मंसिर २९ गते देशव्यापी प्रदर्शनको तयारीमा रहेको नेपाली काँग्रेसले काठमाडौंको प्रदर्शनलाई विशेष महत्व दिएको छ । जसअनुसार नेपाली काँग्रेस जिल्ला कार्यसमिति काठमाडौंको बिहीबार बसेको बैठकले आन्दोलनलाई सफल बनाउन विभिन्न रणनीतिक योजना बनाएको छ ।
काँग्रेस काठमाडौंका सभापति सबुज बानियाले काठमाडौंको कार्यक्रमलाई सभ्य र भव्य बनाउन बिहीबार तयारी बैठक बसेको रातोपाटीलाई बताए । उनका अनुसार सो दिन काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्तित शान्तिबाटिकामा वृहद कार्यक्रमको आयोजना गर्नेगरी तयारी भएको छ । यस्तै प्रदर्शनमा काठमाडौंमा उपलब्ध केन्द्रीत नेताहरुको समेत सहभागिता रहने उनले बताए ।
बानियाका अनुसार काठमाडौं क्षेत्र नम्बरको भृकुटीमण्डपबाट जुलुक निकाल्ने छ भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकाल्नेछन् ।
जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुने बानियाले बताए । तयारी बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारीसहित प्रदेश, नगरका सभापति र जनप्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
यसैबीच कांग्रेस केन्द्रले समेत मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ । कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको बारेमा छलफल गर्दै सबै नेता कार्यकर्तालाई सडकमा उत्रन आह्वान गरेको हो ।
