नागरिकका लागि विभिन्न सामाजिक तथा मानवीय गतिविधि गर्दै आएको उल्लेख गरे ।

वार्षिकोत्सवको अवसरमा गरिएको सहयोगले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप आत्मीय बनाउने उनको भनाइ थियो । सेवाघरका प्रतिनिधिले जिल्ला प्रहरी कार्यालय काभ्रे तथा नेपाल प्रहरी महिला संघप्रति आभार व्यक्त गर्दै प्राप्त खाद्यान्न सहयोगले सेवाघरमा आश्रित व्यक्तिहरूको दैनिक आवश्यकतामा सहयोग पुग्ने बताए ।

“प्राप्त सहयोगले सेवाघरको आवश्यकता पूरा गर्न महत्वपूर्ण सहयोग पुगेको छ । प्रहरीबाट प्राप्त सहयोगले हामीलाई आर्थिक सहयोगसँगै सामाजिक रूपमा एक्लो छैनौँ भन्ने हौसला पनि दिएको छ।” सस्थाले भन्यो ।नेपाल प्रहरी महिला संघको ४२औँ वार्षिकोत्सवका अवसरमा गरिएको उक्त सहयोगले सुरक्षा र सेवासँगै मानवीय संवेदनालाई प्राथमिकतामा राख्ने प्रहरीको प्रतिबद्धता समेत उजागर गरेको छ ।

एक पटक पढ्नुहोस