काभ्रे । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेले धुलिखेलस्थित पर्यटकीय क्षेत्र हजार सिँढीमा सरसफाइ गरेको छ । युवाहरूको सक्रिय सहभागितामा भएको सरसफाइ अभियानमार्फत सार्वजनिक तथा पर्यटकीय स्थलताई स्वच्छ, सफा र व्यवस्थित राख्नुपर्ने सन्देश दिइएको छ ।
कार्यक्रममा रास्वपा काभ्रेका सभापति प्रविनकुमार ढकालसहित पार्टीका नेता, कार्यकर्ता तथा युवाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले हजार सिँढी क्षेत्रमा रहेका फोहोर संकलन गर्दै पर्यटकीय स्थलको संरक्षण र सरसफाइमा नागरिकको जिम्मेवारी महत्वपूर्ण रहेको बताएका थिए ।
अन्तर्राष्ट्रिय युवा दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउनुपर्ने धारणा व्यक्त गर्दै सभापति ढकालले युवाहरू परिवर्तनका संवाहक भएकाले समाज निर्माणमा उनीहरूको भूमिका अग्रणी हुनुपर्ने बताए ।
युवा दिवसमा भाषण र औपचारिक कार्यक्रम मात्र गरेर पुग्दैन । युवाहरूले आफ्नो समुदाय र सार्वजनिक सम्पत्तिप्रति जिम्मेवारी देखाउनुपर्छ । आजको यो सरसफाइ अभियानते धुलिखेललाई स्वच्छ राख्खे मात्र होइन, युवाहरू सामाजिक काममा सक्रिय हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिएको छ, सभापति ढकालले भने ।
उनले धुलिखेलको पर्यटन प्रवद्र्धनका लागि प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणसँगै सरसफाइ र वातावरणीय स्वच्छतालाई प्राथमिकता दिनुपर्ने बताए । पर्यटकीय क्षेत्रमा आउने हरेक नागरिकले आफ्नो ठाउँ सफा राख्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ थियो ।रास्वपा काभ्रेले आगामी दिनमा पनि युवाको सहभागिता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर विभिन्न रचनात्मक तथा जनमुखी कार्यक्रम संचालन गर्ने जनाएको छ ।
कार्यक्रममा सहभागी युवाहरूले सार्वजनिक सतको सरसफाइ सरकार स्थानीय तहको जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको बताएका थिए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरिएको उक्त अभियानले युवालाई सामाजिक सेवासँग जोड्नुका साथै धुलिखेलको पर्यटकीय पहिचान बोकेको हजार सिँडी क्षेत्रलाई स्वच्छ र आकर्षक बनाउन सकारात्मक योगदान पु¥याएको पार्टीले बताएको छ ।
